२७ पुस, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । र, योजना आयोगका पूर्व उपाध्यष डा. गोविन्द पोखरेललाई नयाँ सीईओ नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो । पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायतका आरोप लगाएर सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो ।
त्यसको जवाफ चित्तबुझ्दो नआएको भन्दै फेरि २४ घन्टे स्पष्टीकरण सोध्यो । यो निर्णयअघि नै उनलाई बर्खास्त गर्ने सहमति भएको थियो तर, प्रक्रिया पुर्याउन भन्दै मन्त्रिपरिषद्को कार्यालयले २४ घन्टे स्पष्टीकरणका लागि पत्र काट्यो ।
ज्ञवालीले भने स्पष्टीकरण नसोध्दै प्रमुख विपक्षी एमालेको आडभरोसामा आफूलाई हटाए अदालत जाने धम्की दिए । र, दुबै स्पष्टीकरणको जवाफमा उनले आफू ५ वर्षका लागि आएको भन्दै हटाउने कुनै आधार नभएको दाबी गरे ।
ज्ञवालीलाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्राधिकरणको सीईओ नियुक्त गरेको थियो ।
नयाँ सीईओमा पोखरेल
मन्त्रिपरिषदको बुधबारकै बैठकले पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।
उनी योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । र, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले उनलाई प्राधिकरण सीईओको जिम्मेवारी पनि दिएको थियो ।
उनी कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पनि उठेका थिए । तर, पराजित भए ।
पोखरेल-ज्ञवाली एकअर्कालाई हटाउँदै
२०७२ वैशाख १२ को भूकम्पपछि तत्कालीन सरकारले योजना आयोगका उपाध्यक्ष पोखरेललाई नै प्राधिकरण सीईओको जिम्मेवारी पनि दिएको थियो ।
र, अध्यादेशमार्फत प्राधिकरण गठन भएको थियो । तर, दलहरुबीच सहमति नहुँदा संसद सुरु भएको ६० दिनभित्र अध्यादेश स्वीकृत नभएपछि पोखरेल स्वतः पदमुक्त भए । प्राधिकरणसम्वन्धी विधेयक बनाउने क्रममा पनि कांग्रेसले पोखरेललाई नै सीईओ बनाउनु पर्ने जोड दिएको थियो ।
तर, सरकारको नेतृत्व गरेको एमालेले मानेन । र, ज्ञवालीलाई सीईओ बनाए । अहिले तीनै ज्ञवालीलाई हटाएर सरकारले पोखरेललाई फेरि सीईओ बनाएको छ ।
अन्यायपूर्ण निर्णयविरुद्ध अदालत जान्छु
यसैबीच ज्ञवालीले साँझ ६ बजेतिर बर्खास्ती पत्र बुझेका छन् । र, उनले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने बताएका छन् ।
प्रतिक्रिया 4