
२९ फागुन, काठमाडौं । एक साताअघि राष्ट्रिसभामा वामदेव गौतम जाने विषय चर्चामा आयो । यो विषयले राजनीतिक वृत्तमा मात्र हैन, सेयर मार्केटमा समेत चर्चा पायो ।
वामदेव गौतम राष्ट्रिय सभामा जाने र अर्थमन्त्री खतिवडाले विदा लिने भन्दै यस विषयलाई पुँजी बजारसँग जोडेर हेरियो ।
अर्थतन्त्रको ऐना मानिने पुँजी बजारमा खतिवडाको नाम लिएर चर्चा हुनु कुनै नयाँ कुरा होइन । जतिबेला खतिवडाको पद गुम्ने चर्चा भयो, त्यहीबेला सेयर बजारमा हरियाली छायो ।
तर, खतिवडा अर्थमन्त्रीबाट हटेनन् । कस्तो संयोग ! जब खतिवडा अर्थमन्त्रीबाट हटेनन्, उता सेयर बजारमा पहिरो गयो । योसँगै सञ्चार माध्यममा अर्थमन्त्री खतिवडालाई जोडेर सेयर बजारका समाचारहरु छापिए ।
सेयर बजारमा सक्रियरुपमा लगानी गरेका केही लगानीकर्ताहरुले पनि खुलेरै भने, ‘खतिवडा जाने पक्का भएपछि बजार बढ्यो ।’ घटेपछि पनि केही लगानीकर्ताहरुको धारणा उस्तै थियो, ‘खतिवडा नजाने भएपछि सेयर बजार राताम्मे भयो ।’
बजारमा आफ्नो नाम विनाकारण जोडिएको भन्दै अर्थमन्त्री स्वयमले पनि असन्तुष्टि जनाइसकेका छन् ।
गत बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा नै अर्थमन्त्री खतिवडाले सेयर बजार घट्नु वा बढ्नुलाई कसैको अनुहारसँग तुलना नगर्न आग्रह गरे । उनले बजार कसैको अनुहारले घट्ने वा बढ्ने हुँदै नहुने बताए ।
अन्तर्राष्ट्रिय महिला, दिवश, होली पर्वलगायतका सार्वजनिक बिदा पछि पाँचौं दिनको दिन मंगलबार खुलेको सेयर बजार अप्रत्यासित तरिकाले ओरालो लाग्यो । बजार यतिधेरै घट्यो कि नेपाल स्टक एक्सचेञ्जले दिनमा ३ पटक ब्रेक लगाउनुपर्यो । कारोबार अवधिभर कारोबार हुन पनि पाएन । एकैदिन धेरै घटबढ हुँदा लगानीकर्तामा ठूलो असर पर्छ ।
यसलाई रोक्न भन्दै नेप्सले कारोबार शुरु भएको पहिलो घण्टा ४ प्रतिशतले बजार घटबढ भए २० मिनेट कारोबार स्थगन गर्छ । दोस्रो घण्टामा ५ प्रतिशतले घटबढ भए ४० मिनेट र त्यसपछि ६ प्रतिशतले बजार घटेबढ भए त्यस दिनभरिका लागि कारोबार नै स्थगन गर्ने नियम छ । सोही अनुसार मंगलबार ३ पटक ब्रेक लगाउनु परेको थियो ।

बुधबार भने फरक अवस्था आयो । नेप्से परिसूचक ७३ अंकभन्दा माथिले बढ्यो । म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको बजार पुँजीकरण बढ्यो । बजार घटबढ हुनु त स्वभाविक नै भइहाल्यो, तर यस किसिमको उतारचढावलाई लगानीकर्ताहरुले सामान्य रुपमा भने लिएका छैनन् ।
लगानीकर्ताको धारणा पत्याउने कि अर्थमन्त्रीको ? जानकारहरुका अनुसार सेयर बजार घटबढ हुनुमा राजनीतिक कारण अवश्य हुन्छ । निर्णय गर्ने राजनीतिक तहमा बजार सम्बन्धी सकारात्मक व्यक्ति भए बजारलाई सकारात्मक नै असर गर्ने विज्ञको तर्क छ । खास गरी लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिदा त्यसको असर बजारमा पर्ने जानकारहरु बताउछन् ।
‘अर्थमन्त्रीज्यू बजारप्रति कत्तिको सकारात्मक हुनुहुन्छ, त्यसको असर पनि बजारमा पक्कै पर्छ’ सेयर बजारका विश्लेशक अनलराज भट्टराई भन्छन्, ‘यो लगानीकर्ताको मनोवैत्रानिक कुरा हो, तर बजार घटबढ हुनुको मूख्य कारण कुनै व्यक्तिमात्रै भने हुन सक्दैन ।’
पछिल्लो समय बजार ओरालो वा उकालो जानुको कारण अर्थमन्त्री नभएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छाटेलाल रौनियार बताउछन् । अघिले बजार घट्नु वा बढ्नु खास त्यस्तो केही कारण नरहेको उनको धारणा छ ।
भर्खरै अर्थमन्त्री बन्दा नकरात्मक रहेका खतिवडा अहिले भने बजारप्रति सकारात्मक नै रहेका कारण खासै खसर नगर्ने रौनियारको धारण छ । अर्थमन्त्री नकरात्मक बन्दा त्यसको असर बजारमा भने पर्ने उनले बताए । अर्थमन्त्री नै नकारात्मक बनेपछि त्यसको मनोवैज्ञानिक असर लगानीकर्तामा पर्ने उनको बुझाइ छ ।
यस विषयमा हामीले सेयर बजारका विज्ञ तथा पूर्वबैंकर अनलराज भट्टराईलाई सोध्यौं, बजार के कारणले घटबढ हुन्छ ? अनि बजार घटबढ हुनुको कारण अर्थमन्त्री हुन सक्छन् ?
