+
+

मेलम्ची बजारको ढल सिधै मिसाउँदा इन्द्रावती प्रदूषित

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते ९:१५

melemchi_river२२ वैशाख, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध इन्द्रावती नदी बजारबाट उत्पन्न हुने फोहर तथा ढल सिधै नदीमा मिसाउँदा व्यापक रुपमा प्रदूषित हुने क्रम बढ्दो छ ।

फोहरजन्य पदार्थ सिधै नदीमा मिसाउने क्रम तीव्र भइरहँदा त्यसको पवित्रतामा ठूलो आँच पुगेको छ । खुला बजार क्षेत्र विकासका कारणले उत्पन्न हुने ढल सिधै खोलामा मिसाउनाले नदीको बगरमा व्यापकरुपमा गिट्टी बालुवा झिक्नाले र खोलामा माछा मार्नका लागि विभिन्न किसिमका विषादी प्रयोग गर्नाले इन्द्रावती नदी प्रदूषित हुँदै गएको मेलम्ची नगरपालिका स्थानीय लेखनाथ खतिवडाले बताए ।

अव्यस्थित बजार क्षेत्र विकासका कारणले जिल्लाको उत्तरी गाविस हेलम्बु हुँदै बग्ने मेलम्ची खोला र अर्काेतर्फ जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र पाँचपोखरी हुँदै बग्ने इन्द्रावती खोलामा तिम्बु, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्ची, बाहुनेपाटी, सिपाघाटका ढल सिधै खोलामा निकास हुन्छ भने अर्काेतर्फ तिपेनीजस्ता बजार क्षेत्रका ढल पनि सिधै खोलामा निकास गर्ने गरेको उनले बताए ।

इन्द्रावती नदीमा प्रदूषण बढ्दै गएका कारण काठमाडौँ उपत्यका तथा अन्य ठाउँबाट भ्रमण, पिकनिक तथा मनोरञ्जन गर्न आउने पर्यटकमाथि समेत असर पुगेकाले पर्यटकमा कमी भएको मेलम्ची नगरका युवा धीरेन गुरुङले बताए ।

बढ्दो नदी प्रदूषण रोेक्नका लागि उहाँले सम्पूर्ण नगरबासिन्दा तथा युवाले समेत ध्यान दिनुपर्ने बताउनुभयो । नदी स्वच्छ र सफा राख्नका लागि सम्बन्धित प्रशासनले नियमसहितको नदी संरक्षण र तथा व्यवस्थापनका लागि छिटोभन्दा छिटो ध्यान दिनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

यसरी खोला छेउछाउमा बस्दै आएका माझी समुदायमा उक्त प्रदूषणबाट ठूलो असर पुगेको र प्रदूषण नियन्त्रण नगरे यसले विभिन्न किसिमका रोग तथा वातावरणमा प्रतिकूल असर परेको स्थानीय माझी समुदायका अगुवा पूर्ण माझीले बताए ।

मेलम्ची बजार क्षेत्रमा खुलेका दर्जनौँ होटेलले उत्पादन गर्ने फोहर र ढल खुल्लमखुल्ला सिधै नदीमा लगेर छोडीदिएको भए पनि यस सम्बन्धमा मेलम्ची नगरपालिकाले हालसम्म पनि कुनै मापदण्ड बनाएको छैन ।

नदी किनारमा खुलेका विभिन्न होटल र रिसोर्टले पनि नदीमा प्रदूषण बढाएका छन् । यस विषयमा सरकारी कार्यालयले समेत ढल व्यवस्थापनको उचित प्रबन्ध नगर्नाले नदी प्रदूषण बढेको हो ।

नगरपालिकामा फोहर व्यवस्थापन गर्नका लागि गाडीको व्यवस्था भए तापनि अझै पनि नदीमा फोहर फाल्ने क्रम रोकिएको छैन ।

स्मरणीय रहोस् भूकम्पपछि गाउँका मूल सुकेपछि पानीका लागि सयौँ घरधुरी नदी किनारमा बसाइँ सरेर उक्त फोहर मिसाएको पानी खान बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?