Comments Add Comment

ढोरपाटन सिकारीलाई खुल्ला गरियो, ६ देशका सिकारीले नाउर र झारलको सिकार गर्ने

Dhorpatan-Hunting-2
२७ असोज, बागलुङ । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकार याम सुरु भएको छ । सिकार खुल्ला भएपछि विदेशी तालिमप्राप्त सिकारी ढोरपाटन क्षेत्र पुग्ने क्रम सुरु भएको हो ।

यो याममा छ देशका सिकारीले नाउर र झारलको सिकार गर्ने आरक्ष कार्यालयले जनाएको छ । यही असोज १६ देखि मङ्सिर १७ गतेसम्म सिकारका लागि आरक्ष खुल्ला गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पहिलो यामका लागि १४ नाउर र आठ झारलको सिकारका लागि कोटा निर्धारण गरेको आरक्षका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । सिकारका लागि अमेरिका, रुस, जर्मन, साउथ अफ्रिका, नर्वे र ल्याटभियाका नागरिकले प्रस्ताव गरेका थिए ।

छवटै देशका तालिमप्राप्त सिकारी नेपालमा रहेका विभिन्न सिकार एजेन्सीमार्फत आउन लागेका हुन् । पहिलो यामका लागि नेपाल वाइल्ड लाइफ एडेभेन्चर प्रालि, हिमालयन सफारी प्रालि, ट्रयाक एन्ड ट्रेल्स प्रालि, नेपाल वाइल्ड लाइफ सफारी र ग्लोबर हन्टिङ सफारीले सिकारी पठाउन लागेका हुन् ।

विद्युतीय बोलपत्र आहृवान (इबिडिङ) मार्फत छनोटमा परेका एजेन्सीले सिकारी पठाउने गरेका छन् ।

सिकार अनुमति लिएका सिकारी आरक्षको ब्लकमा पुगेर सिकार खेल्न सुरु गरेको अधिकृत श्रेष्ठले जानकारी दिए । सिकारीले यस याममा सेङ, गुस्तुङ, फागुने, बार्से र दोगाडी ब्लकमा सिकार खेल्नेछन् ।

सुनदह ब्लक निकै टाढा पर्ने भएकाले सिकारी उक्त ब्लकमा जान नचाहेकाले त्यहाँ सिकार नखेलिने जनाइएको छ । सुर्तिवाङ ब्लकमा भने यसअघि सिकार निषेध गरिएको छ । उक्त ब्लकमा नाउरको सङ्ख्या घट्दै गएपछि सिकार बन्द गरिएको हो । यो वर्ष सिकारको दर पनि बढेको छ । सिकार एजेन्सीको बढ्दो प्रतिस्पर्धा र सङ्ख्या पनि बढेकाले विभागले राजस्व पनि बढाएको हो ।

सिकारबापत प्रतिझारल अधिकतम रु चार लाख एक हजारदेखि न्यूनतम रु दुई लाख ७७ हजार र नाउर अधिकतम रु तीन लाख २५ हजार ५ सयदेखि न्यूनतम रु दुई लाख ७१ हजार राजस्व राज्यलाई तिर्नुपर्ने अधिकृत श्रेष्ठले जानकारी दिए । पछिल्लो दुई वर्षदेखि सिकारको दर बढ्दै गएको छ ।

गत वर्ष यही समयमा अधिकतम रु तीन लाख २० हजार पुगेको सिकारको दर अहिले रु चार लाख नाघेको छ । आरक्षको प्रमुख आय नै सिकारबाट प्राप्त हुने राजस्व हो । सिकारसँगै विभिन्न क्षेत्रबाट गरी बर्सेनि रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हुने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैशाखसम्म दोस्रो याम गरी वर्षमा दुईपटक सिकार खुल्ला गर्ने गरिएको छ । सिकार खेल्न आरक्ष पुग्ने सिकारी हप्ताँैसम्म अस्थायी टेन्ट टाँगेर आरक्षमा बस्ने गर्छन् । साहसिक यात्रासँगै सिकारका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । सिकारी हेलिकोप्टर चार्टर गरेर आउने गरेको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment