Comments Add Comment

‘मधेसमा मध्यम वर्ग उदायो, काठमाडौंले बुझेन’

Ishan (2)

२ माघ, काठमाडौं । अनलाइनखबरको स्टुडियोमा एकजना अनौठा किशोर झुल्किए । स्वदेशमा बनेका सेता कपडा लगाएका, मधेसी मित्रहरुले उपहारस्वरुप दिएको धोती ओढेका अनि कालो टोपी लगाएका यी २१ वर्षे किशोर ३७ दिनसम्म मधेसमा पैदल यात्रा गरेर काठमाडौं फर्केका रहेछन् ।

काठमाडौंको हुनेखाने परिवारको सदस्य दाबी गर्ने उनले आफ्नो नाम ‘इशान’ बताए । पटक-पटक सोध्दा पनि थर बताउन चाहेनन् ।
मधेसमा मध्यम वर्गको उदय भइरहेको र उनीहरुको आकांक्षालाई काठमाडौंले बुझ्न नसक्नु नै अहिलेको तराई मधेसको मूल समस्या रहेको यी किशोरको निश्कर्ष छ । जनतामा सम्वृद्धि बढेपछि पहिचानको आकांक्षा बढ्ने उनको तर्क छ ।

आफूले पनि विद्यार्थी कालमा मधेसी समुदायका विद्यार्थी साथीलाई हेप्ने गरेको स्वीकार गर्दै उनले आफूजस्तै पहाडे समुदायका व्यक्तिहरुभित्र रहेको यही विभेदपूर्ण सोचाइले गर्दा राज्य विभेदकारी बनेको यी किशोरको स्वीकारोक्ति छ ।

ललितपुरको सेन्ट जेभियर्सजस्तो संभ्रान्त वर्गले पढ्ने स्कुल वीचैमा छाडेर हिँडेको बताउने यी किशोरले आइतबार पर्यटनबोर्डको हलमा आफ्नो मधेस यात्राबारे युवा-विद्यार्थीहरुलाई व्याख्या गर्ने कार्यक्रम छ । त्यसैको अघिल्लो दिन अनलाइनखबरको स्टुडियोमा आएर उनले आफ्नो यात्रा-अनुभव यसरी सुनाए:

मैले जावलाखेलस्थित सेन्ट जेभियर्समा १० कक्षा पढ्दापढ्दै विद्यालय छाडेको हुँ । त्यो ०६६ सालतिरको कुरा हो । त्यो दिनदेखि म कहिल्यै कक्षामा फर्किएको छैन ।

विद्यालय छाडेपछि धेरैथोक गरियो । कहाँबाट सुरु गरौं भन्ने नै गाह्रो छ । विद्यालय छाड्नुको कारणबारे कुरा गर्दा एकजना शिक्षकले पढाएको शैली मन परेन, पढाएको कुरा नबुझेपछि त्योबेला त्यस्तै झोंक चल्यो । अनि आफैं जोशिएर विद्यार्थीहरुलाई हस्ताक्षर गर्न लगाएँ र शिक्षकलाई निकाल्नुपर्छ भन्ने पनि अलिअलि गरियो, जुन त्यो स्कुलमा असामान्य घटना नै थियो । झोंकै झोंकमा ल उहाँलाई निकाल्नुभएन भने म आफैं छाडिदिन्छु भनेर मैले विद्यालय छाडें ।

त्योबेला मैले एकदमै भिजन राखेर विद्यालय छाडेको हुँ भन्ने लाग्थ्यो । तर, अहिले फर्किएर हेर्दाखेरि झोंक र आवेगमै छाडेंछु भन्ने लाग्छ ।

१२ हजार सापट लिएर मधेस झरियो

तीन साता अगाडि मैले तराई मधेसको यात्रा टुंग्याएँ । ३७ दिने यात्रा थियो त्यो । त्योभन्दा अगाडि दसैंका बेलामा मैले पाटनढोका अगाडि व्रत बसेको थिएँ । कसैको विरोध गर्न चाहन्न, क्षमा मात्रै चाहन्छु, बलिदान र समर्पण भनेको के हो, त्यो अनुभूत गर्न चाहन्छु भन्ने सन्देश राखेर आवेगकै भरमा पाटनढोकाको रुखमुनि नवरात्रको समयमा पानीमात्रै खाएर लगभग १० दिन बसें ।

काठमाडौंले बुझ्न नसकेको पनि यही पक्ष हो । उदाउँदो मध्यम वर्गको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा नै अहिलेको महत्वपूर्ण समस्या हो

त्यसरी व्रत बसेका बेला धेरैजनाले तराई-मधेसकै बारेमा कुरा गरिराखेको सुनेपछि एकपटक जाम न त, तराई-मधेसको अवस्था के रहेछ भनेर जान्ने ईच्छा लाग्यो । सम्मानको सन्देश लिएर एउटा पैदलयात्रा गरौं भन्ने लाग्यो ।

म काठमाडौंमा जन्मेको, हुर्केको मान्छे । काठमाडौंको युवा प्रतिनिधि भएको हिसाबले आह्वान गर्छु, जो-जो जोडिन चाहनुहुन्छ, जोडिनोस् भनेर फेसबुकमा आह्वान गरें । अनि पैदल हिँडें ।

हामीले यात्रा सुरु गरेको कञ्चनपुर जिल्ला, टनकपुरको ब्रह्मदेवबाट हो । अन्त्य गरेको चाँहि झापाको केचनामा । हामीले लिएको रुटचाँहि हुलाकी मार्ग हो ।

प्रायः हुलाकी बाटो नै प्रयोग गरेका थियौं । हामीले ३७ दिनमा १२०३ किलोमिटर यात्रा गर्‍यौं । यस मध्ये ४१ किलोमिटरजति चाँहि रिक्सा, बाइक आदि साधनमा हिँड्यौं, बाँकीचाँहि पूरै पैदल हिँडेका हौं । हिँड्ने बेलामा मसँग खासै पैसा थिएन । एकजना साथीसँग १२ हजार रुपैयाँ सापट मागेर हिँडेको हुँ ।

मैले फेसबुकमा आह्वान गरेपछि आएका काठमाडौंकै अर्का साथी लोचन आचार्यले मोबाइल किन्न जोगाइराखेको ७ हजार जति खर्च गरेर हिँडेका हुन् । पछि नारायणघाटबाट जोडिएका अर्का एकजना साथी सुरेन्द्र बजगाइँ पनि आफ्नै खर्चमा हिँडेका हुन् ।

हामीले कञ्चनपुरदेखि झापासम्मको यात्रा ३७ दिनमा पूरा गर्‍यौं । तर, हामी वीचमा अल्मलिँदै, छलफल गर्दै हिँड्यौं । चिया पसलहरुमा सम्वाद गर्दै हिँड्यौं । निरन्तर हिँड्ने हो भने २०/२२ दिनमै भ्याइन्छ होला ।

हामी जनकपुरजस्तो ठाउँमा एकदिन बढी बस्यौं । वीरगञ्जमा, दुम्कीबासमा एक/एकदिन बढी बस्यौं । त्यसैगरी बिराटनगरमा पनि एक दिन बढी बस्यौं ।

हाम्रो यात्रा पूरै अनौपचारिक थियो । एकदुई ठाउँमा चाहिँ साथीहरु जम्मा गरेर अन्तरक्रियाजस्तो पनि गरियो ।

मध्यम वर्ग उदाएछ, काडमाडौंले बुझेन !

तराई-मधेसको सेन्टिमेन्टको कुरा गर्दा ठाउँ अनुसार र मान्छे अनुसार फरक पाइयो । हुलाकी बेल्टमा हिँड्ने क्रममा मधेसी समुदायको बाहुल्य रहेका बस्तीहरुमा पुगियो ।

नेपाली बोल्न सक्ने भए पनि नेपालीमा कुरै गर्न मानेनन् । पर्चा लिन नमान्ने, नेपालीमा जवाफ फर्काउन नमान्ने  । हामी अहिले मधेसमा छौं, नेपालीमा किन बोल्ने भन्ने

चन्द्रौटादेखि परासीसम्म एक किसिमको सेन्टीमेन्ट छ, त्यहाँदेखि यता पर्सादेखि इनरुवा नपुग्दासम्म अर्कोखालको सेन्टिमेन्ट छ । त्यहाँ हामीले चाहेर पनि वा नचाहेर पनि एक किसिमको साम्प्रदायिक हिसाबले पनि हेरिँदोरहेछ । सम्प्रदायपिच्छेको फरक दृष्टिकोण रहेछन् ।

हुलाकी बेल्टमा हिँड्दा हामीले के देख्यौं भने त्यहाँ मधेसी समुदायमा मध्यमवर्ग उदाउँदो छ । रेमिटेन्सका कारणले पनि हुन सक्छ । जहाँ जहाँ मध्यमवर्गको संख्या बढी छ, त्यहाँ त्यहाँ असन्तुष्टि पनि बढी हुँदोरहेछ क्या । पहिला जुन कुराहरु स्वीकार्य हुन्थे, पछि तिनै कुराहरु अस्वीकार्य लाग्न थाल्छन् । हामी पछाडि परेका छौं, हामीलाई ऐतिहासिक रुपमा अन्याय भयो भन्नेदेखि लिएर संविधान, कानूनका विषयहरुमा चासो पनि हुँदोरहेछ र असन्तुष्टि पनि मध्यम वर्गमा हुँदोरहेछ ।

मलाई लाग्छ काठमाडौंले बुझ्न नसकेको पनि यही पक्ष हो । उदाउँदो मध्यम वर्गको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा नै अहिलेको महत्वपूर्ण समस्या हो ।

तल्लो वर्गको मान्छेको भूमिकाका विषयमा कुरा गर्दा कस्तो रहेछ भने मधेस आन्दोलनका क्रममा कसैन कसैले चिनेको, कुनै न कुनै व्यक्ति घाइते भएको छ र कसैको परिवारले ज्यान गुमाएको छ । सबैभन्दा ठूलो मर्का पनि आन्दोलन गर्दा यही तल्लो वर्गको जनतालाई नै परेको छ ।

त्यो वर्गलाई ठूलो धर्म संकट छ र दमनले गर्दा राज्यप्रति पनि चर्को आक्रोश छ । त्यहाँ गाउँगाउँमा ‘कम्युनिटी फिडिङ’ पनि धेरै बलियो छ । यो आन्दोलन तलैसम्म राजनीतिप्रति चासो राख्न मानिसहरुलाई बाध्य बनाएको देखियो ।

कतै फूलमाला, कतै सुराकीको शंका !

Ishan (1)
प्रायः ठाउँमा हाम्रो म्यासेज कस्तो थियो भने तराई मधेसलाई सम्मान गरौं । समतलवासीको आवाज सुनौं अनि स्वदेश बुझ्ने संकल्प लिऔं भनेर विभिन्न भाषामा लेखिएका पर्चाहरु बाँड्दै हिँडेका थियौं ।

यस्तो सन्देश देखेर चियापसमा भेटिएका राजनीतिक र समाजसेवामा लागेका धेरै मान्छेहरुले हामीलाई धेरै राम्रो स्वागत गरे । कसैले फूलमाला लगाइदिए । कसैले खाजा दिए । कतिपय ठाउँमा खाना खाएको पैसै तिर्नुपरेन ।

उनीहरु भने- ‘हामीले त भन्दैथियौं, पहाडका मान्छेहरु हाम्रो विरुद्धमा छैनन्, हाम्रो लडाइँ सिंहदरबारसँग हो । राज्यसँगको हो । हामीलाई पहाड र काठमाडौंबाट पनि साथ दिने मान्छेहरु रहेछन् ।’

यो आन्दोलनमा मधेसी मोर्चाको एउटा सकारात्मक पाटो चाँहि के लाग्यो भने आन्दोलनका क्रममा मधेसमा बस्ने पहाडिया भए पनि, मुस्लिम वा दलित भए पनि सबै काठमाडौंबाट ठगिएका छौं भन्ने रहेछ । जनसंख्याका आधारमा यो प्रदेश बलियो भयो भने हामी सबैलाई फाइदा हुन्छ भन्ने रहेछ ।

आन्दोलनका क्रममा गीतहरु र भाषणहरुमा त्यो किसिमको प्रचार गरिएको रहेछ, त्यसले हामीलाई सहज महसुस भयो ।
तर, त्यति हुँदाहुँदै पनि एकप्रकारको तिक्तताचाँहि छ । गाउँ-गाउँमा तपाईहरुलाई कसले दुःख दियो भन्दा पहाडिया पुलिसले दुख दियो भन्छन् । पहाडिया प्रशासनले दुःख दियो, पहाडिया सरकारले दुःख दियो भन्छन् । यसो भन्दा-भन्दा कता-कता समुदायको सेन्टिमेन्ट त बिग्रने नै भयो ।

हाम्रो यात्रामा कतै-कतै अप्ठयारो पनि परेको थियो । कतिपय ठाउँमा नेपालीमा कुरा गर्नै नमानिदिने । हुन त कुनै बेल्टमा पाँच जनासँग कुरा गर्दा दुईजनालाई नेपाली बोल्न राम्रोसँगै आउँदैनथ्यो । कसैले अवधि, कसैले थारु, कसैले भोजपुरी, कसैले मैथिली त कसैले डोटेली भाषा बोल्थे । खासगरी बूढाबूढीमा यो समस्या थियो ।

हामीसँग अन्तर-सामुदायिक कम्युनिकेसन नै छैन । धेरै मानिसहरुको गुनासो के थियो भने हामीवीच अन्तरक्रिया नै छैन, अन्तरक्रिया पुलिसँगमात्रै हुन्छ

तर, स्कुल पढेका युवाहरु पनि आन्दोलनले गर्दा आजित भएर हुनुपर्छ, नेपाली बोल्न सक्ने भए पनि नेपालीमा कुरै गर्न मानेनन् । पर्चा लिन नमान्ने, नेपालीमा जवाफ फर्काउन नमान्ने । हामी अहिले मधेसमा छौं, नेपालीमा किन बोल्ने भन्ने । तर, त्यो कम भयो । स्वागतचाँहि बढी भयो ।

कतिपय मान्छेहरुले हामीलाई सरकारको जासुस हो कि भन्ने आशंका पनि गरे । तर, उनीहरुको त्यस्तो आशंका स्वाभाविकै पनि हो । कतिपय ठाउँमा कम्युनिकेशन ग्याप पनि छ । कतिपय ठाउँमा एकल समुदायमात्रै बस्छ । १५ /२० किलोमिटर टाढासम्म अर्को समुदायको बसोबास नै हुँदैन । त्यस्तो धेरै ठाउँमा रहेछ । त्यस्तो ठाउँमा अलिकति गोरो छाला भएको पहाडिया मान्छे किन आयो ? हामीसँग जासुसी गर्न सरकारले पठायो कि ? हामीमाथि यस्तो शंका हुनु अनौठो पनि मानिँन । किनभने त्यहाँको मान्छे काठमाडौं या जिल्ला सदरमुकाममा आउनुपर्छ, तर यताको मान्छे त्यहाँ जाने कामै पर्दैन र गयो भने अनौठै हुन्छ ।

हाम्रा साथीभाइको देश घुमाइ पनि कस्तो हुन्छ भने मनकामना, मनाङ मुस्ताङ । बढी नै गयो भने सौराहा । त्यो भन्दा अर्को ठाउँमा गएकै हुँदैन र जानुपर्ने काम पनि पर्दैन । मिस अण्डरस्ट्याण्डिङको मुख्य कारण पनि यही हो जस्तो लाग्यो । वरिपरि पहाडे समुदायको मान्छे नदेखेपछि त देख्दा नराम्रो शंका गर्नु स्वाभाविकै हो ।

हामीसँग अन्तर-सामुदायिक कम्युनिकेसन नै छैन । धेरै मानिसहरुको गुनासो के थियो भने हामीवीच अन्तरक्रिया नै छैन, अन्तरक्रिया पुलिसँगमात्रै हुन्छ, तर पुलिसले यस्तो दमन गरेको छ । प्रशासनमा पनि त्यस्तै खालका मान्छे हुन्छन् ।

समाज आफू इमान्दार हुन नसकेकाले मधेसी समुदायले हारै खाएको हो कि जस्तो पनि लाग्यो मलाई । काठमाडौका मान्छेसँग मिलेर, राज्यसँग मिलेर अगाडि बढ्न खोज्दा हाम्रा आकांक्षाहरु पूरा हुँदैनन्, त्यही भएर एउटा बलियो स्वायत्त युनिट वा प्रदेश खोजेर राज्यमा सक्रिय उपस्थिति जनाउन खोजिरहेको सामुहिक मानसिकता त्यहाँ छ जस्तो लाग्यो । मिलेर जान खोज्यौं भने बाँडेर खाने चलन छैन, अब छिनेर हाम्रो भाग लिनुपर्‍यो भन्न खोजेको जस्तो देखियो ।

सिके राउतको उपस्थिति

जहाँसम्म विखण्डनको सम्भावनाको कुरा छ, मलाई थाहा छैन र मैले धेरै जानेको छैन, मेरो उमेर पनि कम छ । धेरै मान्छेहरुसँग हामीले कुरा गर्दाखेरि, जहाँ आन्दोलन चर्किएको छ, मानिसहरुको ज्यान गएको छ, बेथरीजस्तो ठाउँमा, परासीजस्तो ठाउँमा सिके राउतको उपस्थिति पनि एकदमै छ ।

बेथरीजस्तो ठाउँमा, परासीजस्तो ठाउँमा सिके राउतको उपस्थिति पनि एकदमै छ

जहाँ-जहाँ मान्छेहरु मरेका छन्, त्यहाँ नाराहरुबाट पनि ‘भिजिबल’ उपस्थिति देखिन्छ । नेपाल सरकार मेटाउने अभियान पनि चलेको देखियो । मान्छेहरुमा पनि त्यो प्रकारको सेन्टिमेन्ट र भिजिबिलिटी देख्न सकिन्थ्यो । धेरै मानिसहरुले हामीलाई यो खतरा चाँहि औंल्याए ।
आन्दोलनमा सक्रिय भएर लागेका तीन/चारजनामध्ये एकजनाले चाँहि त्यो कुरा निकालिहाल्थ्यो । हामी काठमाडौंका मान्छेलाई सुनाउन भनेका हुन् कि, फस्टेसनले भनेका हुन् कि, तर त्यो किसिमको कुरा मान्छेहरुको दिमागमा कतै न कतै परेको छ ।

पहिला भएका जस्ता एउटा दुईवटा ठूला घटना भए भने त्यो कुरालाई संगठितरुपमा ल्याउने खालको योजनाचाहिँ बन्दैछ जस्तो बुझ्न सकिन्छ । हामीले जति त्योबाट पर छौं भनेर सोचेका छौं, त्योभन्दा परचाँहि छैनौं ।

मधेसमा विभेद छ कि छैन ?

म काठमाडौंमा जन्मे हुर्केको मान्छे हुँ, स्कुलमा हुँदा हामीले मधेसी साथीभाइलाई कस्तो व्यवहार गथ्र्यौं ? कुन किसिमले होच्याउँथ्यौं ?

तराई-मधेसमा राज्यको उपस्थिति त न्यून नै रहेछ । राज्य भनेको त समाजले बनाउने हो । समाज भनेको व्यक्तिहरुको व्यवहारले बनाउने हो । त्यसैले व्यवहारिक समस्या पनि छ जस्तो लाग्छ ।

जस्तो- म काठमाडौंमा जन्मे हुर्केको मान्छे हुँ, स्कुलमा हुँदा हामीले मधेसी साथीभाइलाई कस्तो व्यवहार गथ्र्यौं ? कुन किसिमले होच्याउँथ्यौं ?

यो विभेदपूर्ण व्यवहार मैले काठमाडौंमा फस्ट ह्याण्ड नै देखेको हुँ । त्यसैले सामाजिकरुपमा विभेद छैन भन्न सक्दिँन ।

मैले स्कुलमा हुँदा कति मधेसी साथीहरुलाई नराम्रो व्यवहार गरेको थाहा नै छ । पछि गएर मात्रै थाहा भयो कि पछि गएर यसको कतिसम्म लामो प्रभाव हुँदोरहेछ । र, उसलाई कति नराम्रो पर्‍यो होला । व्यक्तिमा यस्तो सोचाइ भएपछि व्यक्ति व्यवस्थामा प्रवेश गर्छ र व्यस्तामा त्यस्तो सोच भएका व्यक्तिहरु भएपछि विभेद त स्वतः हुने नै भयो । किनभने हाम्रो समाज आफ्नो मान्छेको भरमा चल्छ ।

मैले अघि पनि भनें, जसलाई गरीखानै समस्या परिराखेको छ र दुईछाक टार्नै धौधौ भइराखेको छ, उसलाई यो कुराको कुनै मतलव हुँदैन । तर, सम्वृद्धिले यो समस्या समाधान हुन्छ भनेर कतिपय मान्छेले तर्क गर्छन्, तर सम्वृद्धिले यसलाई झन सतहमा ल्याउँदोरहेछ । किनभने सम्वृद्धिसँगै मानिसहरुमा आत्मसम्मानको आकांक्षा पनि आउँछ । आफ्नो अस्थित्वलाई राज्यले पहिचान गर्नुपर्छ भन्ने कुरा पनि आउँछ ।

त्यसैले राज्यको आफ्नो पुरानै जुन व्यवहार छ, त्यसले मधेसी समुदायको आकांक्षालाई राम्ररी सम्बोधन गर्न नसकेको जस्तो मलाई लाग्यो ।

हामी जस्ताले राज्यलाई के सुझाव दिनु ?

चित्तबुझ्दो ढंगले मधेसलाई सम्बोधन गर्न सकिएन र सम्मानको अनुभूति दिन सकिएन भने अलि अप्ठयारै परिस्थितिमा जान्छ

राज्यलाई हामीजस्तो मान्छेले के सुझाव दिने ? राज्यले सबैकुरा बुझेकै छ । सरकारले सबै कुरा बुझेकै छ । अहिले मलाई सबैभन्दा डर लागेको चाँहि के हो भने खेल्दाखेल्दै, जिस्कँदा जिस्कँदै हामीले जुन किसिमको काम गरिरहेका छौं, त्यो चाँहि ठीक भएन ।

जिस्किँदा जिस्किँदै भोलि ४/५ वटा जिल्लाले छुट्टिने आह्वान गर्‍यो भने पनि साह्रै नरमाइलो हुन्छ । त्यतातिर जाँदाखेरि सजिलोसँग जाँदैन, हिंसा होला, प्रतिहिंसा होला । साम्प्रदायिक कुराहरु आउलान् । त्यो हिसाबले सचेत भएर राज्यले चाँडोभन्दा चाँडो यो समस्यालाई समाधान गर्नुपर्‍यो ।

मधेसी जनतालाई सम्मानको अनुभूत हुने गरेर समस्या समाधान हुनुपर्‍यो । मधेसी जनताको सम्मानको कुरा गर्दा विगतमा सर्वोच्च अदालतले मिथिला भाषालाई सरकारी मान्यता दिएको भए यो अवस्था आउने थिएन । लिएको भए मधेसलाई सम्मान अनुभूत हुन्थ्यो । अब त्यो चरणभन्दा हामी धेरै अगाडि आइसकेका छौं । अहिले पनि चित्तबुझ्दो ढंगले मधेसलाई सम्बोधन गर्न सकिएन र सम्मानको अनुभूति दिन सकिएन भने अलि अप्ठयारै परिस्थितिमा जान्छ ।

जनता सम्वृद्ध भएका छन् । स्कुल जान थालेपछि कुरा बुझ्ने भएका छन् । कुराहरु आफ्नो स्वार्थ अनुरुप व्याख्या गर्न थाल्छन् । यस्तो भएपछि मधेसी समुदायमा जे देखिरहेका छौं, विस्तारै थार समुदायमा पनि राजनीतिक जागरण बढ्दै गइरहेको छ । भोलि मधेसका दलित र पिछडा वर्गमा पनि यो किसिमको चेतना बढ्दै जान्छ । त्यो बेलामा अहिले भन्दा पनि दूरी बढ्छ र माग पनि अझ ठूलो खालको हुन्छ । त्यसैले राज्यले साँच्चै देशको हितलाई सोच्ने हो भने अलि उदार ढंगले अहिले नै समाधान गर्‍यो भने राम्रो हुन्छ जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment