४ मंसिर, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सार्क हस्तकला प्रर्दशनी सुरु भएको छ । सार्क राष्ट्रहरुको सहभागिता रहेको मेलाको उदघाटन उद्योग मन्त्री महेश बस्नेतले गरे ।
प्रर्दशनीमा सार्क राष्ट्रहरुले आ-आफ्नो देशमा उत्पादित हस्तकलाका सामाग्री प्रर्दशनी तथा बिक्रीमा राखेका छन् । प्रर्दशनीमा ६ वटा प्याभिलियन सहित २ सय ९ वटा स्टल रहेका छन् । प्रर्दशनीमा भुटान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंकालगायत सार्क राष्ट्रका ४० वटा स्टल रहेका छन् । बाँकी नेपाली स्टलहरु छन् ।
पाकिस्तानका व्यवसायीले छालाबाट निर्मित ज्याकेट, ब्याग, बेल्टलगायतका वस्तुहरु प्रर्दशनी र बिक्रीमा राखेका छन् । भारतबाट हस्तनिर्मित लत्ताकपडा, सजावटका सामाग्री प्रर्दशनीमा राखिएको छ । बंगलादेश र भुटानले पनि आ-आफ्नो देशमा उत्पादित कपडा, ब्याग, सजावटका सामाग्रहरु प्रर्दशनीमा राखेका छन् ।
नेपालका व्यवसायीले पस्मिनाका कपडाहरु, उनी तथा अल्लोका कपडाहरु, छाला जुत्ता-चप्पल, सजावटका सामाग्री, भगवान तथा मठमन्दिरका मुर्तिहरु, काठका समाग्रीहरु, सुनचाँदीका गरगहना लगायतका हस्तनिर्मित वस्तुहरु प्रर्दशनी तथा बिक्रीमा राखेका छन् ।
मेला उदघाटन समारोहलाई सम्बोधन गर्दै उद्योगमन्त्री बस्नेतले हस्तकला व्यवसायले मुलुकमा रोजगारी सिर्जना गरी गरिवी निवारणमा ठूलो सहयोग पुर्याउँदै आएको बताए । उनले हस्तकलाको निर्यातको प्रशस्त सम्भावना रहेको बताउँदै यस क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने आश्वासन दिए ।
हस्तकलाको विकास गर्न पाँच विकास क्षेत्रमा एक/एकवटा हस्तकला ग्राम र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनीस्थल निर्माण कार्यलाई अगाडि बढाएको मन्त्री बस्नेतको भनाइ थियो ।
मेलाले खरिदकर्ता र आपूर्तिकर्तालाई एउटै फोरममा भेला गराएर बजार प्रवर्द्धनमा सहयोग पुर्याएको बस्नेतले बताए । उनले चाँडै नै औद्योगिक व्यवसाय ऐन कार्यान्वयनमा आउने दाबी गर्दै यसलाई छिटो पारित गर्न आवश्यक गृहकार्य भइरहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकमा हस्तकला ग्राम निर्माण गर्न सकेमा यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । अहिले उद्योग मन्त्रालयले जुझारु र उद्योग व्यवय बुझेको मन्त्री पाएको बताउँदै उनले औद्यागिक विकासमा महेश बस्नेतले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
प्रर्दशनी आयोजक नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यले विश्व बजारमा सार्क क्षेत्र हस्तकलाको लागि महत्वपूर्ण क्षेत्रका रुपमा रहेको बताए । हस्तकलाको उत्पादन बढाई निर्यात बढाउन सकेमा यस क्षेत्रमा रोजगारी अभिवृद्धि र गरिवी निवारणमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो ।
नेपाली हस्तकला सामाग्रीको निकासी बढाउन आवश्यक पर्ने पूर्वाधारहरु निर्माण र निकासीकर्ताहरुलाई दिइने सुविधा बढाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिए । यस्ता सुविधाहरुमा प्रतिस्पर्धात्मक नगद प्रोत्साहन, सहुलियत ब्याजमा ऋण, अन्तर्राष्ट्रिय मेलामा सहभागिता आदि रहेका छन् ।
सरकारले व्यवसायीहरुलाई सुविधा बढाइदिएमा आगामी आर्थिक वर्षमा हस्तकलाको निकासी कम्तिमा २० प्रतिशत वृद्धि गरी ६ अर्बको हाराहारीमा पुर्याउन सकिने शाक्यको भनाइ थियो । गत आर्थिक वर्षमा नेपालबाट ५ अर्ब रुपैयाँ बराबरको नेपाली हस्तकला निर्यात भएको थियो ।
निर्यात र आन्तरिक खपत गरी वर्षमा २५ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामाग्रीहरुको कारोबार हुने गरेको व्यवसायीहरुको दाबी छ । अहिले यस क्षेत्रमा प्रत्यक्ष ५ लाख र अप्रत्यक्ष ५ लाख गरि करिव १० लाख व्यक्तिहरुले रोजगारी पाइरहेका छन् ।
प्रर्दशनीमा नेपालका २५ भन्दा बढी जिल्लाका सामानहरु राखिएको छ । साथै, प्रर्दशनीमा ४० जना शिल्पकारहरुको पनि सहभागिता रहेको छ ।
सोही अवसरमा आर्थिक वर्ष ०७०/०७१ मा ५ करोड रुपैयाँभन्दा बढीको हस्तकला निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई उद्योगमन्त्री बस्नेतको हातबाट ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4