Comments Add Comment

७२ घन्टाका लागि सीमा नाका बन्द

३१ भदौ, रौतहट । निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ ।

प्रवक्ता सुवेदीले निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको जानकारी दिए ।

निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो ।

खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो ।

अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुुकुर परिचालन भएका थिए ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले ७२ घन्टासम्मको लागि नेपाल–भारत सिमामा आवतजावत गर्नमा रोक लगाउँदै पूर्णरुपमा सीमा सिल गरेको छ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाई मध्य नजर राख्दै स्थानीय प्रशासनले रौतहट जिल्लासँग भारतको सिमा जोडिएको २६ किलोमिटर सिमा बन्द गरेको हो ।

शनिवार देखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् । सघन चेकजाँचका पछि पैदल यात्रुहरुलाई शनिवार हिँडन दिए पनि साँझबाट पैदल यात्रुहरु पनि रोकिने र पूर्णरुपमा सिमा सिल हुने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । तर अतिआवश्यक उपचारका लागि बिरामी बोकेर हिँडेका एम्बुलेन्सलाई भने छुट दिइएको छ ।


रौतहट जिल्लाको २६ किलोमिटर भू–भाग भारतीय सिमानासँग जोडिएको छ । जिल्ला प्रवेश गर्ने प्रमुख नाका गौर भन्सार कार्यालयको ढाँटमा ताल्चा लाएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सो क्षेत्रमा निगरानी बढाएकोे सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए ।

यसै गरी जिल्ला सुरक्षा समिति रौतहटले स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै जिल्ला भरी कुनै पनि किसिमको मदिरा ओसारपसार, बिक्री–वितरण तथा सेवनसमेत निषेध गरेको छ । असोज ३ गतेसम्मको लागि मदिराजन्य सबै किसिमका कारोबार तथा सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment