Comments Add Comment

चुनाव चैतमा सार्ने शीतनिवास बैठकमा वैद्यको प्रस्ताव

२८ भदौ, काठमाडौं । राष्ट्रपतिले आहृवान गरेको सर्वदलीय बैठकमा नेकपा-माओवादीले संविधानसभाको चुनाव चैतमा सार्नेसहितको ४ बुँदे लिखित प्रस्ताव पेश गरेको छ । अन्तरिम संविधानको धारा ३८ (१) अनुसार अघि बढे खिलराज रेग्मीकै नेतृत्वको सरकार स्वीकार गर्ने माओवादीको प्रस्ताव छ ।

निर्वाचन सार्ने वैद्य माओवादीको प्रस्तावमा एमाओवादी नेता प्रचण्ड र साना दलका नेताहरु सकारात्मक देखिएका छन् भने एमाले र कांग्रेस नेताले कुनै हालतमा मंसिर ४ को चुनाव सार्न नहुने अडान राखेका छन् । प्रचण्डले शुक्रबार बुद्धिजीवी संगठनको कार्यक्रममा चुनाव सार्न नहुने पार्टीको प्रष्ट मत रहेको बताए पनि शीतल निवासको वैठकमा प्रचण्ड लचकदार रुपमा प्रस्तुत हुनुभएको थियो ।

mini-golmach

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार झण्डै ४ घण्टासम्म चलेको सर्वदलीय बैठकमा माओवादी अध्यक्ष मोहन बैद्य किरणले ३३ दलीय मोर्चाका तर्फबाट सहमतिका लागि ४ बुँदे लिखित प्रस्ताव राख्नुभएको हो । एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले बोलेपछि वैद्यको पालो आएको थियो ।

के छ वैद्यको चारबुँदे प्रस्तावमा ?

वैद्यले पेश गर्नुभएको प्रस्तावको पहिलो बुँदामा राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलन गर्ने र संविधानसभामा रहेका साथै आन्दोलनरत दलहरुको सहभागिता रहने सो गोलमेचले सहमतिका आधारमा निर्णय गर्नुपर्ने उल्लेख छ । यस्तै वर्तमान सरकारको सट्टा अन्तरिम संविधानको धारा ३८ को १ अनुसार दलीय सरकार गठन गर्ने र त्यसको स्वरुप र नेतृत्वबारे छलफल गरी सहमति कायम गर्ने दोस्रो प्रस्ताव छ । प्रधानन्यायाधीशबाट राजीनामा दिए खिलराज रेग्मीकै नेतृत्वमा ३८ को १ अनुसार दलीय सरकारको मान्यता सकिने माओवादी प्रस्ताव छ ।

mao-Prastab

प्रस्तावको तेस्रो बुँदामा संविधानसभा निर्वाचनमा सबै दललाई सहभागी गराउन संविधानसभाको दोस्रो निर्वाचनमा चैतमा सार्ने रहेको छ । आफूहरुलाई तयारीका लागि समेत चुनाव सार्नुपर्ने वैद्यको तर्क छ । ‘मंसिरमा चुनाव गर्न तयारीका हिसावले पनि सम्भव छैन’ बैठकपछि माओवादी सचिव देव गुरुङले भन्नुभयो-‘पुस माघमा प्राविधिकरुपमा सम्भव नहुने भएकाले चैतमा चुनाव गर्ने प्रस्ताव राखेका हौं ।’

वैद्यको प्रस्तावको चौथो बुँदामा नयाँ संविधानका मूलभूत अन्तरवस्तु, नयाँ संविधान निर्माणको मार्गचित्र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितका १८ बुँदे मागपत्रका विषय गोलमेच सम्मेलनमा छलफलको सूची बनाउने उल्लेख छ । सर्वदलीय बैठकमा सहभागी हुनुअघि ३३ दलीय मोर्चाका नेताहरुले ४ बुँदे प्रस्तावको खाका बनाएका थिए ।

के-के भयो शीतलनिवासमा ?

प्रस्तावमाथि छलफल गर्दै नेताहरुले वैद्य माओवादी चुनावप्रति प्रतिवद्ध हुनु सकारात्मक भएको बताए पनि मिति सार्ने प्रस्तावमा भने मिश्रति प्रतिक्रिया दिएका छन् । एक नेताका अनुसार कांग्रेस र एमालेका नेताहरुले मिति सार्न नसकिने बताएका छन् । एमाले अध्यक्ष झलनाथ खनालले कुनै हालतमा मंसिर ४ मा चुनाव गर्नु पर्ने अडान लिनुभएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले २००७ सालमा चुनाव सार्दा ०१५ सालसम्म पुगेको उदाहरण दिँदै मंसिर ४ मै जोड दिनुभएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले भने लचिलो हुँदै केही दिन चुनावको मिति सार्न सकिने भए पनि चैतमा सार्ने प्रस्ताव जटिल भएको प्रतिक्रिया दिनुभएको छ । यद्यपि चुनावमै आउँदैन भन्ने लागेको वैद्य माओवादीले चुनाव आउनेसहितको प्रस्ताव ल्याउनु सकारात्मक भएको प्रचण्डको भनाइ थियो । एमाओवादी नेता नारायणकाजी श्रेष्ठले प्रकाशले बैद्य माओवादी चुनावमा आउन चाहनु सकारात्मक भएको भन्दै एमाओवादीले अहिलेसम्म चुनाव सार्न कुनै सहमति नजनाएको बताउनुभयो ।

मधेसी दलहरुको अर्को माग

बैठकमा मधेसी दलका नेताहरुले भने मंसिर ४ मा चुनाव नहुने हो भने जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने नयाँ माग राखेका छन् । साना दलहरुले भने वैद्य चुनावमा आए मिति सार्न सकिने बताएका छन् ।

आइतबार शीतलनिवासमै अर्को बैठक

दलहरुले आ-आफ्नो धारणा राखेपछि प्रचण्डले भोलि गृहकार्यका लागि समय माग्नुभएको थियो । भोलि आन्तरिक छलफल गर्ने र पर्सि भदौ ३० गते दिउँसो १ बजे फेरि राष्ट्रपति निवासमै सर्वदलीय बैठक गर्ने सहमति भएको नेताहरुले बताएका छन् । राष्ट्रपति राववरण यादवले डाक्नुभएको बैठकमा उपराष्ट्रपति परमानन्द झा समेत उपस्थित हुनुहुन्थ्यो ।

बैठकमा एमाओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चामा आवद्ध दलहरु, वैद्य नेतृत्वको माओवादी, मधसी जनआधिकार फोरम, संघीय समाजवादी र राष्ट्रिय मधेस समाजवादी दलहरुको सहभागिता थियो । त्यसैगरी राप्रपा नेपाल, राप्रपा, नेकपा माले, नेकपा संयुक्त र नेमकिपालगायतका दलहरु पनि शीतलनिवास बैठकमा १९ दलहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment