+
+

महिला सांसदद्वारा मुख्यमन्त्री राउतको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १९:५६

२ चैत, जनकपुरधाम । महिला सशक्तिकरणको विषयमा जोड्तोड्ले कुरा उठाउँदै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको महिला सांसदहरुले नै आलोचना गरेका छन् । दुई जना महिला सांसदहरुले मुख्यमन्त्री राउतले प्रदेशसभामा माफी माग्नुपर्ने बताएका हुन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) की सांसद रानी शर्मा तिवारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद मन्जु यादवले मुख्यमन्त्री राउतले माफी माग्नुपर्ने बताइन् ।

प्रदेशसभामा मुख्यमन्त्रीको राजीनामा माग्ने सांसदलाई मुख्यमन्त्री राउतले पागलको संज्ञा दिएको भन्दै उक्त अभिव्यक्तिप्रति राजपाकी सांसद तिवारीले आपत्ति जनाइन् । ‘मुख्यमन्त्रीको राजीनामा माग्दा पागल भन्न पाइन्छ ?,’ उनले भनिन्, “यदी कोही पागल छन् भने प्रमाणित गरेर मुख्यमन्त्रीज्यूले प्रदेशसभाबाट निकाले हुन्छ । तर, त्यसरी बोल्नु भएन् ।”

उनले मुख्यमन्त्रीको यस्तो शब्दप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्रीले माफी माग्नुपर्ने बताइन् ।

नेकपाकी सांसद मन्जु यादवले प्रदेशसभा सञ्चालन नियमावली विपरीत मुख्यमन्त्रीले प्रदेशसभामा बोलेको भन्दै माफी माग्नुपर्ने बताइन् । ‘प्रदेश सभामा रुलिङ्ग गर्ने अधिकार सभामुखज्यूको हो, मुख्यमन्त्रीको होइन्,’ उनले भनिन्, “प्रदेशसभा कुनै कक्षा होइन् जो मुख्यमन्त्री शिक्षक भएर प्रस्तुत होओस् ।”

मुख्यमन्त्रीले सुशासन सम्बन्धी विधेयकमा आएको प्रश्नको जवाफ दिने क्रममा शनिबार एक जना माननीयलाई ‘माननीय ज्यू’ केही बोल्न खोज्नुभएको हो ? केही जिज्ञासा छ ? भनी सोधेका थिए ।

सांसद यादवले मुख्यमन्त्रीले यस्तो सोध्नु प्रदेशसभा सञ्चालन नियमावली विपरीत भएको बताइन् । ‘मुख्यमन्त्रीबाट झरेर सभामुख बन्ने इच्छा छ भने ठीकै छ, नभएदेखि आत्मलोचना गर्दै माफी माग्न माग गर्दछु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?