भट्टराईको धारणा जस्ताको तस्तैः
सेयर बजार तल जानुको कारण अर्थमन्त्री हुँदै होइन
सेयर बजार भनेको ‘रेन्डम मुभमेन्ट’मा हिँड्ने चिज हो । यसलाई सानातिना विषयले पनि असर पर्न सक्छ । अहिले विश्व सेयर बजार ओरालो लागेको छ । विश्वमा अहिले त्रासका रुपमा रहेको कोरोना भाइरसको असर विश्व सेयर बजारमा पनि परेको छ । यस्ता विषयहरुले बजारमा असर पक्कै पनि पर्छ ।
तर, यो क्षणिक हुन्छ । लामो समय भने हुँदैन । कोरोनाका कारण नेपाली सेयर बजारमा भने खासै असर गरेको छैन । नेपाली सेयर बजार विश्वसँग जोडिएको छैन । केही हदसम्म मनोवैज्ञानिक असर लगानीकर्ताहरुमा पर्ला । तर, अहिलेको बजार घटबढ हुनुको खास कारण नै छैन ।
अर्थमन्त्रीका कारण घटबढ हुन सक्ला । तर, अहिलेको बजारलाई अर्थमन्त्रीसँग हेर्न मिल्दैन । अर्थमन्त्रीले कुनै नकारात्मक नीति लिएर बजार घटेको भए वहाँलाई जोड्न मिल्ला । तर, अहिले त त्यस्तो छैन । अर्थमन्त्रीज्यू पनि बजारप्रति सकारात्मक नै हुनुहुन्छ । सकारात्मक सेन्टिमेन्ट हुँदा बजार दिगो हुनसक्छ । अहिले अर्थमन्त्रीले पनि राम्रै काम गर्नु भएको छ । यसकारण पनि अहिलेको बजारको अवस्था हेरेर कुनै व्यक्तिलाई दोष दिनुपर्छ भन्ने मलाई लाग्दैन ।
लगानीकर्ताले मुख्य कुरा कम्पनी नै हेर्ने हो । त्यस कम्पनीमा लगानी गर्दा कम्पनीको रिटर्न कत्तिको आउँछ भन्ने कुराले पनि भर पर्छ । अहिले बजार तल जानुको कारण अर्थमन्त्री हुँदै होइन । अहिले बजार घट्नुको खास कारण केही देखिँदैन ।
अहिले १४ लाख लगानीकर्ता छन् । अझै नियमित कारोबार गर्ने लगानीकर्ताहरु पनि एकदमै कम छन् । छोटो समयमा लगानी गर्ने अनि छोटो समयमा नै नाफा खानेको बाहुल्य छ । छोटो समयमा किनबेच गर्ने प्रवृत्तिले अलि असर गरेको हो । कुनै व्यक्तिलाई दोष मिल्दैन ।
सामान्य लगानीकर्ताले बुझ्नुपर्ने कुरा मैले बैंकमा निक्षेप जम्मा गर्दा कति प्रतिफल पाउँछु भन्ने हेर्नु पर्यो । बैंकमा अहिले निक्षेप जम्मा गर्दा ९.५ प्रतिशत ब्याज पाइन्छ । सेयर बजारमा लगानी गर्दा कति प्रतिफल पाइन्छ भन्ने कुरा बुझ्नुपर्यो ।
प्रतिफलका हिसाबले सेयर बजार नै उत्तम होला । तर, बजारमा लगानी गर्दा अलि जोखिम पनि हुन्छ । अझै लगानीकर्ताले बुझ्नपर्ने कुरा चाहिँ होल्ड गर्न सक्ने क्षमता हुनुपर्छ ।
भीड जता गयो, त्यतै दौडनु भएन । म यति नाफा कमाएपछि बेच्छु भन्ने विषयमा अडान राख्नुपर्यो । बढ्दै गए किन्ने र घट्दै गएपछि बेच्ने गर्न भएन । यति रिटर्न आएपछि मैले बेच्छु, यहाँ भन्दा धेरे नाफा चाहिँदैन भन्ने हिम्मत राख्नुपर्यो । धेरै लोभ गर्ने प्रवृत्तिका कारण पनि लगानीकर्ता समस्यामा परेका छन् ।
५/७ वर्ष अघि लगानी गर्नेहरुले दोब्बर प्रतिफल पाएका छन् । म यति नाफा भए पछि बेच्छु, यो भन्दा धेरै नाफा मलाई चाहिँदैन र यो भन्दा कममा बेच्दिनँ पनि भन्न सक्नुपर्यो । आफूसँग भएको पुँजी परिचालन गर्ने हो, कर्जा लिएर लगानी गर्नुहुँदैन ।
लगानी गरिसकेपछि पनि घट्यो भनेर आत्तिनुभएन । यदि बढिहाल्यो भनेर मात्तिनु पनि हुँदैन । लोभ र त्रास हुन भएन, व्यक्तिलाई दोष दिनु पर्दैन ।
लगानीकर्ताहरुलाई मेरो एउटा सुझाव छ । आफूले कमाउने तलबको १० प्रतिशतमात्रै लगानी गर्नुस् । यति भयो भने चिन्ता लिनु पर्दैन । सरकारले पनि १० प्रतिशत लगानी गर्नेहरुलाई कर छुटको योजना ल्याउनुपर्छ । यसो भयो भने क्यापिटल मार्केट पनि मजबुत हुन्छ । लगानीकर्ताहरु पनि निरुत्साहित हुनुपर्दैन ।
प्रतिक्रिया 4