+
+
सांसद ‘अपहरण प्रकरण’ मा किसान श्रेष्ठको बयान :

‘सचेतकले जाऔँ भनेपछि महेश बस्नेत, म र सर्वेन्द्र महोत्तरी गएका हौँ’

अपहरणको आरोप प्रमाणित गरेर देखाउन बाबुरामलाई चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १७:४२

११ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई ‘अपहरण शैली’मा काठमाडौं ल्याएको आरोप लागेका नेकपाका सांसदले सोही पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको आग्रहमा आफूहरू यादवको घर गएको बताएका छन्।

नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाल सांसद यादवलाई लिन काठमाडौंबाट महोत्तरी पुगेका थिए।

समाजवादी पार्टीकै नेताको आग्रहमा लकडाउनका बेला यादवलाई काठमाडौं ल्याउन समस्या भएको भनेकाले आफूहरू गाडी लिएर यादवको घरमा गएको नेकपा सांसद श्रेष्ठले बताए ।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पहिलोपटक चुनाव हराएर चर्चामा आएका श्रेष्ठ समाजवादीका सांसद ‘अपहरण’ प्रकरणपछि एकाएक पुनः चर्चामा आएका छन् ।

यादवलाई अपहरण गरेको आरोप कपोलल्पित भएको बताउँदै सांसद श्रेष्ठले आरोप प्रमाणित गरेर देखाउन डा. बाबुराम भट्टराईलाई चुनौती दिएका छन् ।

आखिर तनहुँका नेकपा सांसद श्रेष्ठ किन गएका थिए त यादवको घरमा ? उनले अनलाइनखबरसँग दिएको प्रष्टीकरण यस्तो छ–

म त जिल्लामै राहत र यताका जनतालाई उद्धार गरेर लैजाने एवं स्वास्थ्य सामाग्रीहरू पुर्‍याउने काममै व्यस्त थिएँ । मेरा जिल्लाका जनतालाई उद्धार गर्ने क्रममा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाजीले पार्टीमा समस्या छ। डा.सुरेन्द्र यादव जिल्लामा हनुहुन्छ, उहाँलाई पनि ल्याएर सल्लाह गर्नुपर्ने भन्नुभएछ । उहाँसँग अरू तीनजना सांसद पनि छन् भन्ने उहाँहरूको कुरा थियो । यो कुरा महेश बस्नेत कमरेडसँग पनि भएको रहेछ ।

डा.यादव सर्वेन्द्र खनालको साथी भनेपछि उहाँ पनि भेट भएर म पनि जान्छु नि त भन्नुभएको हो । उहाँले पनि डा.साबसँग कुरा गर्नुभयो, आउनुस् भन्नुभयो उताबाट । त्यसपछि हामी महेश बस्नेत, म, उमाशंकरजी र सर्वेन्द्र खनाल अस्ति मंगलबार महोत्तरी गएका हौँ।

काठमाडौं आउँदा तीन बजेको थियो बिहानको । यस्तो बेलामा घरमा मान्छे लैजाने कुरा भएन । हामी म्यारियट होटलमा गएर सुत्यौँ

त्यो रात गौतम होटलमा बसियो । बिहान उठेर डा.साबसँग कुरा भयो । उहाँले मेरो घरमा आउनुस् भन्नुभयो र हामी साढे ९ बजेतिर उहाँको घरमा गयौँ ।

उहाँले एकदम खुसी भएर स्वागत गर्नुभयो । घरको माथिल्लो तल्लामा लैजानुभयो र खाना खाएर मात्र जाने भन्नुभयो । खाना पाकुन्जेल कुराकानी भए, उहाँले आफ्ना पार्टीका नेताहरूसँग कुराकानी गरिरहनुभएको थियो ।

खाना आएर उहाँ पनि काठमाडौं जान्छु, पार्टीका साथीहरूसँग भेट हुन्छ । मिल्यो भने प्रधानमन्त्रीसँग पनि भेट्न मन छ भन्नुभयो । हामीले भेटाउँला भन्यौँ ।

खाना खाएर उहाँ घरमा बालबच्चा सबैसँग बिदाबारी भएर हामीसँगै हिँड्नुभएको हो । बीचमा उहाँले सप्तरीतिरको माननीय डा.सूर्यनारायण यादवलाई पनि भेट्नुपर्नेछ, उहाँलाई पनि लगेपछि हुन्छ भन्नुभयो ।

डा.यादवलाई काठमाडौं ल्याएपछि अरू तीन जना सांसद आफ्नो पक्षमा थपिने कुरा अरगरियाजीले गर्नुभएको थियो । उहाँहरूको कुरा हामीलाई मतलब भएन ।

डा. यादव सूर्य नारायणजीलाई भेट्न जनकपुर जाने भनेपछि हामी बर्दिबासमा गौतम होटलमै बस्यौँ। केही घण्टापछि उहाँहरू आउनुभयो । तर, सूर्यनारायणजी पछि आउने कुरा भयो भन्नुभयो । हामी त्यसपछि दुईवटा गाडीमा पालो गर्दै गफ, हाँसो ठट्टा गर्दै आयौँ। सिन्धुलीमा चिया बिस्कुट खायौँ, धुलिखेलमा पहिले नै अर्डर गरेको खाना खाएर काठमाडौं आउँदा तीन बजेको थियो बिहानको ।

यस्तो बेलामा घरमा मान्छे लैजाने कुरा भएन । हामी म्यारियट होटलमा गएर सुत्यौँ । उहाँ एउटा कोठामा, अरगरिया जी अर्कोमा हुनुहुन्थो । महेश कमरेड र म पनि त्यहीँ सुत्यौं । डा.यादवजीका पिए र भिनाजु भन्ने पनि सँगै हुनुहुन्थ्यो । भएको त्यति हो ।

बिहान उहाँ हिँड्नुभएछ । हामीले अरगरियाजीलाई लौ तपाईंको पार्टीको कुरा हो, तपाईंहरू आफैँ कुरा गर्नुस् भन्यौँ । किन हिँड्नुभयो हामीलाई मतलब भएन । हामी आफ्नो बाटो लाग्यौँ। पछि त हामीलाई अपहरणको आरोप लगाएर बाबुरामजीहरूले बदनाम गर्न खोज्नुभएछ । हामीले अपहरणको त कल्पना पनि गर्न सक्दैनौँ ।

उहाँहरूकै पार्टीका नेताको आग्रहमा लकडाउनका बेला सांसदजीलाई काठमाडौं ल्याउन सघाएको हो । साथी भएको हुनाले पूर्वआइजीपी पनि जानुभएको हो ।

अपहरण भनेर स्वयं यादवजीले पनि भन्नुभएको छैन । यस्ता अनैतिक आरोप नलगाउन म आग्रह गर्छु । उहाँहरूको पार्टीको आन्तरिक समस्यासँग हामीलाई विवादमा पर्नु पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?