
२८ जेठ, बुटवल । दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा गोली चलेको छ ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–८ आश्वारामा कुलो खन्ने क्रममा जग्गाको विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली चलाएका हुन् । नयाँ कुलो खन्ने क्रममा वलीले आफ्नो जग्गा नाप्न आएका अमिन मिलन केसीलाई ताकेर गोली हानेपनि गोली भने कसैलाई नलागेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार नक्सामा पहिले पनि कुलो रहेको र केही समययता पानी परेपछि पुरिएको र अहिले सोही ठाउँमा कुलो खन्न्न खोजेपछि विवाद हुँदा वलीले गोली चलाएका हुन् । आफ्नो जग्गामा कुलो खनेको भन्दै वलीले पेस्तोल निकालेर गोली चलाएका थिए । प्रहरीले उनको साथबाट पेस्तोल र त्यसमा रहेको ५ राउण्ड गोली नियन्त्रणमा लिएको छ ।
भारतमा बस्दै आएका उनी केही दिनअघि मात्रै घर आएका थिए । एक राउण्ड गोली चलाएर मोटरसाइकलमा भागेका वलीलाई प्रहरीले तुलसीपुरको पातुखोलाबाट नियन्त्रणमा लिएको डीएसपी सिंहले जानकारी दिएका छन् । प्रहरीले गोली चलाउने क्रममा वलीलाई मोटरसाइकलमा राखेर गएका मोटरसाइकल चालक स्थानीय २१ वर्षीय आकाश चौधरीलाई पनि पक्राउ गरेको छ । दुबैजनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रतिक्रिया 4