Comments Add Comment

डिल्लीबजार कारागारमा सरकारी सहयोगविनै बन्यो प्राथमिक उपचार कक्ष

२१ जेठ, काठमाडौैं । डिल्लीबजार कारागारले सरकारी सहयोगविनै प्राथमिक उपचार कक्ष तयार गरेको छ ।

सीएनएन हिरो पुष्पा बस्नेतको सहयोग र जेलर उप–सचिव अरुण पोखरेलको अग्रसरतामा तीन बेडको प्राथमिक उपचार कक्ष तयार भएको हो ।

पोखरेलका अनुसार कोभिड–१९ महामारीका वेला दाताको सहयोगमा बनाइएको प्राथमिक उपचार कक्षले सामान्य समस्या भएका कैदीबन्दीलाई अस्पतालसम्म पुर्‍याउनु पर्ने अवस्थाको अन्त्य गर्नेछ ।

जेल परेका आमाबुबाको सन्तानको पालनपोषण र शिक्षादिक्षामा लागेर प्रेरक व्यक्तित्वको अवार्ड पाएकी बस्नेतले साढे दुई लाख रुपैयाँको लागतमा उपचार कक्ष निर्माण गरिएको बताइन् ।

‘यसमा तीन वटा बेड, इन्सुलिन राख्न फ्रिज, अक्सिन, ह्वील चियर लगायत हुनेछन्’, उनले भनिन् । उपचारका लागि एक जना अहेब खटिनेछन् । विभिन्न सहयोगी मनसँग समन्वय गरेर आगामी दिनमा पनि कारागारलाई सहयोग गर्ने बस्नेतले बताएकी छन् ।

सामान्य विरामी भएको निहुँ गरेर कैदीबन्दी प्रशासनको सेटिङमा होटलसम्म पुग्ने गरेका थिए । तर, जेलभित्रै उपचार कक्ष निर्माण भएपछि यो समस्या पनि नियन्त्रण हुने पोखरेलले विश्वास व्यक्त गरे ।

‘कैदीबन्दीलाई सामान्य ज्वरो लाग्दा पनि अस्पताल लैजानुको विकल्पन थिएन’, जेलर पोखरेलले अनलाइनखबरसँग भने, ‘अब जतिसुकै वेला अस्पताल कुदाइरहनु परेन, यसले जनशक्ति र स्रोत, साधनको प्रयोगलाई पनि मितव्ययी बनाउनेछ ।’

गृह मन्त्रालयले पोखरेललाई हालै जिल्ला प्रशासन कार्यालय, उदयपुरमा सरुवा गरेको छ । उनलाई बुधबारै कारागारका कैदीबन्दीले हस्तलिखित सम्मान पत्र दिएर विदाइ गरेका छन् । र, स्वास्थ्य उपचार कक्ष निर्माणमा गरेको पहलका लागि धन्यवाद दिएका छन् ।

डिल्लीबजार कारागारको ‘क’ मा ४६१ र ‘ख’ ब्लकमा १ सय ५३ कैदीबन्दी छन् । तीमध्ये सबैभन्दा बढी एक सय ३ जना जबरजस्तीकरणी सम्बन्धी कसूरका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment