Comments Add Comment

‘कम्युनिस्टसँग भिड्न मसँग सबै चीज छ’

'अग्नि सापकोटालाई जेल जाने डर छ'

२८ कात्तिक, कुबिण्डे (सिन्धुपाल्चोक) आइतबार बिहान झण्डावाल गाडीको अघिपछि करीव तीन दर्जन गाडी र सयौं मोटरसाइकलको लावालस्करसहित सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत सिन्धुपाल्चोकको कुबिण्डे पुगे ।

कुबिण्डे बस्नेतका प्रतिस्पर्धी अग्नि सापकोटाको गाउँमात्रै होइन, माओवादी जनयुद्धकालमा धेरैले रगत बगाएको गाउँ पनि हो । त्यहीँ अग्नि सापकोटाको घरनजिकै बाँझोखेतमा मोहन बस्नेतको स्वागतका लागि मञ्च तयार पारिएको थियो ।

माओवादी युद्धको उदग्मस्थल भनिने कुबिण्डेमा कांग्रेसले करीव २ दशकपछि चुनावी कार्यक्रम गर्ने भएकाले पनि हुन सक्छ, सुरक्षा सतर्कता बढाइएको थियो ।

बस्नेतको चुनावी अभियान पछ्याउँदै हिँडेको अनलाइनखबर टिम कुबिण्डे पुग्दा कांग्रेसका नेताहरुले अग्नि सापकोटा र उनका भतिज माओवादी जिल्ला अध्यक्ष सुबोध सापकोटाको नामै लिएर आफ्ना कार्यकर्तालाई केही भएमा भिड्नका लागि कांग्रेस तयार रहेको बताइरहेका थिए ।

मञ्चको पछाडि मोहन बस्नेतसँग चुनावी वार्ता गर्ने क्रममा हामीले लड्ने भिड्ने कुरा गर्नुको कारण सोध्यौं । मन्त्री बस्नेतले निर्धक्कसँग भने- हामी शुरुमा आक्रमण गर्दैनौं । तर, कम्युनिस्टले लखेट्न थाले भने जे पनि गर, म जिम्मा लिन्छु भनेर भाइहरुलाई भनेको छु ।’

वहालवाला सञ्चारमन्त्री बस्नेत र भूतपूर्व सञ्चारमन्त्री सापकोटाबीचको चुनावी प्रतिस्पर्धा कटुतापूर्ण बनिरहेको दुबैसँगको संवादबाट हामीले महसुस गर्‍यौं ।

यिनै विषयमा केन्दि्रत रहेर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बस्नेतसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

आफ्ना प्रतिस्पर्धी अग्नि सापकोटाको घरछेउमै आइपुग्नुभएको छ, पहिलो पटक हो कुबिण्डेमा कांग्रेस प्रवेश गरेको ?

चुनावी अभियानको सिलसिलामा म यसअघि पनि आएको थिएँ । तर, उमेदवार भएर पहिलोपटक यहाँ आएको हो । माओवादीको विगबिगी भएको ठाउँ हो यो । तर, जनतालाई अनुभूति अहिले हुन थालेको छ । त्यसलाई रोक्नका लागि पनि म यहाँ आएको छु । एमाले माओवादी गठबन्धनबाट वाक्क भएकाहरुले पनि मलाई यहाँ आउनुपर्छ भनेर भनिरहेका थिए, त्यसैले उमेदवार भएर यहाँ आएको छु ।

चुनावी अभियानका क्रममा माओवादी गढमा प्रवेश गरिरहनुभएको छ, कस्तो हुँदैछ प्रतिस्पर्धा ?

विकासको हिसाबले ‘सिन्धुपाल्चोकको कर्णाली’ को उपमा पाएको यस क्षेत्रमा म आएपछि साविकको क्षेत्र नम्बर १ को जस्तै विकास हुन्छ भन्ने आशाले पनि मलाई उम्मेदवार हुनुपर्छ भनेर धेरैले अनुरोध गरेका थिए । मेरो विकासे कुराले पनि धेरै प्रभावित भएका छन् । अहिले चान्स पनि त्यस्तै भयो, यो क्षेत्र मेरोमा पर्‍यो, त्यसैले पनि म यहाँ आएको पहिलो पटक हो ।

जहाँसम्म गढको कुरा छ, यो माओवादीको गढ होइन । गढ कसरी भयो भनेर बुझ्नुपर्छ । हिजो यहाँ जनताले चाहेर कोही पनि माओवादी भएको थिएनन् । उनीहरुको दमनले गर्दा माओवादी हुनुपरेको हो । हामी सबैलाई थाहा छ, पहिलो पटक प्रहरी यहीँ मरेको हो, त्यतिमात्रै होइन, वृद्ध कृष्णप्रसाद सापकोटालाई काँग्रेस भए बापत उनीहरुले यहीँ मारे ।

होइन, यही गाउँका धेरै माओवादीसमर्थक र सामान्य जनताको रगत पनि त बगेको छ नि । तपाईले चाहिँ माओवादीलाई उल्टै धम्की दिनुभयो रे, आक्रमण गर्छु भनेर हो ?

सहीदहरु धेरै भए भनेर उहाँहरुले भन्नुभएको छ । भए पनि होला, उहाँहरुकोतर्फ धेरै क्षति भएको पनि छ । तर, यो ठाउँलाई माओवादी अखडाका रुपमा जुन हिसाबले बनाउनुभएको थियो, अब जनता माओवादीको दादागिरीमा बस्नेवाला कोही छैनन् ।

अहिले पनि यस ठाउँका धेरै युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसमा प्रवेश गर्दा ती युवाहरुलाई धम्की दिएका रहेछन् । मैले उनीहरुलाई भनँे- केही समस्या भयो भने म थप मद्दत पठाउँछु, ढुक्क भएर जानुहोस् भनेर मैले साथीहरुलाई पठाएको थिएँ । यो ठाउँमा काँग्रेस वा कोही लोकतन्त्रवादीहरुले यहाँ कुटाइ खानुपर्‍यो भने हामी अन्त तिमीहरुलाई छाड्दैनौं भनेपछि माओवादीहरु ब्याक भएका हुन् । अरु धम्की सम्की केही दिएको होइन ।

तपाई यस क्षेत्रमा आउँदै गर्दा प्रहरीले सुरक्षा व्यवस्था बलियो बनाएको रहेछ, तपाईले बलप्रयोगको नीति लिनुभयो भन्ने आरोप अग्नि सापकोटा पक्षबाट आइरहेको छ नि ?

तपाईको कोही प्रतिनिधि छन् भने मेरो चुनावभरि पठाउनुहोस, मेरो कार्यक्रममा आज केही कमी छ, हामीले प्रश्ाासनलाई केही भनेको छैन । अब उहाँहरुले के सोच्नुभयो, मलाई थाहा छैन । म कहिल्यै पनि प्रहरी लिएर हिड्दिनँ पनि । र, म प्रहरीलाई जानकारी पनि गराउँदिन । सायद मन्त्री भएका कारणले पनि सुरक्षा अलि बढी भएको हुन सक्छ ।

होइन, हामीले जान्न खोजेको, भिडन्तको सम्भावना भएकाले प्रहरी सुरक्षा बढी खटाइएको हो कि ?

अघिल्लो चुनावमा मांखा भन्ने ठाउँमा एमाले नेताका श्रीमतीको हात काटिएको रहेछ, गाउँमा कोही जान नसकुन् भनेर बाटोमा रुख ढालिएको रहेछ । हामी तलबाट खुकुरीहरु लिएर बाटो पन्छाएर माथि गएका थियौ । माथि जाँदा माओवादीहरुले पुरै रक्सी खुवाएर आफ्ना कार्यकर्ताहरुलाई राखेका रहेछन् । अन्यथा नलागोस, म त्यहाँ गएर ‘लड्ने भए म हुँ कमाण्डर, लु आइज’ भनेपछि उनीहरु अलि हच्के ।

त्योबेलामा मैले एकजना पनि प्रहरी लगेको थिइनँ । त्यसैले पनि तपाईहरुले के बुझुनहोस् भने लड्न भिड्न म आफैं सक्षम छु, प्रहरी लानै पर्दैन ।

दुईटा ठूला वामपन्थी मिलेका छन्, यो क्षेत्रको स्थानीय तहको मत हेर्दा एमाले पहिलो छ, त्यसमा माओवादी थपिएको छ, माओवादीका शीर्षस्थ नेता अग्नि सापकोटासँगको प्रतिस्पर्धा तपाईलाई निकै चुनौतिपूर्ण भएन र ?

उनीहरु दुई पार्टी मिलेका छन् । १८ हजार बढी भोट हिसाब गरेर बस्नुभएको छ उहाँहरु । त्यो एउटा बोराको धान अर्काेमा लगेर खापेको जस्तो हुँदैन जनताको मत । अग्नि सापकोटा ठूलो नेता पक्कै हो, मेरो अभिन्न मित्र पनि हो । तर, जनताको नेता म नै हुँ । त्यो कुरा चुनावी परिणामले देखाउँछ ।

हिजो पनि फराकिलो मतान्तर हुँदाहुँदै मैले चुनाव जितेकै थिएँ । म जुन क्षेत्रमा चुनाव जित्दैछु, ०१५ सालमा कांग्रेसको जमानत जफत भएको ठाउँ हो । मैले ०५६ सालमा पनि एमालेका वरिष्ठ नेता अमृतकुमार बोहारा र राप्रपाका पशुपति राणालाई हराएकै हो । मलाई त ठूला नेता र कमजोर ठाउँमा चुनाव जित्ने स्वाद बसिसकेको छ ।

यो ठाउँमा कांग्रेसले भोट माग्दा आउँदा लुकेर बस्ने ठाउँ हो । यहाँ हेर्नुस् जनता मेरो पक्षमा छन् । म त सय मा सय प्रतिशत चुनाव जित्छु । मलाई कन्फिडेन्ट छ, सामान्य मतले होइन, धेरै मत फरकमा चुनाव जित्छु ।

वामपन्थी जनमतको दुई बाहुल्य भएको ठाउँमा तपाईको यो आत्मविश्वास चाहिँ कार्यकर्तालाई उत्साह थप्नका लागि मात्रै हो कि ?

