
चलचित्र ‘कोहलपुर एक्सप्रेस’का लागि दौडधुप गर्दै नायिका तथा प्रस्तुतकर्ता केकी अधिकारीले भनेकी थिइन्–‘यति धेरै टेन्सन हुँदा पनि म किन ढल्दिनँ ।’ केकीले चलचित्र निर्माण गर्नु सामान्य काम नभएको बताएकी थिइन् ।
तर, पहिलो चलचित्रबाट नै निर्माण गर्न सहज छैन भन्ने वुझेकी केकी अधिकारी लगातार २ वटा चलचित्र निर्माणको तयारीमा छिन् । साथमा, उनकै निर्माणमा ‘कमेडी च्याम्पियन २’ पनि सुरु हुँदैछ ।
केकी आफूहरुले ‘बोक्सीको घर’ यो बर्ष नै निर्माण गरेर रिलिज गर्ने योजना अनुसार सुरु गरेपनि कोरोना महामारीका कारण संभव नभएको बताउँछिन् । केकीले भनिन्–‘म चलचित्रसँग नजिक छु । अब, तनाव नै लिनुछ भने अरु कुराले किन लिनु, चलचित्र बनाएरै लिन्छु भनेर मैले काम गरेकी हुँ । हरेक बर्ष एउटा चलचित्र बनाउने योजना थियो । तर, कोरोनाले गर्दा बोक्सीको घर निर्माण केही महिना पछाडि सर्न पुग्यो । जसलेगर्दा, कहानी तिम्रो मेरो र बोक्सीको घर’को घोषणा एकैपटक जस्तो देखिएको हो ।’
केकीले अगाडि भनिन्–‘चलचित्र बनाउँदा दबाब त हुन्छ नै । तर, चलचित्र बनाउँदा आउने दबाबले अल्छी बन्न दिदैन । चलचित्र बनाउँदा जस्तो आत्मसन्तुष्टी अरुबाट नमिल्ने रहेछ ।’
केकीले निर्माण गरेको पहिलो चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई चोरीको आरोप लाग्यो । केकी अबका बाँकी २ चलचित्रमा यस्तो आरोप नलागोस् भनेर सजग छिन् । केकीले भनिन्–‘पहिलो चलचित्रमा लागेको दाग मेटियोस् भन्ने त म चाहन्छु नै । यसैले, बोक्सीको घरलाई हामीले अर्गानिक कथामा बनाउन लागेको छौ ।’
चलचित्र ‘कहानी तिम्रो मेरो’को कथा लेख्ने काम बल्ल सुरु भएको केकीले बताइन् । यो चलचित्रको कथा पनि अरु कुनै चलचित्रसँग नमिलोस् भनेर आफूहरुले होमवर्क गर्ने केकीको तर्क छ ।
केकी अधिकारी फिल्मस्बाट केकीले रियालिटी शो र चलचित्र निरन्तर बनाउने योजना बनाएकी छिन् । पहिलो चलचित्रबाट असफल भएपनि केकीलाई रियालिटी शोले पनि सफलता दिलाएको छ ।
प्रतिक्रिया 4