१ वैशाख, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न माग राखेर सडक आन्दोलनमा उत्रेकाहरुलाई आन्दोलन छाडेर विकास अभियानमा संलग्न हुन आह्वान गरेका छन् । उनले ‘कालो टालो’ हल्लाउन छाडेर राष्ट्रको झण्डा बोक्न उनीहरुलाई आग्रह गरे ।
पोखरा विमानस्थलको बुधबार पोखरामा सिलान्यास गर्दै प्रधानन्त्रीले यस्तो आग्रह गरेका हुन् । तराईमा आन्दोलन गर्ने चेतावनी दिइरहेका दलहरुलाई लक्षित गर्दै उनले भने, ‘अब आन्दोलन केका लागि ? बरु बाटो बनाउन, स्कुल बनाउन, हस्पिटल, एयरपोर्ट बनाउन साथ दिनुस । एउटा कपडाको टुक्रो बोकेको छ, चार जना उफ्रेको छ, वातावरण विगारेको छ । अब यसको अर्थ छैन ।’
विमानस्थल बन्न लागेकोमा पोखरेली जनतालाई बधाई दिँदै प्रधानमन्त्रीले यस ठाउँको विकास अगाडि बढ्ने भरपर्दो आधार अगाडि बढेको बताए । उनले भने, ‘म प्रधानमन्त्री भएको सुन्नेबित्तिकै अब पोखरा एयरपोर्ट बन्छ भन्ने तपाईंहरुलाई लागेको थियो होला । अवश्य लागेको हुनुपर्छ । कसैलाई लागेको थिएन भने अब लाग्ने छ ।’
प्रधानमन्त्रीले अबको चार वर्षभित्र बिमानस्थल तयार हुने बताए । उनले भने, ‘म २०७७ सालको वैशाखमा विमानस्थल उद्घाटन समारोहमा सामेल हुन सक्छु ।’ ओलीले निर्धारित समयमा नै निर्माण पुरा गर्न चिनियाँ निर्माण कम्पनीलाई आग्रह गर्दै सरकार र राजनीतिक दलहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
पोखरा चुम्बक हो, यसको रुप फेरिन्छ
प्रधानमन्त्री ओली र पोखरा र पोखरेली जनताको तारिफमा निकै शब्द खर्चिए । पोखरालाई उनले चुम्बकको संज्ञा दिदै उनले भने, ‘यस्तो चुम्बक, जसले धर्तिको जुनसुकै कुनाका मानिसलाई तान्न सक्छ । तर यसलाई हामीले अहिलेसम्म छोपेर, लुकाएर राखेका थियौं । आज बल्ल अनावरण गरेका छौं । अब यसले रुप फेर्छ ।’
‘मान्छेले अनुमान गरेका छैनन्, कति छिटो काम हुन्छ,’ उनले अझै हौसिएर भने, ‘तपाईंहरु हेर्दै जानुस । छक्क पर्नुहुन्छ । यो ठाउँलाई राम्ररी हेरिहाल्नुस । इतिहासमा यस्तो अब कहिले पनि देखिनेछैन । मान्छे आइपुग्दा नेपालमै त छु भन्ने जस्तो ठाउँ हुनेछ । यो सरकारको संकल्प हो । राजनीतिक पार्टीहरुको संकल्प हो ।’
सरकारले काम देखाउनका लागि मात्रै एयरपोर्ट सिलान्यास नगरेको प्रधानमन्त्रीले उल्लेख गरे । उनले भने, ‘यो देखाउनका लागि होइन, बनाउनका लागि गरिएको सिलान्यास हो । चार वर्षभित्र एयरपोर्ट तयार हुन्छ । तर, एयरपोर्ट मात्रै होइन । अरु पनि थुप्रै विकासका योजना आउदै छन् ।’
‘हाम्रो ४० वर्ष सपना देख्दै ब्यूझिदै गरेर बित्यो । काम गर्ने हो भने कसरी देशको मुहार फेरिन्छ अब हेर्नुस,’ उनले भने ।
ओलीले पोखरा मात्रै नभएर सिंगो क्षेत्र नम्बर ४ ले रुप फेर्ने बताए । उनले भने, ‘लुम्बिनी बिमानस्थल तीव्रताका साथ अघि बढेको छ । निजगढ विमानस्थल पनि बन्छ । हुलाकी राजमार्ग, पुर्वपश्चिम रेल लगायत काम अघि बढिरहेका छन् । केरुङ-काठमाडौं, काठमाडौं -पोखरा, पोखरा-लुम्बिनी रेलमार्ग पनि बन्नेछ । त्यसका लागि चाँडै सर्भे गर्दैछौं ।’
सर्वसाधारण जनताको लगानीमा ठूलो जलविद्युत आयोजना सुरु गर्ने सरकारले विचार गरिरहेको ओलीले बताए । नेपालमा २६-२७ प्रतिशत विद्युत चुहावट भइरहेको भन्दै उनले वैशाखको महिनालाई चुहावट नियन्त्रण महिनाका रुपमा सरकारले अभियान सञ्चालन गर्ने उल्लेख गरे । अब आउने बजेट पनि कर्मकाण्डी नहुने प्रधानमन्त्रीले बताए ।
‘हामी चाँडै नयाँ नीति-कार्यक्रम र बजेट ल्याउदैछौं । तर यो कर्मकाण्ड पुर्याउन होइन, प्रशासन चलाउन होइन । वाषिर्क आयव्ययको अनुमान गर्न होइन । विकास अभियानको संवाहकका रुपमा बजेटलाई प्रस्तुत गर्दैछांै,’ उनले भने ।
‘मेरो कामले सबैलाई यही पार्टीलाई भोट दिउँ जस्तो लाग्ला । तर, मैले भोट मागेको होइन । काम मिलेर गरौं विकास मिलेर गरौं भन्न खोजेको मात्रै हो,’ उनले प्रष्ट्याए ।
पोखराको ऋण ब्याजसहित तिर्ने
प्रधानमन्त्रीले पोखरा आउँदा आफू पोखरेलीजस्तो महसुस हुने गरेको उल्लेख गरे । ३० वर्षजति अगाडि म पोखरामा ३ वर्षसम्म बसेको भन्दै उनले भने, ‘पोखराको पानी पिएको छु । थुप्रै ठाउँ घुमेको छु । मलाई पोखरामा थुप्रै दाजुभाई दिदीबहिनीले असाधारण माया गर्नुभएको छ । पोखराप्रति म ऋणि छु । त्यो ऋण प्रधानमन्त्री भएका बेला ब्याजसमेत फर्काउने मन छ । मलाई विश्वास छ, राम्रै ब्याज सहित ऋण चुक्ता गर्न सक्छु । असाधारण पर्यटकीय स्थल र गन्तव्यको रुपमा पोखराको विकास गर्नु नै मेरो ध्यय हुनेछ ।’
नयाँ वर्ष २०७३ सालको पहिलो दिन राम्रो कामबाट सुरुभएको भन्दै उनले भने, ‘नयाँ वर्षको पहिलो दिन हामीले ‘रन वे’ सिलान्यास गरेका छौं । यसको लाक्षेणिक अर्थ हो, नेपाल अब रन वेमा गएको छ । अब यसलाई कुनै वाधा-अवरोधले रोक्न सक्दैन । विकास रोक्ने खालका कुनै कुराहरु सरकारले गर्न दिने छैन ।’
प्रतिक्रिया 4