२ कात्तिक, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुको दसैं फरक फरक हुने भएको छ । केही नेता दसैंको बेलामा पनि राजनीतिक भेटघाट तथा कार्यकर्ता भेटघाटमा व्यस्त रहेनछन् भने केही नेता आफ्ना कार्यकर्तालाई घरमै टीका लगाउने तयारीमा रहेको नयाँ पत्रिकामा खबर छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो पटक दसैं मनाउने अवसर पाएका छन् । कात्तिक चार गते झापा जाने भए पनि टीकाका दिन बालुवाटार मै रहने र परिवार तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम ओलीले तय गरेका छन् ।
पूर्व प्रधामन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको यसपाली दसैं छैन् । मिलेमा गृहजिल्ला बाँके जाने नभए काठमाडौंमै पारिवारिक तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम कोइरालाको छ ।
त्यस्तै एमाओवादी अध्यक्ष प्रचण्ड काठमाडौं मै रहे पनि दसैं मनाउँदैनन् । प्रचण्ड केन्द्रीय समितिमा पेस गर्ने राजनीतिक दस्तावेज लेख्ने कार्यमा दसैंको बेलामा सक्रिय रहने कार्यतालिका बनाएका छन् ।
कांग्रेस नेता शेरबहादुर देउवाले दिदीको हातबाट टीका लगाएर दसैं मनाउने छन् । काठमाडौं बाहिर नजाने योजना बनाएका देउवाले घरमै आफन्त तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम बनाएका छन् ।
त्यस्तै एमाले बरिष्ठ नेता झलनाथ खनाल पनि दसैंमा काठमाडौं बाहिर जाने छैनन् । आफन्त र कार्यकर्तालाई टीका लगाइदिने, घरमै बस्ने र भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै एमाले नेता माधव नेपाल पनि घरमै बस्ने छन् । दसैं नभए पनि भेटघाटमा सक्रिय हुने उनले बताएका छन् । कार्यकर्तासँगको भेटघाटका लागि सोमबार रौतहट जाने भएका छन् ।
त्यस्तै नेता डा. बाबुराम भट्टराई दसैंका बेला पारिवारिक भेटघाटका साथै अन्य छलफलमा सहभागी हुनेछन् ।
उपप्रधान तथा परराष्ट्र मन्त्री बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा यसअघि दसैंका बेला टेनिस खेल्न कोलकाता तथा बैंकक जाने गरेका भएपनि यसपालि घरमै बसेर दसैं मनाउने भएएका छन् । स्वदेशी तथा विदेशी भेटघाटमा सक्रिय हुने थापाले बताए ।
प्रतिक्रिया 4