+
+

राष्ट्रकविको गुनासोः कार्यक्रममा जाँदैमा हैरान भइयो

अहिले महाकाव्य लेख्दै, आत्मकथा लेख्न आतुर छैन

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १५:२४

जब पुग्यो नब्बे- हब्बे न कब्बे
जब पुग्यो सय- यमराजको भय

यो उखानले औंल्याए जस्तो राष्ट्रकवि माधवप्रसाद घिमिरेको जीवन कुनै हिसाबबाट पनि मुर्झाएको देखिँदैन । सय वर्ष पुग्न मात्र दुई वर्ष बाँकी रहे पनि उनलाई मृत्युको कुनै भय छैन ।

बरु पीर र चिन्ता छ, यो उमेरमा पनि एकरत्ति फुर्सद भएन ! सधैं व्यस्तता र सक्रियतामा रमाइरहेका हुन्छन् । तर, व्यस्त दिनचर्याले आफ्ना लागि समय नपाउँदा कहिले भने उनी दिक्किन्छन् ।

आफ्ना लागि किन समय खोज्छन् त राष्ट्रकवि ?

‘कतिपय सिर्जनात्मक काम छन्, अघि बढाउनै पाएको छैन’, उनले भने ।

पछिल्लो समय राष्ट्रकवि महाकाव्य लेखनमा जुटिरहेका छन् । नाम पनि जुराइसकेका छन्, ‘ऋतम्भरा’ ।

आफ्नो ८५औं जन्मोत्सवको बेला ०६० सालमा उनले महाकाव्य लेख्ने सुर कसेका हुन् । त्यसको अर्को वर्षदेखि लेख्न थाले । जम्मा १४ सर्ग लेख्ने योजना बनाएका उनले अब डेढ सर्ग मात्र लेख्न बाँकी छ ।

तर, त्यो डेढ सर्ग लेखिसक्न उनलाई तपस्या जस्तो भइरहेको छ । कारण हो, समयको अभाव । घरमा भेट्न आउने र साहित्यिक कार्यक्रमहरुमा बोलाउनेहरुको लर्कोले आफ्नो लागि समय नै नपाएको उनको गुनासो छ । ‘मलाई नबोलाओ न भन्छु, आइदिनैपर्छ भनेर घरसम्म लिन आउँछन्’, राष्ट्रकविले सुनाए, ‘बाहिरतिरै बोलाएर उत्पात गरेकाले लेख्ने कामलाई पर्याप्त समय दिन पाएको छैन ।’

एकथरी आउँछन्, किताबमा शुभकामना लेखिदिनुपर्‍यो भन्दै घरमा धर्ना कस्छन् । अर्काथरी आउँछन्, किताब लोकार्पणमा जसरी पनि प्रमुख अतिथि बन्नुपर्‍यो भनेर अड्डी कस्छन् ।

त्यसबेला दिक्क माने जस्तो गरे पनि उनको मन भने त्यस्तै कुरामा प्रफुल्ल बन्ने गर्छ । ‘कसैले आग्रह गर्दा म हार्नै सक्दिनँ’, उनले आफ्नो सहृदयी स्वभाव खुलाए ।

बुढ्यौलीमा लाठी टेक्दै कार्यक्रमहरूमा धाइरहने उनको बानीदेखि घरपरिवार पनि दिक्क रहेछन् । उनीहरु हरेक पटक सोधिरहेका हुन्छन्, ‘तपाईंको अब के प्राप्त गर्न बाँकी छ र यसरी दौडिराखेको ?’

राष्ट्रकवि शान्त मुद्रामा बुझाउन थाल्छन्, ‘म जुन समाजमा बसेको हो, त्यो समाजदेखि बाहिर रहनै सक्दिनँ । मलाई मान्छेहरुको माझमा रमाइलो लाग्छ ।’

एकथरीले बोलाउँदा जाने र अरुले बोलाउँदा नगएर चित्त दुखाउन पनि उनको मन मान्दैन । मान्छेहरु आफूलाई खोज्दै आउनुलाई उनी आफूले लेखनबाट पाएको कमाइ ठान्छन् । ‘पहिले कोही थिएनन्, अहिले सबै भए । बोलाएको ठाउँमा नजाँदा राष्ट्रकवि आएनन् भन्लान्, सबैकहाँ जानैपर्‍यो’, उनले हँसिलो मुद्रामा सुनाए ।

महाकाव्य लेखनले गति नलिनुमा भेटघाट र कार्यक्रमको चाप त हुँदै हो, गत वर्षको भूकम्पले पनि उनलाई केही खलबल्यायो । त्यसका साथै एकचोटि घरभित्रकै फूलबारीमा टहलिँदै गर्दा लडेपछि उनको मुड थप बिग्रियो । ‘त्यसपछि पहिले जुन रमाइलो किसिमले कविता आउँथ्यो, अलि असजिलो हुन थाल्यो’, उनले बह पोखे ।

पछिल्लो समय भने मुड सामान्य हुँदै गएपछि भेटघाट र निम्ताको चापका बीच महाकाव्यको बाँकी सर्ग पूरा गर्न लागिपरेका छन् । तर, लेखन निकै माझेर मात्र ल्याउने संकेत गर्दै राष्ट्रकविले भने, ‘परिष्कार नगरी हतपतमा लेख्दिनँ । महाकाव्य चाँडै पनि पूरा हुन सक्छ वा मेरो सय वर्षको जन्मोत्सवमा पनि आउन सक्छ ।’

यति भन्दै उनले महाकाव्यको दुई पंक्ति सुनाएर जीवनप्रतिको भोक दर्शाए –

यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी
नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी ।

‘ऋतम्भरा’ मा उनले शाश्वत र चलायमान सत्य गरी दुई किसिमको सत्यबारे उद्घाटन गरेका छन् ।

आत्मकथा किन लेख्नु, म ठूलो मान्छे हैन

९८ वर्षको उमेरमा पनि उनलाई लेख्नका लागि कुनै सहयोगी आवश्यक परेको छैन । कवितादेखि गद्य रचना समेत आफैं लेख्छन् । कविता आफूले गुनगुनाउँदै लेख्नुपर्ने भएकोले कसैलाई लेख्न लगाएर पार नलाग्ने उनी ठान्छन् ।

‘म सबै आफैं लेख्छु । धैर्य गरेरै लेख्छु’ उनले भने ।

पछिल्लो समय नेपाली साहित्यमा आत्मकथा र जीवनी लेखनको लहर नै चलेको छ । जीवनमा अनेक घामपानी छिचोलेका राष्ट्रकविसँग पनि सामान्य साहित्यप्रेमीदेखि अक्षरका सिपाही बन्दासम्मको अनुभव छ । सामान्य स्कूलको हेडमास्टरदेखि राज्यले दिएको राष्ट्रकविको सम्मान लिँदाको खुसी छ । त्यो बीचको संघर्ष र सुस्केरा उनीभित्रै गुम्सिएको छ ।

त्यो सबै अरुसँग बाँड्न राष्ट्रकविलाई मन छैन ?

राष्ट्रकवि घिमिरेले आत्मकथा लेख्न केही मान्छेले भनेका रहेछन् । कतिपयले त हामी लेख्दिन्छौं भनेर पनि प्रस्ताव गरेका छन् । तर, त्यतातिर अहिले उनलाई खासै जाँगर लागेको छैन । आफू ठूलो मान्छे नभएको भन्दै आत्मकथा प्रकाशनको निम्ति आतुर पनि नरहेको उनले बताए ।

‘जीवनमा एक किसिमको दुःख त गरेँ, तर त्यो दुःख जेल गएर अरुले थाहा पाउने किसिमको दुःख पनि हैन । आधा रातसम्म बसेर गीत र कविता लेखेँ । त्यस्तो दुःख अब के भनिराख्नु ! त्यसको प्राप्ति पनि भइसक्यो,’ उनले आफ्नो सादगीको दृष्टान्त दिए ।

उनले मनको कुनै कुनामा आफ्नो जीवनी लेख्ने विचार भने सँगालेका छन् । त्यो भन्दा अगाडि ‘अश्वत्थामा’ काव्यको हिन्दी अनुवाद र महाकाव्य निकाल्ने उनको योजना छ । अश्वत्थामाको दुई जना अनुवादकले अनुवाद गरिसकेपछि उनी अहिले त्यसको शुद्धीकरणमा लागेका छन् ।

‘मैले आफ्नो कथा लेखिसकिनँ भने पनि जो मान्छेहरुले लेख्ने भनेका छन्, तिनीहरुलाई बोलाएर भन्दिन्छु’, उनले भने ।

मोबाइल बोक्न झन्झट लाग्छ !

पुरानो समय भोगेर आएका राष्ट्रकवि घिमिरे आधुनिक विधि र प्रविधिबारे समेत जानकार छन् । तर, प्रविधिको लाभ पनि लिने र दास पनि नबन्ने बीचको लाइनमा रहेछन् उनी ।

उनी मोबाइल बोक्न रुचाउँदैनन् । घरमा ल्यान्डलाइन फोन छ, त्यसैले काम चलेकै छ । ‘मोबाइल भयो भने त म त्यसैमा झुन्डिन्छु, मलाई झन्झट हुन्छ । एकान्तमा आनन्द लाग्छ’, सिर्जनामा बाधा पर्ला भन्ने कुरामा सजग छन् उनी ।

सुविधाले आफूलाई धेर जेल्ने भन्दै उनले राष्ट्रकविलाई राज्यमन्त्री सरह दिइने गाडीको सुविधा पनि नलिएको बताए । गाडी राखेपछि फलानो दिन ड्राइभर आउनू, अर्को दिन नआउनू भनेर अल्झोमा परिने भएकोले त्यो सबदेखि टाढा बस्न रुचाएका हुन् । राष्ट्रकविले पाउने मासिक २५ हजार रुपैयाँ भने लिइरहेका छन् ।

पत्रिका तीन-चार वटा दैनिक नियमित हेर्छन् । टीभीमा समाचार पनि नित्य हेर्छन् । देशको राजनीतिक दिशाहीनता देखेका उनले अमेरिकामा डोनाल्ड ट्रम्पको उदय हुँदा चमत्कार महसुस गरे ।

वयोवृद्ध उमेरमा अनिद्राको समस्याले धेरैलाई पिरोल्छ । तर, राष्ट्रकवि घिमिरेलाई राति सात घन्टा मस्त निदाउँछन् ।

दशैंभन्दा अगाडि निद्राको समस्या केही भए पनि आफैंले नियन्त्रणमा लिइसकेको उनले बताए । ‘मलाई सात घन्टा निद्रा चाहिन्छ । कहिलेकाहीँ कविता लेखेर थाकेको छ भने त आठ घन्टा पनि चाहिन्छ’, उनले दिनचर्या सुनाए । राति साढे १० बजे सुतिसक्छन् ।

बिहान साढे ६ बजेतिर उठेपछि प्राणायाम र योग गरेर जिउ तन्काउँछन् । ‘बुढेसकालमा ठूलो जर्‍याकमर्‍याक गरिन्न, अलि शान्त किसिमका योग क्रियाहरु गर्छु । त्यसो नगरे त कहाँ हिँड्न सक्छ र बूढो मान्छे !’ उनले यो उमेरमा तरोताजा रहनुको भेद खुलाए ।

योगपछि उनी जीवनको महिमा गाएका र अमरता बाँड्ने वेदका ऋचा र गीता पाठ गर्छन् । त्यसपछि दिनभरिको समय लेखपढ, भेटघाट र कार्यक्रमको निम्ता मान्नमा बित्छ ।

रेक कवि प्रेसरको बिरामी

राष्ट्रकविले एउटा उमेरका धेरैका कृतिहरु पढे । पछिल्लो समय भने आफ्नै अधुरा काम सक्ने ध्याउन्नमा अरुको लेखन पढ्ने उनलाई फुर्सद छैन । ‘गीत र कविताको किताब भयो भने चाहिँ पढ्छु । अरु कुरा खोजेर पढ्ने मलाई फुर्सदै छैन । आफ्नो लेखाइले नै फुर्सद हुँदैन’, उनले आफ्नो समस्या बताए ।

कविताको क्षेत्रलाई नै साधना र जीवन बनाएका उनी पछिल्लो समय नेपाली साहित्यमा कथा, निबन्ध आदि गद्य लेखनमा ठूलो विकास भएको देख्छन् ।

उनलाई भएको स्वास्थ्य समस्या हो, उच्च रक्तचाप र मधुमेह । यी रोग पनि औषधि खाँदा शरीरमै छैन कि जस्तो लाग्ने उनले रमाइलो शैलीमा सुनाए । ‘प्रेसर त कविहरुमा हुन्छ नै जस्तो लाग्छ । जहिल्यै पनि जाँच्यो, त्यत्तिकै हुन्छ’, उनले ठट्टा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?