Comments Add Comment

रुपन्देही प्रहरीले पक्राउ गर्‍यो आपराधिक गिरोह

aparadhi

४ जेठ, भैरहवा । रुपन्देही जिल्लालाई केन्द्र बनाएर बिभिन्न अपराधिक गतिविधिमा संग्लग्न एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीले बिभिन्न आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।

लागुपदार्थको कारोबार गर्ने, व्यापारीसँग जबरजस्ती फिरौती उठाउने, ज्यान मार्ने , अपहरण गर्ने जस्ता लगायतका धम्की दिई फिरौती असुल्ने गिरोहलाई प्रहरीले लामो खोज र अनुसन्धान पछि मुलुकको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेहरुमा रुपन्देही देवदह नगरपालिका ७ का २७ बर्षीय शालिकराम चापागाई, नवलपरासी सुनवल नगरपालिका ६ का ३२ बर्षीय सिरिस अजय भन्ने ऋषिराम घिमिरे, कास्की पुरनचौर गाविस ८ का २० बर्षीय सन्जोश नेपाली रहेका छन् ।

त्यस्तै रुपन्देही देवदह नगरपालिका २ का २८ बर्षीय मिलन भन्ने चित्र बहादुर गुरुङ, सोही स्थानका २९ बर्षीय रवि केसी, सोही स्थान वार्ड नम्बर ८ का ३२ बर्षीय राजेन्द्र धमेल, वाड नम्बर ६ का २३ बर्षीय उर्गेन गुरुङ, वार्ड नम्बर १० का २९ बर्षीय बेनिराम सोम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ परेका शालिकराम चापागाईले रुपन्देही देवदह नपा ७ का नारायण बस्नेतसँग फिरौती रकम माग गर्दा बस्नेतले रकम दिन नमानेपछि गत कार्तिक २२ गते बस्नेतलाई गोली हानेर फरार भएका थिए ।

चापागाई यस अघि पनि गत ०७० सालमा एक व्यक्ति माथि गोली हानेको घटनामा पक्राउ परेका थिए । र, सो समयमा उनको साथबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित म्यागजिन र गोली बरामद गरिएको थियो । त्यतिबेला उनी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत रुपन्देहीबाट सफाई पाएपनि हातहातियार खरखजाना मुद्दामा १ लाख रुपैयाँ जरीवना बुझाएर छुटेका थिए ।

त्यस्तै पक्राउ परेका सिरिस अजय भन्ने ऋषिराम घिमिरेले अपराधिक क्रियाकलापका लागि सवारी साधनको व्यवस्था मिलाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । घिमिरे लाई बुटवल ८ स्थित होटल मकालुको कोठा नम्बर १ सय ३ बाट २७ ग्राम लागुऔषध ब्राउन सुगर र फिरौती रकम बापत लिएको १ लाख ३ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

यस्तै पक्राउ परेका अर्का आरोपी सन्जोश नेपालीले पनि विभिन्न फोन नम्बरहरु प्रयोग गरी धम्क्याउने, फिरौती रकम असुल गर्ने र प्राप्त भएको रकम आइएमई कस्टमर कार्ड मार्फत लिई साथीहरुलाई पठाउने गरेका थिए

पक्राउ परेका मिलन भन्ने चित्र बहादुर गुरुङ, राजेन्द्र धमेल, उर्गेन गुरुङ, बेनिराम सोम र रवि केसीले उद्योगी, व्यापारी, व्यवसायी र तिनीहरुको व्यवसाय तथा कारोबारको बारेमा गोप्य सुचना उपलब्ध गराउने, एक अर्का बिच सम्पर्क गराउने, फिरौती असुलीबाट प्राप्त रकम तथा लागुऔषध बेचबिखनबाट प्राप्त रकम बाडेर लिने गरेका थिए । उनीहरु सबै रुपन्देहीबाटै पक्राउ परेका हुन् ।

पक्राउ परेका आरोपीहरुको साथबाट लु १६ प ७२९१ र लु १८ प ८७६२ नम्बरको दुई वटा मोटरसाइकल, गोलीको खोका एक थान, पेस्तोलमा प्रयोग हुने गोली २ थान, ऐनसेल कम्पनीको सिमकार्ड २५ थान, एटिसीको सिमकार्ड ४ थान, भारतीय सिमकार्ड २ थान र मोबाइल ११ थान बरामद भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

पक्राउ परेका ८ जना मध्ये ६ जना मागि संगठित अपराध निवारण ऐन २०७० र लागुऔषध (नियन्त्रण) ऐन २०३३ अन्र्तगत मुद्दा दायर गरिने र बाकी २ जना शालिकराम चापागाई र ऋषिराम घिमिरे माथि हात हतियार खरखजना ऐन २०११ र मुलुकी ऐन ज्यान सम्बन्धी महल अन्र्तगत मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment