Comments Add Comment

नेताहरुको स्वीट्जरल्याण्ड सपना, धुर्मुस–सुन्तलीको ‘नमूना नेपाल’

महत्वाकांक्षी योजना कसरी पूरा होला ?

२३ जेठ, काठमाडौं । तपाईले ख्याल गर्नु भयो कि भएन, ‘नमूना नेपाल’ बनाउने कुरामा राजनीतिक दलले एक कदम पछि छाडेका छन्, धुर्मुस–सुन्तलीलाई । किनभने धुर्मुस–सुन्तलीले ‘नमूना नेपाल’को गर्भाधान गर्नुअघि राजनीतिक दलले असरल्ल सपना फिँजाउन भ्याइसकेका थिए । नपत्याए हेर्नुहोस्, राजनीतिक दलको घोषणापत्र ।

चुनावी मैदानमा हेलिनुअघि उनीहरुले यस्तो नेपालको परिकल्पना गरेका छन्, जसमा पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने ठूला एवं फराकिला बाटा छन्, चौतर्फी रेल मार्ग जोडिएका छन्, व्यवस्थित शहर छन्, कुनाकाप्चामा झलमल्ल बिजुली बलेको छ, प्रविधियुक्त खेती प्रणालीले खेतबारी हराभरा भएको छ ।

तर, पार्टीको कोरा सपनालाई नपत्याएर हो वा समुन्नत नेपालको खाका नबुझेर, सर्वसाधरणले यसमा खासै चासो दिएनन्, चर्चा गरेनन् ।

देशलाई ‘स्विजरल्यान्ड जस्तै’ बनाउनका लागि राजनीतिक दलले डेटलाइन नै तोकेका छन्, पाँचदेखि १० बर्षसम्मको । धुर्मुस–सुन्तलीले चाहि ठ्याक्कै निर्माण हुने अवधिबारे खुलाएको छैन । भनेका छन्, ‘कुन मितिमा निर्माण सम्पन्न हुनेछ भनेर शिलान्यास भएको दिन घोषणा गर्नेछौ ।’

धुर्मुस–सुन्तलीले परिकल्पना गरेको नेपालमा पनि रेल कुद्नेछ, मोनो रेल । त्यहाँ व्यवस्थित बस्तीहरु हुनेछ, स्तरिय सडकहरु हुनेछ, आकर्षक बगैंचाहरु हुनेछ, खेलमैदान हुनेछ, विद्यालय हुनेछ, संग्रहालय हुनेछ, धरहरा हुनेछ, गुम्बा हुनेछ । शिक्षा, स्वस्थ्य, खानेपानी, बिद्युत, यातायात, संचार सबै पूर्वाधार हुनेछ ।

अब हेर्न बाँकी छ, ‘नमूना नेपाल’ बनाउने दौडमा कसले बाजी मार्छ ?

उद्घोष गर्ने र डेटलाइन तोक्ने कुरामा राजनीतिक दल ‘एडभान्स’ छन् । तर, कार्यान्वयनको सवालमा राजनीतिक दललाई कति पत्याउने ? किनभने उसको विगत झूर र टीठलाग्दो छ ।

यद्यपी धुर्मुस–सुन्तलीमाथि भने अपेक्षा गर्न सकिन्छ, भरोसा गर्न सकिन्छ । यसअघि उनीहरुले जे भने, त्यो गरेर देखाइदिए । नभए तपाई, काभ्रेको डाँडागाउँस्थित पहरी बस्ती पुग्नुहोस् वा सिन्धुपाल्चोकको गिरानचौर । या त बर्दिबासको मुसहर बस्तीमा पुग्नुहोस् । धुर्मुस–सुन्तलीको कर्मले ठडिएका रहरलाग्दा एकिकृत नमूना वस्ती सम्मुखमा देखिनेछन् ।

तर एकिकृत नमूना बस्ती बनाएजति सहज भने हुने छैन, नमूना नेपाल बनाउन । किनभने यसको दायरा एकदमै फराकिलो छ, पूर्वाधार र लागतको हिसाबले । त्यसैले यो महत्वाकांक्षी योजना ल्याएर धुर्मुस–सुन्तलीले ठूलै चुनौती मोलेका छन् ।

तर, ढुक्क छन् धुर्मुस–सुन्तली

सोमबार राजधानीमा धुर्मुस–सुन्तललीले ‘नमूना नेपाल’ बनाउने उद्घोष मात्रै के गरेका थिए, मनकारी हातहरु सहयोगमा जुटिहाले । मञ्चमै अल्का अस्पताल २५ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंक १० लाख दिन तम्सिए ।

यसैगरी मनकारी हातहरु जुट्दै गए भने, ५ अर्ब रुपैयाँ संकलन हुन गाह्रो हुनेछैन । धुर्मुस–सुन्तलीलाई यस्तै लाग्छ । उनीहरुले सोचेजस्तै नमूना नेपाल बनाउनका लागि अनुमानित पाँच अर्ब रुपैयाँ लाग्नेछ ।

‘सबैले परिवर्तन खोजिरहेका छन्’ सीताराम भन्छन्, ‘उहाँहरुको यो सकारात्मक सोचलाई साकार बनाउन हामी कटिवद्ध छौं ।’ सम्पूर्ण सहयोगीको साथ पाइयो भने ‘नमूना नेपाल’ बनाउन खासै गाह्रो नहुने उनको विश्वास छ ।

अहिलेसम्म उनीहरुले गरेको काम, त्याग, इमानले नमूना नेपाल निर्माणमा ठूलो ढाडस मिलेको छ । यसैको तागतमा आफ्नो परिकल्पना पुरा हुनेमा धुर्मुस–सुन्तली ढुक्क छन् ।

धुर्मुस भन्छन्, ‘परियोजना शिलान्यास गरेको दिन म घोषणा गर्नेछु कि, यति बर्षभित्र, यो महिनामा, यो दिन, यो गते, यो समयमा म सबै काम पुरा गरेर नमूना नेपाल हस्तान्तरण गर्नेछु ।’

अघिल्लो परियोजनाहरुमा धुर्मुस–सुन्तलीको राम्रो व्याकअप बनेको थियो, प्रवासी नेपालीहरु । जसै यी हास्य जोडी एकीकृत नमूना वस्ती बनाउन तम्सिए, विदेशी भूमिमा बसिरहेका नेपालीहरुले हार्दिकताका साथ सहयोगका हात बढाए । फलतः तीनवटै परियोजना सफल भयो ।

यसपटक पनि तिनै मनकारीहरुप्रति धुर्मुस–सुन्तलीले अपेक्षा राखेका छन् । ‘उहाँहरुले खुलेर सहयोग गर्नुहुनेछ भन्ने लाग्छ’ सीताराम भन्छन् । विदेशमा बस्ने नेपाली, जसले उतै घरजाम गरे र बच्चा जन्माए, उनीहरुका सन्ततीलाई नेपालको औधी माया हुन्छ । तर, नेपाल कस्तो छ, नेपालमा के के छन् भन्ने कुरा उनीहरुलाई थाहा छैन । ती प्रवासमा जन्मिएका नेपाली सन्तानहरुका लागि समग्र नेपाल चिहाउने झ्याल बन्नेछ, नमूना नेपाल ।

यसलाई उनीहरुले ‘राष्ट्रिय गौरव’को आयोजना भनेका छन् । र, सरकारले सहयोगी भूमिका खेल्नेमा विश्वस्त छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त अवधारणा सुनाउँदा दंग पर्दै यथोचित सहयोग गर्ने वचन दिएका थिए । आगनमी सरकारले पनि साथ दिनेमा धुर्मुस–सुन्तली ढुक्क छन् ।

व्यंग्य होइन यो

सुरुङ–मार्ग बनाउने कुरा त नेताहरुले गरेकै छन् । रेल गुडाउने सपना पनि बाँडेकै छन् । हिमालबाट केबुलकार कुदाएको कल्पना पनि गरेकै हुन् । तर, यसले कहिले मूर्त रुप पाउँछन् ? यसै भन्न सकिदैन ।

धुर्मुस–सुन्तलीको ‘नमूना नेपाल’मा भने हिमाल बन्नेछ । हिमालबाट रेल कुद्नेछ, सुरुङमार्ग हुँदै । त्यो सुरुङमार्ग पहाडमा पुग्नेछ । पहाडमा वा हिमालको फेदमा व्यवस्थित बस्तीहरु हुनेछन् । पहाडमा पशुपतिनाथ, स्वयम्भु, धरहरा जस्ता प्राचीन सम्पदाहरु ठड्याइनेछ । जब तराई पुगिनेछ, त्यहाँ जनकपुर, लुम्बिनीको सग्लो रुप देखिनेछ ।

झट्ट सुन्दा नेताको कोरा कल्पनामाथि व्यंग्य गरिएझैं लाग्छ, नमूना नेपालको अवधारणा । समाजको विसंगतिमाथि व्यंग्य गर्न माहिर धुर्मुस–सुन्तलीले यसपटक भने व्यंग्य गरेका होइनन् रे ।

‘यो हामीले उनीहरुलाई व्यंग्य गर्नका लागि भनेका होइनाैं’ धुर्मुस उर्फ सीताराम कट्टेल भन्छन्, ‘राजनीतिक दललाई हामीले व्यंग्य गर्ने, चुनौती दिने त कुरै आउँदैन नि ।’ बरु, उनीहरुले घोषणा गरे अनुसारको देश बनाउनमा आफूहरुले सक्दो सहयोग गर्ने सीतारामले बताए ।

एक सय २५ जातिको साझा फूलबारी

नमूना नेपाल पाँचदेखि एक हजार रोपनी क्षेत्रफलमा बन्नेछ । यसमा कृतिम हिमाल, पहाड र तराई बन्नेछ । यी भूगोलमा हिमाली, पहाडे र तराईबासीको एकीकृत बस्ती हुनेछ । ७५ जिल्लाकै प्रतिनिधित्व हुनेगरी सबै जातजाति यसभित्र अटाउनेछन् ।

बहुभाषी, बहुजाती, बहुसंस्कृतिले सम्पन्न समाज निर्माण हुनेछ । सीतारामका अनुसार एक सय २५ घर–परिवार ‘नमूना नेपाल’का सदस्य हुनेछन् ।

‘सिंगो देशभित्र जे–जे छ’ सीताराम भन्छन्, ‘त्यहाँ ती सबैकुरा हुनेछन् ।’ अर्थात नेताहरुले कल्पे जस्तै नेपालकै सानो रुप हुनेछ, त्यो ।

सेताम्मे हिम श्रृंखलामा यसको प्रवेशद्वार हुनेछ । त्यहीबाट रेल चढेर सिंगो नेपालको फन्को लगाउन सकिनेछ । नमूना नेपालभित्र भूगोल अनुरुपकै घरहरु बन्नेछ । बाटो, पुल, बिजुली, इन्टरनेटले यसलाई समृद्ध तुल्याउनेछ ।

विनासकारी भूकम्पले ध्वस्त भएका कतिपय प्राचीन महत्वका संरचना समेत यहाँ सग्लो देखिनेछन् । यस्तो नेपाल काठमाडौं आसपासको क्षेत्रमा बनाइने सीतारामको भनाइ छ । यसका लागि सरकारले उपयुक्त जग्गा जुटाइदिनेमा उनी विश्वस्त छन् ।

दुई व्यक्तिले यति ठूलो परियोजना बनाउन कसरी सम्भव होला ? तर, धुर्मस सुन्तलीले अहिलेसम्म यस्तै अपत्यारिला कामहरु सफल बनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment