२० जेठ, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले कुल मतको ४४ प्रतिशत मत पाएको छ । यस्तै नेपाल निजामती कर्मचारी युनियनले ३४ र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) १०.५ प्रतिशत मत पाएका छन् ।
नेपाल मधेसी निजामती मञ्चले भने कुल मतको जम्मा ७ प्रतिशत मत पाएको छ ।
यस अनुसार एमाले निकट कर्मचारी पहिलो, कांग्रेस निकट दोस्रो र माओवादी केन्द्र निकट कर्मचारीले तेस्रो स्थान हासिल गरेका छन् । मधेसी मोर्चा निकट मञ्चको भने धरौटी नै जफत भएको छ अर्थात् आधिकारीक ट्रेड युनियनको केन्द्रीय समितिमा मञ्चको सहभागिता हुनेछैन । मञ्चले देशभर ७ केन्द्रमा भने पहिलो स्थान हात पारेको थियो । तर कुल मतको हिसाब गर्दा १० प्रतिशत मत पाउन सकेन ।
सचिव पद कसलार्इ ?
अब ट्रेड युनियनको पदाधिकारीमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष र कोषाध्यक्ष पद पाउने छ । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले उपाध्यक्ष पद पाउने भएका छन् ।
निजामती ऐन नियममा चार वटा संगठनहरुको परिकल्पना गरिएको छ र चौथो स्थान हासिल गर्नेले सचिव पद पाउने समझदारी गरिएको थियो । तर, चौथो स्थान हासिल गरेको मधेसी निजामती मञ्चले १० प्रतिशत मत पाउन नसकेकाले अब उसको प्रतिनिधित्व कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनमा रहने छैन ।
सचिव पद पनि प्रमुख तीन संगठनहरुमध्ये कुनै एकलाई दिने तयारी गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठनका नेता प्रवासप्रसाद साहले के गर्ने भनेर अब प्रमुख संगठनहरुबीच छलफल हुने बताए ।
राष्ट्रपतिदेखि प्रधानमन्त्री कार्यालयसम्म एमाले कर्मचारीको बर्चश्व
देशको प्रमुख निकायहरु राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एमाले निकट कर्मचारीहरुको वर्चस्व देखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भने कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) विजयी भएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको भने प्रमुख निकायहरुमा प्रभाव देखिएको छैन । महिला आयोगमा भने माओवादी निकट कर्मचारी संगठन विजयी भएको छ ।
स्थानीय विकास, शहरी विकास र उर्जा मन्त्रालयमा नेपाल निजामती कर्मचारी संगठन विजयी भएको छ ।
प्रतिक्रिया 4