Comments Add Comment

आन्दोलनबाटै जनप्रतिनिधिसभा बनाउने वैद्यको घोषणा (भिडियो सहित)

Mohan baidhya Kiran

२५ मंसिर, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले सडक आन्दोलनबाटै ‘जनप्रतिनिधिसभा’ बनाउने भन्दै ‘जनसंविधान’को खाका घोषणा गरेको छ । माओवादीले विहीबार ‘जनसंविधान सम्वन्धी आधारभूत अवधारणा’ सार्वजनिक गरेको हो ।

बिहीबार कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्य किरणले दोस्रो संविधानसभा यथास्थितिवादी भएको बताए । सर्वपक्षीय राजनीतिक सभा गर्नसमेत दलहरु तयार नभएको भन्दै उनले भने- ‘जनआन्दोलनमार्फत् जनप्रतिनिधिसभा बन्छ, त्यही जनप्रतिनिधिसभाले जनसंविधानलाई वैधानिकता दिन्छ ।’

‘हामीले परिकल्पना गरेको राज्यसत्तामा दलाल पूँजिपति पाखा लाग्नेछन्,’ वैद्यले भने, ‘राष्ट्रिय पूँजिपति, देशभक्त, मजदुर किसानहरु सरकारमा हुनेछन्, नेतृत्वदायी भूमिका श्रमिकवर्गको हुने छ ।’

दोस्रो संविधानसभाबाट जनपक्षीय संविधान नबन्ने भएकाले त्यसको विकल्प आफूहरुले अघि सारेको अध्यक्ष वैद्यले बताए । ‘अहिलेको संविधानसभामा हाम्रो कुनै सरोकार छैन,’ वैद्यले भने अब जनवादी क्रान्तिको बिचबाट जनताको संविधान घोषणा गर्छौं ।’

हेर्नुहोस् भिडियो

पहिचान र आत्मनिर्णयसहित १४ प्रदेश

वैद्य माओवादीले ५१ बुँदामा सार्वजनिक गरेको जनसंविधानको खाकामा पहिचानसहितका १४ वटा संघीय प्रदेशको अवधारणा अघि सारिएको छ ।

अघिल्लो संविधानसभाको राज्य पुनःसंरचनासम्बन्धी समितिले तयार पारेको १४ प्रदेशलाई नै वैद्य माओवादीले आफ्नो जनसंविधानको अवधारणामा समेटेको छ ।

यद्यपि दलहरुसँग यसमा छलफल गर्न सकिने जनसंविधान घोषणा गर्ने क्रममा माओवादी सचिव देव गुरुङले बताए ।

१४ वटा प्रदेशहरु पहिचानका आधारमा गठन हुने र उत्पीडित जातिको बाहुल्य रहेको क्षेत्रमा विशेष स्वायत्त प्रदेशहरु बनाउन सकिने गुरुङले प्रस्ताव गरेका छन् ।

प्रदेशहरुलाई आत्मनिर्णयको अधिकार प्रदान गरिने बताइएको छ । तर, सार्वभौमसत्ता र अखण्डतालाई प्रभाव नपर्ने गरी राजनीतिक, सामाजिक र सांस्कृतिकरुमा यो आत्मनिर्णयको अधिकार प्रयोग गरिनुपर्ने बताइएको छ । ‘देश टुक्राउन पाइने छैन,’ कार्यक्रममा वैद्यले भने,’दमन भयो भने बेग्लै कुरा ।’

राष्ट्राध्यक्ष चुन्न संसदको दुई तिहाइ

जनप्रतिनिधिसभा र प्रादेशिक सभाको दुई तिहाइ बहुमतबाट राष्ट्राध्यक्ष चयन गर्ने  माओवादीको प्रस्ताव छ । उसले राष्ट्राध्यक्ष राष्ट्रपति हुने कि प्रधानमन्त्री भन्ने खुलाएको छैन ।

तर, मन्तव्यका क्रममा माओवादी सचिव गुरुङले राष्ट्रपति भए पनि जे भए पनि संसदको दुई तिहाइ बहुमतबाट चुनिने र ऊ व्यवस्थापिकाप्रति उत्तरदायी हुने बताए ।

जनसंविधानको प्रस्तावमा राष्ट्राध्यक्षको उल्लेख गरिए पनि सरकार प्रमुखबारे बताइएको छैन ।

संसदीय व्यवस्थाको विरोध गरिए पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको साटो संसदीय भाव आउने गरी संससले राष्ट्रपति चुन्ने प्रावधान अघि सारिएको छ ।

मन्त्रीमण्डल भने सर्वदलीय हुने र व्यवस्थापिकामा कोही पनि प्रतिपक्षमा नरहने समन्वयवादी राज्य संरचनाको प्रस्ताव अघि सारिएको छ ।

सबै दललाई सहभागी गराएर मन्त्रिमण्डल बनाउने बैद्य माओवादीको प्रस्ताव छ । यस्तो मन्त्रिमण्डलमा ५१ प्रतिशत मन्त्रीहरु मजदुर र किसानका प्रतिनिधि हुनेछन् । महिला, मुस्लिम र अपाङ्गता भएका व्यक्तिहरुलाई थप १० प्रतिशत विशेष आरक्षणको व्यवस्था गरिने बताइएको छ ।

वैद्य माओवादीले जनप्रतिनिधिसभा र स्थानीय निकायमा समेत पूर्ण समानुपातिक निर्वाचन प्रणाली प्रस्ताव गरेको छ । स्थानीय निकायमा ‘पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणाली’ प्रस्ताव गरिएको छ ।

सैनिक तालिम र समाजवादी क्रान्ति

जनसंविधानमा  १८ वर्ष उमेर पुगेका नागरिकलाई सैन्य तालिम दिने लगायतका प्रस्ताव गरिएका छन् । राज्यसत्ता धर्म निरपेक्ष हुने उल्लेख छ । संविधानमा ‘जनताको जनवादी राज्यसत्तामार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादको दिशामा अघि बढ्ने व्यवस्था मिलाइने छ’ भन्ने व्यहोरा राखिने माओवादीको प्रस्तावमा उल्लेख छ ।

‘यो हाम्रो प्रस्ताव हो, माओवादी अध्यक्ष वैद्यले कार्यक्रममा भने,’ यस विषयमा देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित आवश्यक सहमति कायम गर्दै जनआन्दोलन तथा संघर्षका वीचबाट जनप्रतिनिधिसभा नामको संस्था बनाएर यसलाई अन्तिम रुप दिइने छ ।’

आन्दोलनको खाका आएन

वैद्य माओवादीले आन्दोलनबाटै जनप्रतिनिधि सभा गठन गर्ने बताए पनि त्यस्तो आन्दोलनको खाका भने सार्वजनिक गरेन । नेताहरुले आन्दोलन कहिलेदेखि हुने भन्ने केही बताएनन् ।

पार्टीको नेवा राज्य समितिको कार्यालयमा आयोजित जनसंविधान घोषणा कार्यक्रमको सञ्चालन प्रवक्त पम्फा भुसालले गरेकी थिइन् । संविधानको खाका सचिव गुरुङले प्रस्तुत गरेपछि अध्यक्ष वैद्यले संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए ।

बादल अनुपस्थित

कार्यक्रममा महासचिव रामबहादुर थापा बादल भने अनुपस्थित थिए । बैकुण्ठ चेत सांस्कृतिक भवनमा कार्यकर्ताहरु खचाखच भरिएका थिए । मञ्चमा पार्टीका केन्द्रीय नेता सुरेश आलेमगर, कुलबहादुर केसी सोनाम, पवनमान श्रेष्ठ, दिलिप प्रजापति, देवेन्द्र श्रेष्ठ, रामदीप आचार्य, दिनेश शर्मा, लक्ष्मी मुडवरीलगायतका नेताहरु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment