नायक आर्यन सिग्देल पछिल्लो समयमा नेपाली सिनेमाका अनलक्की हिरोको रुपमा देखिन थालेका छन् । उनले आशा गरेका थुप्रै सिनेमाले व्यापार नगरेपछि आर्यनको सिने करिअर पनि धरमराएको देखिन्छ ।
नायक आर्यन सिग्देलले बलिउडका दबंग खान सलमानलाई अनुशरण गर्दै अभिनय गरेको चलचित्र ‘लोफर’ले पनि दर्शक हलसम्म नतानेपछि उनी अनलक्की बनेको देखिन्छ । छविराज ओझा जस्ता माहिर निर्माताको ब्यानरमा देखिएका आर्यनलाई न त मल्टिप्लेक्स न त सिंगल थिएटरका दर्शकले नै पत्याउन सके । बजारमा ‘लोफर’ नचल्नुको दोष आर्यनलाई दिन थालिएको छ । आर्यन सलमान खानको फ्यान भएकाले लोफरमा उनलाई सलमानले ‘दबंग’ सिनेमामा गरेको याक्सन स्टाइलकै भूमिका दिएको निर्माता छविराज ओझाले नै बताएका थिए ।
उनले अभिनय गरेका ४ सिनेमाले यो बर्ष हावा खाएका छन् । जसका कारण पनि स्टारडमको संभावना बोकेका आर्यन निर्माताको लागि फाप्न छोडेका छन् । उसो त नायिका रेखा थापासँग अभिनय गरेका केही सिनेमा भन्दा बाहेक आर्यनका कुनै पनि चलचित्रले व्यापारिक रुपमा कमाल मच्चाउन सकेको छैन ।
नेपाली सिनेमाका केही चर्चित वितरकहरुले पनि आर्यनले स्टारडम बचाउन नसकेको गुनासो गर्दै आएका छन् । यही कारणले पनि आर्यनका लागि सिने नगरी असुरक्षित बन्दै गएको देखिन्छ । उनले आफ्नै ब्यानरमा निर्माण गरेको ‘नोभेम्बर रेन’ यो बर्षको अन्त्यमा प्रदर्शनमा आउने तयारीमा छ । यो सिनेमा नै आर्यनको लागि सिने नगरीको भविष्य डोर्याउने दह्रो खम्बा बन्ने आशा गरिएको छ ।
प्रतिक्रिया 4