+
+

प्रचण्डलाई ओलीको प्रश्न-आफैं षड्यन्त्र गर्दै हुनुन्छ कि अरुको षड्यन्त्रमा फस्नुभयो ?

काठमाडौं फर्केपछि देउवालाई सोध्छु-कांग्रेसको प्रजातान्त्रिक आचरण कहाँ छ ?

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ४ गते ११:४४

४ चैत, महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पश्चिमी सीमा शहर महेन्द्रनगर पुगेर प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नियतमा प्रश्न उठाएका छन् ।

उनले सत्तापक्षमाथि हार्ने डरले चुनावबाट भाग्ने बहाना खोजिरहेको आरोप लगाएका छन् । मेची-महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओली प्रधानमन्त्री प्रचण्डभन्दा देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भए ।

प्रधानमन्त्री प्रचण्ड मधेसी मोर्चाको षड्यन्त्रको बन्दी हुन लागेको भन्दै ओलीले मोर्चाको नियत बुझेर भ्रममुक्त हुन सुझाव दिए ।

स्थानीय तहको संख्या बढाउने कुरा चुनाव नगराउने षड्यन्त्र भन्दै अब समय नरहेको बताए । ओलीले भने, ‘चुनावमा आउँछन् कि भनेर संख्या बढाउने भन्नुहुन्छ तर, उनीहरुको नियत अर्कै छ । चुनावमा नआए पनि भोलि हामीले भन्ने ठाउँ हुन्छ भन्ने उहाँको भनाइ छ । यो चुनाव नहुने कुरा भयो ।’

आजमात्रै आफूले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर स्थानीय तहको संख्या बढाउने समय नभएकाले त्यसमा नफस्न सुझाव दिएको ओलीले सुनाए । ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, तपाई आफैं षड्यन्त्र गर्दै हुनुुन्छ कि अर्काको षडयन्त्रमा पर्नुभएको छ ?’ उनले भने, ‘लोकतान्त्रिक प्रक्रिया, बहुमतको निर्णय नमान्ने र शान्तिपूर्ण राजनीतिक गतिबिधिमा बम हान्नेको भ्रममा परेर अलमल नगर्नुस् भनेको छु ।’

‘मधेसी मोर्चा डामेर छाडेको साँढे जस्तो’

मधेसी मोर्चा सरकारले डामेर छाडेको साँढे जस्तो भएको ओलीको टिप्पणी थियो । उनले लोकतान्त्रिक प्रक्रिया नमान्ने, अपराधिक गतिबिधि गर्ने र शान्तिपूर्ण कार्यक्रममा बम हान्नेहरुलाई पूर्ण रुपमा छुट दिइएको भन्दै आपत्ति जनाए ।

त्यसपछि ओली देउवा र कांग्रेसमाथि खनिए । उनले प्रमुख सत्तारुढ घटक कांग्रेसमाथि सरकार र गृह प्रशासन गलत ढंगले प्रयोग भइरहेको आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत आफूले हार्ने क्याम्पसमा चुनाव हुन नदिएर सत्तापक्षले गृह प्रशासनको दुरुपयोग गरेको आरोप लगाए । उनले भने, ‘सरकारमा हुनेहरु विद्यार्थीको चुनावमा समेत आफूले जित्ने भएमात्र चुनाव गराउने, नत्र हार्ने चुनाव नगर्ने, परिणाम घोषणा हुन नदिने र चुनावै हुन नदिने षडयन्त्रमा लागेका छन् ।’

ओलीले अघि भने, ‘कांग्रेसको प्रजातान्त्रिक अभ्यास कहाँनिर छ मलाई बताइदिए हुन्छ । दुई दिनपछि काठमाडौं गएर म शेरबहादुरजीलाई सोध्नेछु ।’

अध्यक्ष ओलीले स्थानीय प्रशासनहरुलाई सत्तापक्षको अनुचित दबावका आधारमा विपक्षीमाथि दमन नगर्न चेतावनी दिए । ‘प्रतिपक्षीलाई मुद्दा लगाउने, अपराध गर्नेलाई छुट दिने काम भइरहेको छ,’ उनले भने, ‘म भन्छु, डेढ महिने म्यादी सरकारको हुलामुलामा लागेर प्रशासनले काम नगरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?