१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुप लिने खतरा बढेपछि सरकारले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकाका १० हजार व्यक्तिको परीक्षण गर्ने निर्णय लियो ।
त्यसअनुसार बिहीबार कालीमाटी तरकारी तथा फलफूल बजारमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न तीन सय ३४ जनाको थ्रोट स्वाब संकलन गरिएको छ भने सात सय जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा चार जनामा पोजेटिभ देखिएको छ ।
चैत १९ गते गतेबाट सुरु गरिएको आरडीटी जाँचमा आजसम्म ६२ हजार तीन सय २७ जनाको टेस्ट गरिएको छ । यति धेरै टेस्ट गर्दा कति जनालाई पोजेटिभ देखियो, उनीहरू क–कसको सम्पर्कमा आए भन्ने तथ्यांक सरकारसँग छैन ।
र्यपिड टेस्टमा पोजेटिभ आएर पीसीआरमा नेगेटिभ आएकाहरूको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरेको छैन । अहिलेसम्म पीसीआर जाँचमा पोजेटिभ आएकाहरूको मात्रै कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिएको छ ।
तर, अधिकांश र्यापिड टेस्टमा पोजेटिभ आउनेहरू विदेशबाट आएका तथा क्वारेन्टाइन बसेकाहरू छन् ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिलाई आरडीटी पोजेटिभ आउनु भनेको उसको शरीरमा कुनै न कुनै समय कोरोनाको सक्रिय भाइरस थियो । तर, अहिले निको भइसकेको वा हुने क्रममा छ भन्ने हो । तिनीहरूको शरीरमा भाइरस सक्रिय रहेको बेला अरूलाई सर्न पनि सक्छ । तर, सरकारले यो तथ्य थाहा पाउँदापाउँदै आरडीटी पोजेटिभलाई नजरअन्दाज गरेको छ ।
आरडीटीले संक्रमण सारेको दुई उदाहरण
वैशाख १ गते पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा सुरुमा आरडीटी जाँच गर्दा तीन जनामा पोजेटिभ देखियो ।
तर, पीसीआरमा जाँच गर्दा आमा–छोरालाई पोजेटिभ देखियो भने बुहारीलाई नेगेटिभ । त्यतिबेला स्वास्थ्य मन्त्रालय आफैंले बुहारीबाट आमा र छोरालाई कोरोना भाइरस सरेको बतायो । अर्थात् आरडीटी पोजेटिभ आएको मानिसबाट कुनै बेला अरूमा भाइरस सार्न सक्छ भन्ने तथ्य स्वास्थ्य मन्त्रालयले स्वीकार गर्यो ।
झापाको घटनाले पनि यो तथ्यलाई थप प्रमाणित गर्छ ।
झापास्थित दमक नगरपालिका ढुकुरपानीका ३४ वर्षीय युवा लकडाउन अगाडि विदेशबाट नेपाल आएका थिए । विदेशबाट आएको ४२ दिनपछि आरडीटी जाँच गर्दा उनमा कोभिड—१९ पोजेटिभ देखियो । उनीसँगै परिवारका अन्य तीन सदस्यहरूको आरडीटी जाँच गर्दा श्रीमती र आमाको पोजेटिभ देखियो भने बुबाको नेगेटिभ आयो । चारैजनाको स्वाब लिएर पीसीआर मेसिनमा जाँच गर्दा ६२ वर्षीय बुबाको पोजेटिभ देखियो भने अरूको नेगेटिभ ।
यो केसमा पनि बुबाको शरीरमा भाइरस पहिलो चरणमा प्रवेश गरेको थियो । जसको कारण आरडीटी जाँच गर्दा नेगेटिभ देखियो भने पीसीआर जाँच गर्दा पोजेटिभ । त्यसैले स्वास्थ्य मन्त्रालयले विदेशबाट आएको छोराबाट कोरोना सरेको बतायो ।
तर, आरडीटी पोजेटिभ आएकाहरूको तथ्यांक राख्ने र कन्ट्याक ट्रेसिङ किन गरिएन त ?
‘आरडीटी पोजेटिभ आउने सबैको कन्ट्याक ट्रेसिङ गर्न सम्भवै छैन’ कन्ट्याक ट्रेसिङको जिम्मा पाएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डे भन्छन्, ‘आरडीटी जाँच गर्नेको पीसीआर जाँच गर्दा पनि पोजेटिभ नतिजा आएमात्रै कन्ट्याक ट्रेसिङ गरिन्छ ।’
भाइरोलजिस्टसमेत रहेका डाक्टर पाण्डेका अनुसार र्यापिड टेस्टमा पोजेटिभ आएर पीसीआरमा नेगेटिभ आउनु भनेको मानिसको शरीरमा भाइरस निष्कृय हुनु हो । यस्तो अवस्थामा उसले अरूलाई संक्रमण गराउन सक्दैन । त्यसैले पीसीआरमा पोजेटिभ नआएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नु समय खेर फाल्नु हो । ‘यदि त्यो व्यक्तिबाट अरूलाई सारेको छ भने कुनै–कुनै माध्यमबाट भाइरस देखिहालिन्छ, आफैँ जाँच गराउन पुगिहाल्छन्,’ महाशाखाका निर्देशक पाण्डेले अनलाइनखरसँग भने, ‘शंका लागेकाहरूलाई जाँच गर्न आउनुस् भनेर अपिल गरेका छौं । विभिन्न ठाउँमा जाँच भइरहेको छ ।’
गजब कुराचाहिँ के छ भने सरकारले कोरोना टेस्टको कुल संख्यामा हरेक दिन भएका आरडीटीलाई पनि जोड्ने गरेको छ । त्यही संख्यालाई देखाएर नेपालमा दक्षिण एसियाका अरू देशमा भन्दा धेरै टेस्ट भएको छ भनेर दाबी पनि गर्ने गरेको छ ।
तर, त्यही टेस्टमा आएको पोजेटिभलाई भने गन्दै नगन्ने नीति लिएको छ ।
र्यापिड टेस्ट गर्दा पोजेटिभ र पीसीआर गर्दा नेगेटिभ आउँदैमा नजरअन्दाज गरियो भने गम्भीर दुर्घटना निम्तिन सक्ने संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् । ‘र्यापिड टेस्टमा पोजेटिभ देखियो भने उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्छ । नभए टेस्ट गर्नुको मतलब नै भएन नि ।’
डाक्टर सुवेदीका अनुसार स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा पनि जनस्वास्थ्य विज्ञहरूले र्यापिड टेस्टमा पोजेटिभ आएका केसलाई नजरअन्दाज नगर्न सुझाएका थिए । तर, त्यो अनुरुप काम गरेको देखिएन । जसका कारण सम्भावित महामारीको पूर्वानुमान भएन । त्यस अनुरुप तयारी पनि पुगेन ।
डा. सुवेदी भन्छन्, ‘हाम्रो सुझाव मानेको भए र्यापिड टेस्टमा पोजेटिभ आएका समुदायको सबै मानिसको पीसीआर जाँच भइसक्थ्यो र महामारीको एउटा क्लियर पिक्चर आइसक्थ्यो ।’
स्वास्थ्य आपतकालीन व्यवस्थापन केन्द्रका प्रमुख एवं स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारी भने सरकारको प्रोटोकलअनुसार नै आरडीटी टेस्टमा पोजेटिभ आएकाहरूको कन्ट्याक ट्रेसिङ नगरिएको बताउँछन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4