Comments Add Comment

२५ हजार पाउँदा राष्ट्रकवि हर्षित, आफैंले केपी ओलीसँग माग गरेको खुलासा

कवि कलाकारलाई राज्यको सुविधा

अधिकांश सर्जक-कलाकारको गुनासो सुनिने गरेको छ – आफूले योगदान गरेअनुसार राज्यबाट उचित सम्मान पाइएन । तर, पछिल्लो समयमा सरकारले सीमित लेखक-कलाकारलाई भत्ताको सुविधा दिन थालेको छ ।

madhavविसं २०६० सालमा राष्ट्रकविको उपाधि पाएयता माधवप्रसाद घिमिरेले मासिक वृत्ति १५ हजार रुपैयाँ पाउँदै आएका थिए । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले सो रकम बढाउँदै २५ हजार पुर्‍याउने निर्णय गरेको छ ।

घिमिरे भन्छन् थिति बस्यो

भत्ता रकम वृद्धिबारे प्रतिक्रिया माग्दा राष्ट्रकवि घिमिरे उत्साही सुनिए ।

‘भत्ता रकम सरकारले बढाएकोमा स्वाभाविक रुपमा खुसी नै लाग्यो,’ राष्ट्रकविले अनलाइनखबरसँग खुसी बाँड्दै भने – ‘अहिले राष्ट्रकवि म छु, पछि अर्को आउँछ । अहिले भत्ता बढेपछि नयाँ आउनेका लागि पनि थिति बस्यो ।’

लेखकहरु आफ्नो काम र कृतिबाट जीवन निर्वाह गर्न नसक्ने भएकाले उनीहरुलाई राज्यले हेर्नु राम्रो कुरा भएको उनले बताए ।

अरुलाई २५ हजार भत्ता दिने गरिए पनि आफूलाई १५ हजार रुपैयाँ मात्रै दिइँदा राष्ट्रकवि खिन्न थिए । उनले अरुसरह भत्ता रकम बढाउन केही महिनाअघि प्रधानमन्त्री केपी ओलीसँग कुरासमेत गरेका थिए । कवि घिमिरे भन्छन् – ‘प्रक्रिया पूरा गर्दावर्दा बढाउन एक-डेढ महिनाको समय लागेछ । राष्ट्रको हैसियतअनुसार यत्तिको सुविधा पाउनु पर्याप्त नै मान्नुपर्छ, राष्ट्रप्रति कृतज्ञ छु ।’

अहिले ९८ वर्षमा हिँडिरहेका घिमिरेमा उच्च रक्तचाप र मधुमेहको सामान्य समस्या छ । भत्ता रकमलाई ओखतिमूलो, तरकारी र कतै जाँदा सवारीखर्चमा खर्चने गरेको उनले सुनाए ।

झमक र व्याकुललार्इ पनि २५ हजार

सरकारबाट मासिक भत्ता रकम पाउने अर्की साहित्यकार हुन् ‘जीवन काँडा कि फूल’ लेख्ने झमक घिमिरे ।

Jhamak-Ghimireकेपी ओली नेतृत्वकै सरकारले गत बैशाख ७ गते मन्त्रिपरिषद् बैठकबाट झमकलाई आजीवन मासिक २५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।

 यसका साथै राष्ट्रियगानका रचनाकार र संगीतकारलाई पनि यसअघिको सरकारले मासिक भत्ताको व्यवस्था गरेको थियो । राष्ट्रियगानका रचनाकार व्याकुल माइलाले पनि झमकलेजस्तै मासिक २५ हजार पाउँदै आएका छन् ।

राष्ट्रकविको उपाधि र सुविधाको सोच

डा. विमल कोइराला सरकारका मुख्य सचिव भएको समयमा उनकै अग्रसरतामा घिमिरेलाई राष्ट्रकविको उपाधिले सम्मान गरिएको थियो ।आफैं पनि गीत र कविता लेख्ने कोइरालाले अनलाइनखबरसँग भने – ‘त्यसबेला धेरै लेखकबाट माधव घिमिरेलाई राष्ट्रकवि उपाधि दिनुपर्‍यो भनेर सिफारिश आएअनुसार क्याबिनेटमा मैले मौखिकरुपमै प्रस्ताव गरेको थिएँ ।’

त्यसबेला प्रधानमन्त्री थिए सूर्यबहादुर थापा । मुख्यसचिवले प्रस्ताव गरेको दोस्रो-तेस्रो दिनमै क्याबिनेटले राष्ट्रकविबारे निर्णय गर्‍यो ।

तत्कालीन मुख्यसचिव कोइरालाले ६५ वर्ष नाघेर पनि सिर्जनामा सक्रिय लेखक/कविहरुलाई निश्चित मापदण्ड बनाएर केही न केही सुविधा दिने सोच बनाएका थिए । तर, त्यो यत्तिकै अलपत्र पर्‍यो । ‘लेखनमा लागेर गुजारा चलाउन समस्या भएकाहरुलाई आत्मसम्मानसहित बाँच्न सक्ने गरी वृत्ति दिन सकिन्छ कि भनेर कुरा चलाएँ,’ आफ्नो योजनाबारे कोइरालाले अनलाइनखबरसँग भने – ‘त्यसका लागि संस्कृति मन्त्रालयका सचिवलाई मापदण्ड बनाउन लगाए पनि मापदण्ड नै नबनेपछि योजना यत्तिकै तुहियो ।’

स्रष्टा भन्छन्राज्यले प्रतिभालाई चिनेन

सरकारले केही सर्जकलाई सुविधा दिएर प्रतिभाको कदर हुने ‘ट्रेलर’ देखाएको छ । तर, यत्तिको ट्रेलर जे-जसरी आएको छ, त्यसलाई केलाउँदा सेवा, सुविधा र सम्मान दिने नेपाली समाजको संस्कृति नै हैन रैछ भन्ने प्रस्ट हुने कतिपय स्रष्टाहरूको गुनासो छ । र, यस्तो उदाहरण बनेका छन् व्याकुल माइला र स्व. अम्बर गुरुङ ।

Ambar-Gurung-1
अम्बर गुरुङ

अम्बर र व्याकुलले राष्ट्रिय गान बनाएवापत  राज्यबाट पाँच-पाँच लाख रुपैयाँ पाएका थिए । देशकै शक्तिसँग जोडिएको राष्ट्रिय गानका स्रष्टालाई जीवन निर्वाहका लागि सरकारबाट आजीवन सुविधा दिने कुरा पनि आएको थियो ।

कतै जागिर नभएर गुजारा चलाउन समस्या खेपिरहेका व्याकुल यसबाट उत्साहित बनेका थिए । अम्बर चाहिँ संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति थिए । तर, सुविधाको कुरो लामो समयसम्म अलमलमै बित्यो ।

व्याकुल माइलालाई मासिक वृत्ति दिन ०६७ सालमा संस्कृति मन्त्रालयले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । तर, त्यो पक्रिया अघि नबढी सेलायो ।

व्याकुल पुरानो पीडा यसरी पोख्छन् – ‘डेराको बसाइमा रहेको बेरोजगार म राष्ट्रियगानको रचनाकारका रुपमा विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहनुपर्थ्यो । तर, त्यसरी दौडिरहनुपर्दा आफ्नो राष्ट्रिय व्यक्तित्वको इज्जत धान्नै चर्को पर्‍यो । ऋणपान र सरसापट गरेर काम चलाउनुपर्‍यो ।’

त्यसो त ०६७ सालदेखि विभिन्न संघ-संस्था र सर्वसाधारणको दबावस्वरुप सरकारले बल्ल ०७१ मंसिरदेखि माइलालाई मासिक रु २५ हजार रुपैयाँ भत्ताको व्यवस्था गर्‍यो ।

BYAKUL-MAILA
व्याकुल माइला

बौद्धिक क्षेत्रबाट समाजलाई योगदान गर्ने मान्छे उपचार खर्च अभावमा छटपटाउनुपर्ने अवस्था नआओस् भन्ने उनलाई लाग्छ । उनी अनलाइनखबरसँग भन्छन् – ‘हामीले पैसा र भत्ता पाइएला भनेर लेखेको हैन, तर कसलाई कुन किसिमको मर्यादा दिनुपर्छ भनेर राज्यको चिन्तन हुनुपर्छ ।’

केही नपाउनुभन्दा अहिले पाइरहेको भत्ता रकमले घर खर्चमा निकै सघाएको उनी बताउँछन् ।

कुनै पनि देशको चिनारी र विशिष्टता त्यहाँको कला, संस्कृति र साहित्यले बोल्छ । मानचित्रले देशको भूगोल कोर्छ । तर त्यो भूगोलमा जीवन र पहिचान भर्ने काम सांस्कृतिक मूल्य र साहित्य-कलाले गर्छन् ।

यस्तो सामाजिक मूल्य स्थापना गर्ने सर्जक र कलाकारहरुले हामीकहाँ राज्य एवं समाजबाट सधैं बेवास्तामा पर्ने गरेको गुनासो गर्ने गरेका छन् ।

स्वस्थ र सक्रिय बेलामै सुविधा देऊ

राष्ट्रिय गान लेख्ने व्याकुललाई भत्ता रकमको व्यवस्था गरे पनि त्यसमा धून भर्ने अम्बरबारे सरकारले सोचेन ।

साहित्यकार तथा संगीत अन्वेषक प्रकाश सायमी सम्झन्छन् – ‘व्याकुललाई मात्रै सरकारले सुविधा दिएको थाहा पाएपछि अम्बरको आत्मामा अपमानको गहिरो चोट पर्‍यो । यही कुराले मन खाँदा त्यतिबेला उहाँ बिरामी नै पर्ने अवस्था आयो ।’

गत वर्षको बैशाखमा मात्रै अम्बरका लागि सरकारले मासिक वृत्ति ३० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको थियो । त्यसका लागि सायमी लगायत संगीतप्रेमीहरुले पत्रकार सम्मेलन गर्नुका साथै दवाब दिँदै संस्कृति मन्त्रालय नै धाउनुपर्‍यो । भलै अम्बर बिरामी परेका बेला सरकारले सबै खर्च बेहोर्ने निर्णय गरेर अन्तिम घडीमा आफ्नो जिम्मेवारी देखायो ।

नेपाली लेखकहरुले सामान्यतया रोयल्टी नपाउने र सिर्जनाको पुनर्प्रयोगवापत कतैबाट केही प्राप्त नहुने भएकाले राज्यबाट खास सेवा-सुविधा मिल्नुपर्ने सायमी बताउँछन् ।

‘सेवा-सुविधा स्वस्थ अवस्थामै दिनुपर्छ,’ उनी सुझाउँछन् – ‘हात-गोडा लागेकै अवस्थामा दिँदा सिर्जनामा ऊर्जा मिलोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment