Comments Add Comment

कार्टुनिष्ट क्लबको नयाँ कार्यसमिति चयन

१४ चैत, काठमाडौं । नेपाल कार्टुनिष्ट क्लबको अध्यक्षमा अविन श्रेष्ठ पुनः अर्को कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार भएको क्लबको अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपाली कार्टुनको क्षेत्रमा क्लबले सशक्त रुपमा काम गर्ने बताउँदै कार्टुनले राजनीतिक, सांस्कृतिक तथा सामाजिक रुपमा प्रभाव पार्ने भएकाले कार्टुनिष्टहरुले अझ जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।

क्लबको उपाध्यक्षमा वासु क्षितिज, महासचिवमा देवेन्द्र थुम्केली, सचिवमा योगेश खपाङ्गी, कोषाध्यक्षमा रवीन्द्र मानन्धर निर्वाचित भएका छन् । सदस्यहरुमा कृष्णगोपाल श्रेष्ठ, दीपक गौतम, रवि मिश्र, भानु भट्टराई, उमेशचन्द्र अधिकारी र आरके थापा छानिए ।

अधिवेशनले केन्द्रीय पार्षदमा राजेश केसी, अशोकमान सिंह, केशवराज खनाल र गंगा हिमाली र प्रदेश पार्षदमा सागर शाह, पवन राजवंशी, राजेश मानन्धर, एनबी गुरुङ र शैलेश गुरुङलाई छनोट गरेको छ ।

अधिवेशनको संयुक्त रुपमा उद्घाटन गर्दै अग्रज कार्टुनिष्ट अशोकमान सिंह र मोहन श्याम महर्जन ‘खोकना’ ले नेपाली कार्टुनको विकासमा क्लबले योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए ।

कार्टुनिष्ट राजेश केसीले क्लबले नेपाली कार्टुनको विकासमा सक्रियतापूर्वक काम गरिरहेकोमा खुसी प्रकट गरे । यस्तै, नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्सालले पत्रकारिता क्षेत्रमा कार्टुन सशक्त विधा रहेकोले आम मानिसलाई गहिरो गरी प्रभाव पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment