Comments Add Comment

प्रचण्डका ‘भैंसी पुजारी’को पत्रकार सम्मेलन !

२६ जेठ, धरान । नेपाललाई सतीले सरापेका कारण पुष्पकमल दाहाल (प्रचण्ड)ले चैनले काम गर्न नपाएको भन्दै धरानका एक यौन काण्डमा मुछिएका विवादित ज्योतिषले मंगलबार पत्रकार सम्मेलन गरेका छन् ।
Pradip-Sharma

धरान-९ मा चण्डेश्वरी ज्योतिष केन्द्र सञ्चालन गर्दै आएका प्रदीप शर्माले मंगलबार विहान पत्रकार सम्मेलन गर्दै सतीको सरापका कारण देशलाई राम्रो गर्ने नेताहरु कति सत्तामा पुग्नै नपाएको, कतिलाई टिक्नै नदिएको भन्दै महायज्ञबाट श्रापको दोष हटाउने दाबी गरेका छन् ।

पत्रकार सम्मलेनमा वितरित विज्ञप्तिमा सतीको सरापकै कारण बहादुर शाह, भीमसेन थापा, देव सम्सेर, राजा महेन्द्र, विपी कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, राजा विरेन्द्र, कृष्णप्रसाद भट्टराई र हालका पुष्पकमल दाहाल (प्रचण्ड)ले चैनले काम गर्न नपाएको उल्लेख छ ।

प्रदीप शर्मा धरानमा पटक-पटक विवादमा पर्ने गरेका ज्योषित हुन् । महिलाहरुलाई आफुसँग यौन सम्पर्क गरे बच्चा जन्मने, परिवारसँगको तनाव कम हुने जस्ता कुरा गरेर पटक-पटक प्रहरीले पक्राउ गर्ने गरेका उनी राजनीतिक रुपमा भने स्थानीय नेता, सभासददेखि केन्द्रीय तहका नेताहरुलाई समेत प्रभावमा पार्छन् ।
Prachanda-cina

केही वर्षअघि सुनसरीको चतरामा भएको एउटा यज्ञमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भैंसी पूजा गरेको खुब चर्चा भएको थियो । उनलाई भैंसी पूजा गराउने ज्योषितको समूहमा शर्मा पनि थिए । त्यसपछि उनले दाहालको जन्मकुन्डली नै बनाएर आफ्नो ज्योतिष केन्द्रमा झुण्ड्याएका छन् ।

सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राई, एमालेका स्थानीय नेता मोति सुनुवार, तारा सुब्बाले आफ्नो खुब विश्वास गर्ने उनी बताउँछन् । सुब्बा र सुनुवारलाई शर्माले केही बर्षअघि सप्तकोशीमा लगेर १ सय ८ पटक डुबुल्की मार्न लगाउँदै ग्रहशान्ति गरेका थिए ।

दुई बर्षअघि धरानमा सानो पसल सञ्चालन गर्दै आएकी एक महिला लामो समयसम्म बच्चा नजन्मिएपछि यिनै प्रदीप शर्माको केन्द्रमा पुगिन् । शर्माले ‘माछामासु नखाने मजस्तै मान्छेसँग यौनसम्पर्क गर्नुपर्छ..’ भनेर कुरा गरेको भन्दै प्रहरीमा उजुरी पर्‍यो ।

उनले श्रीमानलाई सुनाएपछि उनका श्रीमानले ज्योतिष केन्द्र नै तोडफोड गरिदिए । त्यसबेला प्रहरीले शर्मालाई पक्राउ समेत गर्‍यो । २ दिन थुनेपछि उनलाई स्थानीय राजनीतिक दलका नेताहरु समेत लागेर छुटाएका थिए । शर्मालाई ५ पटक प्रहरी कार्यालयबाट यसैगरी छुटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment