+
+

पोल्याण्ड भर्सेस पोर्चुगलः रोनाल्डोलाई उत्कृष्ट सावित गर्ने मौका

बिहीबार राति १२ः ४५ बजे

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १६ गते १३:०७

Portugal

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले सन्यास लिएपछि पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई आज हुने पोल्याण्डबिरुद्धको युरोकप क्वार्टरफाइनल खेलमा आफू उत्कृष्ट रहेको प्रमाणित गर्न मौका मिलेको छ ।

रियल मडि्रडका ३१ बर्षीय फरवार्ड रोनाल्डोलाई राम्रोसँग थाहा छ कि आफ्नो ‘ट्रफी क्याविनेट’ मा एक अन्तर्राष्ट्रिय उपलब्धिपनि थप्न पाएमा उनी विश्वकै सर्वकालिन महान खेलाडीको लागि प्रमुख दावेदार हुने थिए ।

आज राति पौने १ बजे फ्रान्सको मार्सेलीबाट क्वार्टरफाइनल चरणका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा पोल्याण्ड र पोर्चुगल आमने सामने हुँदा पोल्याण्ड उसका सुपरस्टार रोवर्ट लोवान्डोस्कीको गुमेको लय फर्कने प्रतीक्षा गरिरहेको छ । लेवान्डोस्की युरोमा अहिलेसम्म गोलबिहीन छन् तर, टोली उनको प्रेरणामा राम्रो प्रदर्शन गरिरहेको छ ।

स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै पोल्याण्ड युरोकपको अन्तिम आठमा आइपुगेको हो । यता पोर्चुगल भने रिकार्डो क्वारेस्माले अतिरिक्त समयमा गरेको गोलको सहयोगमा क्रोएशियालाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।

प्हिलो क्वार्टरफाइनलमा मार्सेलीमा खेल्न लागेका यो खेलको विजेताले सेमिफाइनलमा वेल्स र बेल्जियमको विजेतासँग खेल्नेछ । युरोकपको यसअघिका ६ संस्करणमा सहभागिता जनाएको पोल्याण्ड क्वार्टरफाइनलमा पुगेको यो पहिलो पटक हो ।

पोलिस स्टार लेवान्डोस्की लगातार सात खेलमा गोलबिहीन छन् । पोर्चुगलबिरुद्धको खेल आफ्नो पक्षमा पार्न जर्मन च्याम्पियन बार्यन म्युनिखका यी सुपरस्टार चम्किनु जरुरी छ ।

पोर्चुगलका प्रशिक्षक फर्नाण्डो सान्तोसले खेलको नतिजा ५०-५० रहने प्रतिक्रिया दिएका छन् । रोचक पक्ष के छ भने पोर्चुगलले युरोको पछिल्लो पाँच नकआउट चरणको खेलमा निर्धारित समयमा बराबरी खेलेको छ ।

यी दुईले अहिलेसम्म १० पटक आमने सामने भएकोमा ४ खेल पोर्चुगल र ३ खेल पोल्याण्डले जितेका छन् भने ३ खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक सन् २०१२ मा भएको मैत्रिपूर्ण खेल गोलरहित बरबरीमा सकिएको थियो । पछिल्लो १० खेलमा पोर्चुगलले २ हार र ३ बराबरी खेलेको छ भने ५ खेलमा जित निकालेको छ । यता पोल्याण्डले भने ६ खेल जितेको छ, ३ खेलमा बराबरी गरेको छ भने १ खेलमात्र हारेको छ ।

पोर्चुगलका लागि फ्रान्सको मार्सेलीको मैदान अनुकुल भने छैन । यसअघि सन् १९८४ को युरोकपमा दुई खेल उसले यही मैदानमा खेलेको थियो तर, दुवैमा जित निकाल्न सकेको थिएन । स्पेनसँग भएको खेल १-१ को बराबरीमा सकिएको थियो भने सेमिफाइनलमा फ्रान्ससँग ३-२ गोलले पराजित भएको थियो ।

के भन्छन् प्रशिक्षक ?

एडम नावाल्का, पोल्याण्ड

मेरो बिचारमा हामीले प्रमाणित गर्नुछ कि हामी सक्षम छौं तर हेरौं खेलमा के हुन्छ । हामीलाई थाहा छ कि हामी अघिल्लो चरणको दावेदार हौं । हामी प्रतियोगितामा अहिलेसम्मको यात्राका लागि आश्चर्यचकित पनि छैनौं । हामीले राम्रो प्रगति गरेका छौं र आजको खेलमा पनि उच्चस्तरको फुटबलको अपेक्षा गरेको छु ।

पोर्चुगल अग्रपंक्ति र रक्षापं्रक्तिमा उत्तिकै शशक्त टोली हो । यो कुरा स्पष्ट छ कि उनीहरुले बल पोजिसन आफ्नो नियन्त्रणमा लिए भने हाम्रो लागि सबैभन्दा खतरा त्यही हुनेछ । मेरो बिचारमा यो निक्कै कठिन खेल हुनेछ तर, हाम्रो रणनीति अनुसार त्यसलाई नियन्त्रणमा लिनेछौं ।

रोवर्ट लेवान्डोस्की हाम्रो सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । उनको प्रदर्शनपनि कप्तानको रुपमा निक्कै महत्वपूर्ण छ । उनी शारीरिक र मानसिक रुपमा सवल छन् र उनले टोलीका लागि उत्कृष्ट भूमिका निभाएका छन् ।

फर्नाण्डो सान्तोष, पोर्चुगल

म गि्रसको प्रशिक्षक रहँदा २०१२ को युरोको पहिलो खेल हामी -गि्रस) ले पोल्याण्डसँग खेलेको थियो । तर आजको खेलभने त्यतिबेलासँग तुलना हुनै सक्दैन । मेरा समकक्षीले पोल्याण्ड सेमिफाइनलमा जान्छ भन्नुहुन्छ, म हामी जान्छौं भन्छु । किनभने यो खेलमा कुनै दावेदार छैन । यो फिप्टी फिप्टी छ ।

सबैजना क्रिष्टियानो रोनाल्डोको कुरा गर्नुहुन्छ र त्यसको कारण पनि छ । उनी एक अद्भुद खेलाडी हुन् । यहाँ १०० भन्दा बढि खेलाडी छन् तर हरेक दिन उनीहरुको चर्चा गरिँदैन । तर रोनाल्डो, लेवाण्डोस्की जस्ता खेलाडीको भने चर्चा भइरहन्छ । त्यसलाई कसरी व्यवहार गर्नुपर्छ रोनाल्डोलाई राम्रोसँग थाहा छ ।

हाम्रो सन्तुलित खेल खेल्छौं । यसको अर्थ पोल्याण्ड हामीले यसअघि खेलेका टोलीहरुभन्दा कमजोर छ भन्ने होइन । उनीहरु रणनीतिक रुपमा अव्वल छन् । हामी उनीहरुको कमजोर पक्षमा टेकेर फाइदा लिने प्रयासमा हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?