Comments Add Comment

विकास साझेदारबाट भित्रियो एक खर्ब १३ अर्ब वैदेशिक सहायता

MOF 810

१२ वैशाख, काठमाडौं । नेपालमा गत आर्थिक वर्षमा एक अर्ब १३ करोड अमेरिकी डलर (करिव १ खर्ब १३ अर्ब) रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा केही बढी हो । अघिल्लो वर्ष एक अर्ब तीन करोड डलर सहायता प्राप्त भएको थियो ।

अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको वैदेशिक सहायता प्रतिवेदन अनुसार विभिन्न जिल्लामा संचालित अनुदानका सहायताका २३४, प्राविधिक सहायताका १६५ र ऋण सहयाताका ४३ वटा परियोजनाका लागि उक्त रकम भित्रिएको हो । नेपालमा भित्रिएको सहायतामध्ये १० प्रतिशत सहायता अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले दिएका हुन् ।

वैदेशिक सहायतामा अनुदानको अंश ५८ प्रतिशत, ऋणको अंश २४ प्रतिशत र प्राविधिक सहायताको अंश १८ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयले गत वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा अनुदानको अंश घटेको तथा ऋणको अंश बढेको जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी सहायता विश्व बैंकबाट आएको छ । वहुपक्षीय विकास साझेदारमध्ये विश्व बैंकले गत वर्ष १८ करोड ८१ लाख २२ हजार डलर तथा एसियाली विकास बैंकबाट १४ करोड ७८ लाख ९० हजार डलर सहयोग गरेका छन् ।

यसैगरी, द्विपक्षीय साझेदारमध्येमा बेलायतले सबैभन्दा धेरै १६ करोड ८० लाख ७० हजार डलर बराबरको सहयोग गरेको छ । नेपाललाई धेरै सहयोग गर्ने द्विपक्षीय साझेदारको सूचीमा बेलायतपछि युएसआइडी, जापान, चीन र स्वीजरल्याण्ड रहेका छन् ।

पाँच वर्षयताको तथ्यांकअनुसार विश्व बैंक समूह, एसियाली विकास बैंक, भारत, जापान र युरोपियन युनियनले सहायता घटाएका छन् भने बेलायत र युएसआइडीले बढाएका छन् । युएसआइडी यसपटक १३ करोड २३ लाख ७० हजार अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराएको छ ।

विकास साझेदारहरुले सबैभन्दा बढी सहयोग स्वास्थ्य क्षेत्रमा गरेका छन् । स्वास्थ्य क्षेत्रमा गत वर्ष १७ करोड ७७ लाख ४० करोड अमेरिकी डलर बराबरको सहायता भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ । स्वास्थ्य क्षेत्रले लिएको सहायता कुल वैदेशिक सहायताको १७ दशमलव ४१ प्रतिशत हो ।

अघिल्लो वर्ष शिक्षा क्षेत्रमा सबैभन्दा बढी सहायता भित्रिएको थियो । तर यसपटक शिक्षा क्षेत्रलाई स्थानीय विकासले समेत पछाडि पारेको छ । स्थानीय विकासको क्षेत्रमा १२ करोड ४९ लाख तथा शिक्षा क्षेत्रमा ११ करोड ३६ लाख ८० हजार अमेरिकी डलर सहायता भित्रिएको अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment