Comments Add Comment

पारस क्यानमा आउनु राम्रो हो

मैले पारस खड्कालाई पहिलो पटक सन् २००२ मा श्रीलंकामा यू-१५ क्रिकेट खेल्न जाँदा चिनेको हुँ । । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पहिलो पटक एसियाको यू-१९ क्रिकेटमा नयाँ आएका खेलाडीहरुको टिम बनाएको थियो ।

त्यस टिममा नेपालबाट अहिले खेलिरहेका बसन्त रेग्मी, शरद भेषावकर, पारस खड्कासमेत गरी ६ जना नेपाली खेलाडी थिए । हङकङ, मलेसिया, सिंगापुरसहितको खेलाडीहरुको टिम बनेको थियो । त्यसमा म टिम म्यानेजरको रुपमा श्रीलंका गएको थिएँ ।

पारसले खेलाडीका रुपमा आफूलाई विकास गर्दै लगे । उनले श्रीलंकामा राम्रो टिमसंग खेल्ने अवसर पनि पाए । त्यो बेला रुमेश रत्नानायके र अरु केही राम्रा प्रशिक्षकसँग प्रशिक्षण लिन पाए । मैले बुझेसम्म त्यो उनको स्टार्टिङ प्वाइन्ट थियो ।

हामी खेलाडी छनोटमा सहभागी हुदैनथ्यौं । टेक्निकल कमिटीले नै छनोट गर्थ्यो । श्रीलंकामा २१ दिन बसेपछि हरेक दिनजसो भेटघाट हुने भएकोले मैले पारसलाई चिनेको हुँ ।

पारसले विस्तारै यू-१७ यू-१९ टिममा राम्रो गर्दै गए । यू-१९ मा विनोद दासपछि हामीले पारसलाई कप्तान पनि बनायौँ । उनको कप्तानीमा नेपालले राम्रै खेलेको थियो । यू-१९ विश्वकप पनि खेल्यो । राम्रो प्रदर्शन गरेको थियो ।

२००६ तिर हामी आईसीसीको वर्ल्डकप साइकलमा थिएनौँ । म आएपछि हामीले नेपाललाई पनि डिभिजन लिगमा समावेश गरायौँ । त्यतिबेला नेपाली टिमको कप्तान विनोद दास थिए । पारसले राम्रो खेल्दै थिए, नेतृत्वदायी क्षमता थियो । त्यो बेला हाम्रो सोच सन् २०११-१२ सम्म विश्वकप खेल्ने थियो ।

२००५ तिर म क्यान अध्यक्ष भएपछि नयाँ टिम बनाउने, नयाँ कप्तान बनाउने भनेर छलफल भएपछि मैले कप्तानमा पारसको नाम प्रस्ताव गरेको थिएँ । उनलाई राष्ट्रिय टिमको कप्तान बनाइयो । त्यो डिसिजन नेपालको लागि राम्रो भयो ।

त्यो बेला धेरैले टु अर्ली भयो योङ नै छसमेत भनेका थिए । तर पारसले हामीले गरेको डिसिजनलाई प्रमाणित गरे । खेलाडी र लिडरको रुपमा नेपाललाई डिभिजन ५ देखि वर्ल्डकप सम्म पुर्‍याए । हुनत कप्तानबाट राजीनामा दिँदा नै भनेका थिए, बरु नयाँ कप्तानलाई ग्रुम गर्नपर्छ भनेर ।

पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिन अलि चाँडै भयो कि  ? हुनत उमेर पनि भइसक्यो सामान्यता ३४-३५ वर्ष भएपछि (खेलाडीका लागि) जिउले पनि साथ दिँदैन । अहिले उनी करिअरको टपमा छन् । टपको बेलामा सन्यास लिनु र खस्केको बेलामा सन्यास लिनु धेरै फरक हुन्छ ।

मेरो विचारमा नेपालको ओडीआई स्ट्यास मेन्टन गर्न पारसले अझै खेल्नुपर्थ्यो कि । गत वैशाखमा काठमाडौंमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा  पारस थिएनन् तर पनि नेपालले जित्यो, त्यसले पनि उनलाई इन्स्पायर गरेको होला कि । म मात्र बसेर भएन कि नयाँ खेलाडीलाई पनि अवसर दिनुपर्छ भने सोचले सन्यास लिएको हुन सक्छ ।

खेलाडीको लिडर र एक जना मानिसको रुपमा पनि पारस एकदमै राम्रो मान्छे हो । स्ट्रेट फरवार्ड छन्, आफ्नो कुरा निडर भएर राख्न सक्ने मान्छे हो । मेरो विचारमा नेपाली क्रिकेटको राम्रो दूत हो । उनकै कारण पनि नेपाललाई विश्वमा क्रिकेटिङ पावरको रुपमा चिनाउनमा ठूलो मद्दत गरेको छ ।

खेलाडी, कप्तान र लिडरको रुपमा उनीमाथि खोट लगाउने ठाउँ छैन । ठूलालाई रेस्पेक्ट गर्छन्, आफूभन्दा सानालाई इन्सपायर गर्छन् । त्यो सबै खाले क्षमता उनीसँग छ ।

अब विस्तारै क्रिकेटमा पुस्ता परिवर्तन हुँदैछ । अहिले पारससँगै खेलेका नेपाली खेलाडी धेरैजसो आफ्नै सोखले, आफ्नै इच्छाले बनेका खेलाडीहरु हुन् । उनीहरुले खेल करिअर शुरु गर्दा क्रिकेटको धेरै क्रेज थिएन । धेरैले खेल हुँदैनथ्यो । फुटबल खेल्न खोज्ने धेरै थिए । अहिले आएर क्रिकेटको क्रेज बढेको छ ।

पारस, ज्ञानेन्द्रहरु खेलेरै, सिकेर आएका हुन् । तर अहिले आएका खेलाडी केही न केही ट्रेनिङ गरेर सिकेर क्रिकेटमा आएको हो । फरक त्यही छ ।

अहिले खेलहरु खासै भएको छैन, यसमा दोष कसको ? पहिला राष्ट्रिय प्रतियोगिता हुन्थ्यो । उमेर समूह र सिनियर टिमको गरी ६-७ वटा प्रतियोगिता हुन्थयो । पारसले यू-१५, यू-१७ र यू-१९ उमेर समूहमा खेले । त्यसपछि सिनियरमा आए । अहिलेका कतिपय युवा खेलाडी सिधै सिनियर टिममा आएका छन् । त्यसैले उनीहरुसँग अनुभव कम छ । यही कारण भविष्यमा ठूला प्रतियोगिता खेल्दा उनीहरुलाई समस्या पर्न सक्छ ।

पारस अब क्रिकेट व्यवस्थापनमा आउनु स्वाभाविक कुरा हो । कनकी उनले धेरै वर्ष क्रिकेटमा लगानी गरेका छन् ।  कता-कताको मान्छे, क्रिकेट राम्रोसँग नबुझेकाहरु संघमा आएर बसिरहेका छन् । यस्तो अवस्थामा पारस आउनु भनेको त खुशीको कुरा हो, म त स्वागत गर्छु ।

क्रिकेटमा छक्का कसरी हान्ने भन्ने थाहा नभएकाहरु क्रिकेट संघमा हालीमुहाली गरिरहेका छन् । उनीहरु भन्दा पारस डिजर्भिङ मान्छे हो । म पारसलाई शुभकामना दिन्छु । पारस जस्तै मान्छे संघमा आउनुपर्‍यो । क्रिकेट बुझेको, क्रिकेटमा लगानी गरेको, क्रिकेटमा केही दिन्छु भन्ने मान्छे आउनपर्‍यो । लिन्छु भन्ने मान्छे आउँदा क्रिकेट माथि जाँदैन । अहिलेको मुख्य समस्या नै लिन्छु भन्ने मान्छेको हुल बढी भयो ।

नेपालमा क्रिकेट मात्र होइन अरु खेलहरु पनि यही कारण बिग्रिएको छ । मार्सल आर्ट्सका खेलहरु कहाँ थियो  कहाँ पुग्यो ? बक्सिङ कहाँ थियो, कहाँ पुग्यो ? खेल राम्रो हुनेबित्तिकै नचाहिने मान्छेको स्वार्थ बढ्ने अनि बिग्रने । त्यस्तो स्थितिमा क्यानमा पारस आने हो भने धेरै राम्रो हो ।

विदेश घुम्न जान पाइन्छ भनेर आउने भन्दा त पारस आएको ठीक हो ।

(गोविन्दराज नेपालसंगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment