Comments Add Comment

ध्रुवचन्द्रलाई वसुन्धरा, सरुभक्तलाई मानश्री पुरस्कार दिइने

७ वैशाख, काठमाडौं । यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतमलाई दिइने भएको छ ।

वसुन्धरा-मान प्रज्ञा-प्रतिष्ठानका कुलपति डा. दुबसु क्षत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले सो निर्णय गरेको सदस्य सचिव कृषु क्षत्रीले जनाएका छन् ।

उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकहरुको सिर्जनाद्वारा नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान राख्न विशिष्ट योगदान गरेको भन्दै गौतमलाई सो पुरस्कार दिने निर्णय भएको हो । पुरस्कारको राशि नगद ७५ हजार रुपैयाँ रहेको छ ।

७७ वर्षीय गौतमका २५ भन्दा बढी उपन्यास मात्रै प्रकाशित छन् भने उपन्यास विधाकै लागि मदन, साझा लगायतका प्रतिष्ठित पुरस्कार उनले पाइसकेका छन् ।

उनका ‘अलिखित’, ‘कट्टेल सरको चोटपटक’, ‘निमित्त नायक’, ‘तथाकथित’, ‘बाढी’, ‘डापी’, ‘एक सहरमा एक कोठा’ लगायतका उपन्यास लोकप्रिय छन् । हालै मात्रै गौतमको ‘चकमन्नमा एकान्त’ र ‘जेलिएको’ उपन्यास प्रकाशित भएको छ ।

त्यस्तै, अर्का साहित्यकार सरुभक्तलाई २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । सो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

६५ वर्षका सरुभक्तका ‘पागलबस्ती’, ‘तरुनी खेती’, ‘चुली’ लगायतका उपन्यास र ‘बोक्सीको आह्वान र घोषणापत्र’, ‘कवि, प्रेमी र पागल’, ‘प्रयोगशालाभित्र’ र ‘इथर समय’ लगायत कवितासंग्रह प्रकाशित छन् ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा राष्ट्रकवि माधवप्रसाद घिमिरे, दौलतविक्रम विष्ट, गोविन्दबहादुर मल्ल गोठाले, यदुनाथ खनाल, मदनमणि दीक्षित लगायतका साहित्यकार तथा समालोचक पुरस्कृत भइसकेका छन् । २०५७ देखि स्थापित सो पुरस्कारले २० वर्ष पार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment