Comments Add Comment

प्रदेश नम्बर ६ को ‘राजधानी’मा को बन्ला मेयर ?

प्रतिस्पर्धामा कांग्रेस र एमाले, नाफाको खोजीमा माओवादी

२० चैत, सुर्खेत । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तिथि नजिकिँदै जाँदा प्रदेश नं. ६ को सम्भावित राजधानीका रुपमा हेरिएको वीरेन्द्रनगर नगरपालिकामा चुनावी सरगर्मी सुरु भएको छ ।

वीरेन्द्रनगरमा मुख्य प्रतिस्पर्धी दलहरु चुनावी दौडधुपमा लागिपरेका छन् । मुख्य गरी नेपाली कांग्रेस र नेकपा (एमाले) को प्रतिस्पर्धा हुने अनुमान गरिएको वीरेन्द्रनगर नगरपालिकामा माओवादी केन्द्रले पनि फाइदा दिने दाउ खोजिरहेको छ ।

भर्खर दुईवटा पार्टी एकीकरण भएको राप्रपा पनि वीरेन्द्रनगरमा आफ्नो शक्ति बलियो देखाउने गरी साथ चुनावी मैदानमा उत्रिएको छ ।

को–को छन् मेयरका आकांक्षी ?

वीरेन्द्रनगर नगरपालिकाको मेयरका आकांक्षी धेरै देखिएका छन् । यो नगरपालिका ६ नम्बर प्रदेशको सम्भावित राजधानीसमेत भएकाले पनि एउटै दलका धेरै नेताले आँखा लगाएका छन् ।

आकांक्षीहरु धेरै भएका कारण नेपाली कांग्रेस र नेकपा (एमाले) ले वीरेन्द्रनगरमा मेयरका उम्मेदवारहरु तत्काल सार्वजनिक गर्न सकेका छैनन् ।

जिल्लाका अन्य नगरपालिका, गाउँपालिका र वडाहरुका उम्मेदवारको टुङ्गो लगाएपछि मात्रै वीरेन्द्रनगर नगरपालिकाको उम्मेदवारी टुङ्ग्याउने बुझिएको छ ।

राप्रपाले कुनै नयाँ सक्षम व्यक्ति पार्टीमा प्रवेश गरेको खण्डमा समेत मेयरको उम्मेदवार बनाउन सकिने भन्दै अहिले नै उम्मेदवार घोषणा नगर्ने बताएको छ ।

माओवादी केन्द्र भने उम्मेदवार घोषणा गरी प्रचार–प्रसारमा लागिसकेको छ ।

कांग्रेसलाई उम्मेदवार छनोटमै सकस

कांग्रेस नेता देवकुमार सुवेदी र गोविन्द कोइराला

 

वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट चर्चा गरिएका नेताहरु धेरै छन् । यसले गर्दा कांग्रेसलाई उम्मेदवार छनोटमा सकस देखिएको छ ।

कांग्रेसबाट नगरसभापति देवकुमार सुवेदीको नाम अग्रपंक्तिमा छ । तर, पूर्वजिल्ला कोषाध्यक्ष गोविन्द कोइराला, पुराना नेता डम्बर जीसी र कालीप्रसाद शाक्य पनि अगाडि सर्ने देखिएको छ ।

वीरेन्द्रनगर नगरपालिकामा कांग्रेसलाई सकस हुने मुख्य कारण भनेको पार्टीको आन्तरिक गुट हो । सुर्खेत कांग्रेसमा पूर्णबहादुर खड्का, शेरबहादुर देउवा र हृदयराम थानी र रामचन्द्र पौडेल गुट नै समस्याका रुपमा देखिएका छन् ।

नगरमा चर्चित मानिएका पौडेल पक्षका भनिने युवा नेता सुवेदीलाई मेयरको उम्मेदवार बनाए देउवा पक्षका नेतालाई सन्तुष्ट बनाउन सक्नुपर्ने बाध्यता छ । देउवा पक्षका मेयरका सम्भावित उम्मेदवारहरु भने सुवेदी भन्दा बरिष्ट छन् ।

गुट मिलाउन मेयर र उपमेयर बाँडेको खण्डमा पनि देउवा पक्षका नेताहरु उपमेयरमा बस्न सक्ने सम्भावना कम भएकाले कांग्रेसमा समस्या देखिएको छ । तर, कांग्रेसले उम्मेदवारमा मिलाउन सके सबैभन्दा धेरै मतदाता भएका वडाहरुमा आफ्नो पकड बलियो भएकाले निर्वाचनमा जित हात पार्नेमा ढुक्क देखिएको छ ।

स्वतन्त्र उम्मेदवारीले कांग्रेसलाई झट्का

वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि सुर्खेतका चर्चित व्यक्तित्व गेहेन्द्रप्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले लामो शैक्षिक सेवाबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसअघि नेपाली कांग्रेसमै आवद्ध दाहालले नेपाली कांग्रेसबाट पनि राजीनामा दिएर आफू स्वतन्त्र रुपमा मेयरमा लड्ने उद्घोष गरेका छन् । उनले विद्यालयको प्राध्यानाध्यापकबाट दिएपछि नेपाली कांग्रेसबाटै मेयरमा उठ्ने अड्कलबाजी गरिएता पनि उनी स्वतन्त्र  उम्मेदवार  बनेका छन् । यसले कुनै न कुनै किसिमले नेपाली कांग्रेसलाई झट्का लाग्ने विश्लेषण गरिएको छ ।
दाहाल जिल्लाकै बौद्धिक व्यक्तित्व मानिन्छन् । उनले कांग्रेसकै मत बढी तान्न सक्ने अनुमान गरिएको छ ।

सुरुमा दाहालले कांग्रेसले नै मेयरको उम्मेदवार बनाउने आशामा प्राध्यानाध्यापकबाट राजीनाम दिएका थिए । तर, त्यो सम्भव नभएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २००५ मा नेपाली जेसीजको राष्ट्रिय अध्यक्ष र २००६ मा एशिया क्षेत्रको विजनेश कोर्डिनेटर भई वल्र्ड जेसीजबाट नेपालको उत्कृष्ट जेसीको सम्मान समेत पाएका दाहाल दाहालले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसमा थप अन्योल छाएको छ ।

प्रतिष्ठा गुम्ने एमालेलाई चिन्ता

नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने अनुमान गरिएका व्यक्ति नै स्वतन्त्र उम्मेदवार बनेपछि नेकपा एमालेले केही राहत महसुस गरेको छ । तर, एमालेलाई वीरेन्द्रनगरमा आफ्नो पुरानो साख बचाइराख्नुपर्ने छ ।

नेकपा एमालेले यसअघि ०४९ र ०५४ मा भएका दुईवटै निर्वाचनमा जितेको थियो । ०४९ मा नेकपा एमालेकातर्फबाट पूर्वमन्त्री यामलाल कँडेल मेयरमा निर्वाचित भएका थिए भने ०५४ मा पनि एमालेकै बालाराम शर्मा निर्वाचित भएका थिए । यो इतिहासलाई गुम्न नदिन एमालेले अहिले ठूलो शक्ति लगाएको छ ।


आफ्नो इतिहासलाई बचाउनकै लागि एमालेले वीरेन्द्रनगरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि पटक–पटक उभ्याइसकेको छ । अहिले नगरपालिकामा गाभिएका साविकका केही गाविसमा आफ्नो पकट भएकाले पुनः इतिहास दोहोरिने एमालेले अपेक्षा गरेको छ ।

तर, एमालेभित्र पनि उम्मेद्वारका आकांक्षीहरु धेरै छन् । एमालेबाट मेयरका लागि जिल्ला उपाध्यक्ष अमृत बीसी, युवा नेता कुलमणि देवकोटा, पूर्वमेयर बालाराम शर्मा, अधिवक्ता कृष्णबहादुर हमाल, सहकारी अभियन्ता हरिहरनाथ योगी र युवा नेता पूर्णप्रसाद पौडेलको नाम चर्चामा छ । उनीहरु मध्ये पनि उपाध्यक्ष बीसीको सम्भावना बलियो रहेको एमाले स्रोतको भनाइ छ ।

तर, बीसी र देवकोटामध्ये एकजनालाई उम्मेदवार बनाए एक पक्षले अर्काे पक्षलाई स्वीकार गर्ने अवस्था नहुने भएकाले एमालेले शर्मा वा योगीलाई अघि सार्ने सम्भावनासमेत छ ।

 उम्मेद्वार तोक्न माओवादी अगाडि

नेकपा माओवादी केन्द्रले भने वीरेन्द्रनगर नगरपालिकाका लागि मेयर र उप मेयरका उम्मेदवार घोषणा गरिसकेको छ । नगरमा कमजोर मानिएको माओवादीले यसपटक जसरी पनि आफ्नो पकड बलियो बनाउन भन्दै जनजाति र महिला उम्मेदवार घोषणा गरेर प्रचारमा लागेको छ ।

माओवादी केन्द्रले मेयरमा रत्न गाहा र उपमेयरमा हरिमाया शर्माको उम्मेदवारी घोषणा गरेको छ । पार्टीका राष्ट्रिय आयोजक समिति सदस्य रहेका गाहा समाज कल्याण परिषदका पूर्वकोषाध्यक्ष पनि हुन् । यस्तै शर्मा पनि पार्टीका राष्ट्रिय आयोजक समिति सदस्य हुन् ।
माओवादी केन्द्रले एमाले र कांग्रेसमा बागी हुने अनुमान गर्दै फाइदा लिन सकिने आशाले पहिले नै जनजाति र महिलालाई मिलाएर उम्मेदवार बनाएको बुझिएको छ । १८ प्रतिशत मतदाता जनजाति रहेकाले पनि गाहालाई जनजातिको सहानुभूति पनि आउने माओवादी केन्द्रको अपेक्षा छ ।

नगरबासीलाई प्रभावमा पार्न शक्ति प्रदर्शन

निर्वाचनमा सक्रिय देखिएका स्थानीय राजनीतिक दलहरुले वीरेन्द्रनगरका नागरिकहरुलाई प्रभाव पार्न छुट्टा छुट्टै शक्ति प्रदर्शन समेत गरिसकेका छन् ।

चैत ५ गते नेकपा (एमाले) ले मेची महाकाली अभियानको सन्देश दिन भन्दै प्रदेश नं. ६ स्तरीय सन्देशसभा वीरेन्द्रनगरमा आयोजना गरेको थियो । सभामा अध्यक्ष केपी ओली, बरिष्ट नेता माधव नेपालले सम्बोधन गर्दै नागरिक माझ आश्वासन बाँडेका थिए ।

त्यसकै केही दिनपछि चैत ११ गते नेकपा माओवादी केन्द्रले निर्वाचन केन्द्रित जनसभा आयोजना गरेका थियो । उक्त सभामा नेता रामबहादुर थापा (बादल), पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत लगायतले सम्बोधन गरेका थिए । सोही सभाबाट माओवादी केन्द्रले वीरेन्द्रनगरको मेयर र उपमेयरका उम्मेदवारहरु घोषणा गरेको हो ।

माओवादीले सभा गरेको केही दिनलगत्तै नेपाली कांग्रेसले पनि नेपाल तरुण दल सुर्खेतको अगुवाइमा शक्ति प्रदर्शन ग¥यो । तरुण दलले वीरेन्द्रनगर बजारमा मोटरसाइकल ¥याली निकालेको थियो ।

यस्तै राप्रपाले पनि पूर्वराज्यमन्त्री कुन्ती शाही र पार्टीका पूर्वसहमहामन्त्री मुकुन्दश्याम गिरीको उपस्थितिमा बन्द प्रशिक्षण कार्यक्रम गरेको छ ।

एकजना तेस्रोलिंगीसहित  ५१ हजार मतदाता, १७ दल दर्ता

वि.सं. ०३३ सालमा स्थापना भएको वीरेन्द्रनगर नगरपालिका सुरुमा १२ वडा र त्यसपछि २५ वडा हुँदै अहिले स्थानीय तहको पुनरसंरचनासम्म आइपुग्दा १६ वडामा सीमित भएको छ ।

सुर्खेतको मुटुमा रहेको वीरेन्द्रनगर नगरपालिकामा अहिले साविकका लाटीकोइली, उत्तरगंगा जर्वुटा, गढी रतु र गर्पन गाविसलाई समायोजन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको क्षेत्रफल बढेपछि राजनीतिक दलहरुमा अबको निर्वाचनबाट जसरी पनि मेयर हात पार्नुपर्छ भन्ने मनस्थिति देखिएको छ ।

सुर्खेतमा अन्य चारवटा नगरपालिकाहरु हुँदाहुँदै पनि राजनीतिक दलहरुले वीरेन्द्रनगरलाई नै केन्द्रमा राखेका छ्न् ।

जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरमा ५० हजार ७ सय ९९ मतदाता छन् । जिल्लाभरिको मतदाता संख्या भने करिब २ लाख छ । जसमा महिला ९५ हजार ४०५ र पुरुष ८९ हजार ६ सय ४८  छन् भने एकजना तेस्रो लिङ्गी रहेको निवार्चन कार्यालयले जनाएको छ । दोस्रो संविधानसभासम्म सुर्खेत जिल्लाको मतदाताको संख्या एक लाख ५४ हजार ८ सय ११ थियो ।

उतार–चढावयुक्त राजनीतिक शक्ति सन्तुलन

यसअघिका निर्वाचनलाई हेर्ने हो भने एमाले बलियो देखिन्छ । ०४९ र  ०५४ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगरमा एमालेका बालाराम शर्मा र ०४९ मा यामलाल कँडेल विजयी भएका थिए ।

त्यसअघि स्वर्गीय रामबहादुर मल्ल ०३३ देखि ०४३ सम्म नगरपञ्चायतमा निर्वाचित भएका थिए । यस्तै ०४४ बैशाखदेखि ८ महिनाको अवधिसम्म पूर्णबहादुर खड्का प्रजातान्त्रिक पक्षबाट निर्वाचित भएका थिए । तर, उनका प्रतिस्पर्धी मानबहादुर खड्काले चुनावमा धाँधली भएको भन्दै अदालतमा पुगेपछि अदालतले मानबहादुरको पक्षमा फैसला गरेको थियो । त्यसपछि मानबहादुरले ०४४ देखि ०४६ सम्म नगरप्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

विसं. ०५४ मा  ५० गाविस र १ नगरपालिका रहेको जिल्लामा एमालेले ३७ अध्यक्ष र ३८ उपाध्यक्ष, कांग्रेसले १३ अध्यक्ष र १३ उपाध्यक्ष तथा राप्रपाले १ अध्यक्षसहितको नतिजा आफ्नो पक्षमा पारेका थिए ।

यस्तै ०४९ को स्थानीय निर्वाचनमा सुर्खेतका ५० गाविस र १ नगरपालिकामा कांग्रेसले ३१ अध्यक्ष र २९ उपाध्यक्ष, एमालेले १८ अध्यक्ष र १९ उपाध्यक्ष तथा राप्रपाले २ अध्यक्ष र ३ उपाध्यक्षसहितको नतिजा आफ्नो पक्षमा पारेका थिए ।

त्यसैगरी ०४८ को आम निर्वाचन हुँदा सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र थिए । जसमा दुवै क्षेत्रका उम्मेदवारको जोडेर नेपाली कांग्रेसले पाएको मत ३७ हजार ९ सय ११ थियो । नेकपा (एमाले) ले पाएको मत ३० हजार ७ सय २७ थियो । दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

विसं. ०५१ को मध्यावधि निर्वाचनमा सुर्खेतमा तीनवटा क्षेत्र थिए । उक्त चुनावमा नेपाली कांग्रेसले पाएको मत ३४ हजार ५ सय ९३ र एमालेले पाएको मत ३२ हजार ९ सय २२ थियो । त्यतिवेला तीनमध्ये दुईवटा क्षेत्रमा कांग्रेस र एउटामा एमाले उम्मेदवार विजयी भएका थिए ।

स्थानीय निकायबाहेक पछिल्लो पटक भएको संविधानसभाका दुईवटा निर्वाचनलाई हेर्ने हो भने सुर्खेतमा एमाले केही कमजोर देखिएको छ । ०६४ को संविधानसभा निर्वाचनमा सुर्खेतमा एमालेले पाएको मत तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारको जोड्दा ४५ हजार ९ सय ९७ थियो । तत्कालीन नेकपा (माओवादी) ले पाएको मत ४२ हजार ७ सय ४८ थियो भने कांग्रेसले पाएको मत ३३ हजार ५ सय ३२ थियो ।

उक्त निर्वाचनमा ३ मध्ये दुई वटामा एमालेका उम्मेदवार र एउटामा माओवादीका उम्मेदवार विजयी भएका थिए । तर ०७० सालको संविधानसभामा भने कांग्रेस पहिलो हुँदै सबै तीनवटा क्षेत्रमा जीत हात पा¥यो भने एमाले र माओवादी क्रमश दोस्रो र तेस्रो भएर शुन्य सीटमा खुम्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment