Comments Add Comment

परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट

 

१० साउन, काठमाडाैं। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित दुई देशबीचको सम्बन्ध शान्तिदूत गौतम र उहाँका दर्शनले अझै प्रगाढ बनाएको बताए ।

उनले हालै दुई देशबीच हवाई सम्बन्ध स्थापना भएको उल्लेख गर्दै नेपाल-म्यान्मारवीचमा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री महराले नेपाल र म्यान्मारबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरी आपसी चासो र हितका विषयलाई अझ विस्तार गरिने धारणा राखे ।

भेटमा राजदूत ल्विनले बर्सेनि २० हजारदेखि २५ हजारसम्म म्यान्मारका पर्यटक नेपाल आउने गरेको जानकारी गराउँदै दुई देशबीच जनस्तरसम्म विस्तार भएको बताए ।  उनले दुई देशबीच परामर्श संयन्त्रका लागि आवश्यक पर्ने सबै तयारी आफ्नो देशका तर्फबाट पूरा गर्न पहल गर्ने बताए ।

यसैबीच, परराष्ट्रमन्त्री महरासँग इन्टरनेसनल कमिटी अफ द रेड क्रस (आइसिआरसी)का नेपाल प्रमुख आन्द्रे पक्विटले शिष्टाचार भेटवार्ता गरे ।

आन्द्रेले आगामी अगष्ट २० देखि २३ सम्म नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी क्षेत्रीय सम्मेलनको विषयमा उपप्रधानमन्त्री महरालाई जानकारी गराएको उपप्रधानमन्त्री महराका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment