Comments Add Comment

वीरगञ्जमा ग्यास सिलिण्डिर विस्फोट, दुई बालबालिका मुस्किलले बचे

Blasted-Gas-Cylinder
विष्फोट भएको ग्यास सिलिण्डर । तस्वीर: फेसबुक

२ साउन, काठमाडौं । ललितपुरमा ग्यास विष्फोटबाट दुई जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै वीरगञ्जमा सिलिण्डर विस्फोट भएको छ ।

लियो कम्पनीले उत्पादन गर्ने बारा ब्राण्डको ग्यास सिलिन्डर बिष्फोट हुँदा ठूलो भौतिक क्षति भएको छ । घर भित्रै रहेका दुई बालबालिका मुस्किलले बाँचेका छन् ।

वीरगञ्ज उपहमहानगरपालिका-१९ नगवामा शम्भुप्रसाद साह सोनारको घरमा रहेको सिलिन्डर ग्यास विष्फोट भएको हो । घटनामा कोही हताहत भने नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तर, बिष्फोटले शाहको घरको एकपट्टकिो भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

मानवीय क्षति नभएको भन्दै घटना बाहिर ल्याइएको थिएन । बीमा बापतको क्षतिपूर्तिबारे पीडित परिवार अनविज्ञ रहँदा सिलिन्डर नै गायव बनाउन प्रयत्न गरिएको स्थानीयले बताएका छन् ।

तर, सामाजिक सञ्जालहरुमार्फत घटना सार्वजनिक भएपछि प्रहरीले पनि घटनाबारे मुख खोलेको छ ।

कसरी भयो घटना ?

बिहान ग्यासमा खाना बनाएर रेगुलेटरबाटै ग्यास सिलिण्डर बन्द गरेको सोनारकी श्रीमती रजवन्तीदेवीले बताइन् ।

त्यसपछि आफू बाहिर आएर बसेको उनको भनाइ छ । त्यस समयमा घरभित्र उनका दुई छोराछोरी कृष्ण र खुशी खेलेर बसिरहेका थिए । रेगुलेटर बन्द गरेको ग्यास एक्कासी सुसाउँदै सिलिन्डरबाट एकाएक सेतो धुवाँ निस्किएको थियो ।

ग्यास लिक भइरहँदा छोराछोरीलाई बाहिर निकाल्ने आँट रजवन्ती र उनकी नन्दले गर्न सकेनन् । उनीहरुले छिमेकीसँग गुहार मागे र जितेन्द्र शर्माले घरभित्र पसेर दुई बच्चालाई तत्काल उद्दार गरेका थिए ।

त्यस बेलासम्म बच्चाको कपाल जलिसकेको थियो भने उनका पनि खुट्टा लगायत विभिन्न ठाउँमा आगोले पोलेको थियो । ‘घरभित्र एउटा अगरबत्ती बालिएको रहेछ । ग्यासको सिलिन्डरबाट सेतो रङको धुँवा जस्तो बाहिर आउँदै थियो । त्यसैबाट आगो फैलिँदै थियो,’ शर्माले भने, ‘मैले आँट गरेर मात्रै बच्चा बाँचे । बच्चा निकालेको केही समयमै ठूलो आवाजसहित सिलिन्डर पड्कियो ।’

Blasted-Gas-Cylinder-2
ग्यास सिलिण्डर विष्फोट भएपछि घरमा भएको क्षति । तस्वीर: फेसबुक

उनका अनुसार आफू भित्र जाँदा सिलिन्डरबाट निस्किएको ग्यासको प्रेेसरले रेगुलेटर पनि फ्याँकिसकेको थियो ।

सिलिन्डर पड्किँदा दुई टुक्रा भएको छ । सिलिन्डरले जोडेको ठाउँभन्दा बाहिरबाट पनि फाटेको छ भने टुक्रिएका भाग पनि कुच्चिएका छन् । सिलिन्डर पड्किँदा घरको जस्ताको छानालाई नै प्वाल पारेको छ । इट्टाले बनेको घरका २ वटा कोठा बस्न नमिल्ने गरी भत्किएका प्रहरीले जानकारी दिएको छ ।

घटनामा साढे ३ लाखभन्दा बढीको क्षति भएको बताइएको छ । पीडित परिवारले क्षतिपूर्ति माग गरेको छ भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment