२७ जेठ काठमाडौं । सन् २०२३ को महिला विश्वकप फुटबल आयोजना गर्ने दौडबाट ब्राजिल पछि हटेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनासँगै अन्य विभिन्न कारणहरुले गर्दा विश्वकप आयोजनाको दाबेदारीबाट पछि हटेको ब्राजिलियन फुटबल फेडेरेसन सीबीएफले जनाएको छ ।
सीबीएफले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रभावका कारण परेको आर्थिक संकटका कारण सरकारले सहयोग गर्न नसक्ने भएपछि दाबेदारी फिर्ता लिएको जनाएको छ ।
पछिल्लो समय ब्राजिलले विश्व खेलकुदका ठूला प्रतियोगिताहरु गर्दै आएको थियो । सन् २०१३ को कन्फेडेरेसन कप २०१४ मा फिफा विश्पक २०१६ मा रियो ओलम्पिक र पारा ओलम्पिक तथा २०१९ मा कोपा अमेरिका र फिफा यु-१७ विश्वकपसमेत आयोजना गरेको थियो ।
यस पटक भने ब्राजिलले विश्वकप आयोजनाका लागि दाबेदारी फिर्ता लिएको छ र अब अर्को दक्षिण अमेरिकन राष्ट्र कोलम्बियालाई समर्थन गर्ने जनाएको छ । यसले गर्दा दक्षिण अमेरिकी राष्ट्रको दाबेदारी अझ प्रभावकारी हुने सीबीएफले जनाएको छ ।
२०२३ को महिला विश्वकप आयोजना गर्ने होडमा अब कोलम्बियासँगै जापान अनि अष्ट्रेलिया र न्युजिल्याण्ड छन् । अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्ने दाबी पेस गरेको छ । २५ जुनमा फिफा काउन्सिलको अनलाइन मिटिङबाट विश्वकपको आयोजक तोकिने सम्भावना छ ।
कोरोना महामारीका कारण ब्राजिल दक्षिण अमेरिकामा सबैभन्दा धेरे प्रभावित देश हो । विश्व स्वास्थ्य संगठनका अुसार ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ३५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4