त्यही त अच्चम छ नि । म जमानत जफत भएको क्षेत्रबाट त्यो क्षेत्रका ठूला नेताहरुलाई हराउने मान्छे हुँ । ठूला नेताहरुलाई हराउने बानी मलाई परेको छ । हिजो पनि हाम्रो भोट ७ हजार मात्रै थियो, तर मैले भोट बढाएर २० हजारले चुनाव जितेँ । तपाईलाई भनौं, मैले चुनाव जितिसकेको छु, अब आजदेखि त यो मेरो बोनस हो ।

उनीहरुको १८ हजार भोट केही होइन, जित्नलाई साढे ९ हजार भए पुग्छ । त्यो भोट कसरी मेरोतिर ल्याउने भन्ने मलाई सबै हेक्का छ । केही ठूला आमसभा बाहेक अरु केही गाउँमा जान बाँकी छ, अब ती ठाउँमा गएर नाफाको भोट बढाउँछु ।

अग्नि सापकोटालाई भोट नदिएर तपाईलाई जनताले किन रोज्ने ?

उहाँ असाध्यै अनपपुलर मान्छे हो, उहाँको जनतासँग सम्पर्क नै छैन । खेताला लगाएर प्रचार-प्रसार गर्नुपर्छ । उहाँले विकास निर्माणको यो चाँहि गतिलो काम गरेँ भनेर देखाउने केही पनि छैन ।

जनताले देखेका छन्, उनले ज्यान मार्ने उद्योगको मुद्दा खेपिरहेका छन् । अदालतले कति बेला मुद्दा फैसला गर्ने हो र बालकृष्ण ढुंगेलजस्तै गरी जेल जानुपर्ने हो भन्ने त्रास अग्नि सापकोटामा छ ।

दुईपटक चुनाव जित्दा उनलेे सिन्को भाँचेका छैनन् । यहाँका मान्छेहरु विगतका बेला हत्या हिंसा, काटमारको अहिले चाँडो भन्दा चाँडो बदला लिने योजनामा छन् र त्यो बदला दिलाउने उपयुक्त व्यक्ति म हो ।

तपाईहरुका कुरा सुन्दा र चुनावी अभियान फलो गर्दा यहाँको चुनाव हिंसात्मक हुने र भिडन्तहरु हुने खतरा देखिन्छ, त्यसमाथि तपाईले ह्याकुलेले मिच्ने र बदला लिने भाषा प्रयोग गरिरहनुभएको छ, हिंसा र झडपका घटनाहरुलाई रोक्न तपाईको भूमिका के हुन्छ ?

उनीहरुले पिस्करमा गएर हिजो पनि हामीले मान्छे मारेको हो, अहिले पनि भोट नदिए मार्छु भनेर भनेका छन् । हृयाकुला भनेको के हो ? हृयाकुला मुटु छेउमा हुन्छ, मुटु दह्रो बनाएर हिँड्नुपर्छ भन्न खोजेको हो मैले ।

काम हामीले गरेका छौं । म त खेलाडी पनि हुँ नि । म मार्शल आर्टको विद्यार्थी पनि हुँ । खेलको नियम पनि मलाई थाहा छ । खेलको रिङमा गएपछि एकछिन विपक्षी बलियो छ भने पनि पिटाइ खाएर खपेरै भए पनि ठेलेको ठेलेकै गरेर एक दुई पञ्च हानेर भए पनि जित्नुपर्छ । कमजोर मान्छेले त बलिया खेलाडीहरुलाई हुत्याइदिएको हुन्छ, म त बलियो क्यान्डिडेेट हो नि ।

मैले ह्याकुला भनेको ठूलो हिम्मत गर्नुपर्छ भनेको हो । त्यो हिम्मत हिजो पनि देखाएको हो र आज पनि देखाउँछु नै । उनीहरुको जस्तो बन्दुक बोकेर होइन, हातहतियार देखाएर होइन । ठूलो छाती बनाएर जानुपर्छ । केही भयो भने छातीले वा हृयाकुलाले मिच्दै जानुपर्छ भनेको हुँ । अहिले पनि म त्यो भनाइमा अडिग नै छु ।

तर, तपाईले नाम चलेका गुण्डाहरु लिएर हिँड्नुभएको र तिघ्रेहरुलाई लिएर झडप गराउन खोजेको आरोप विपक्षीले लगाइरहेका छन् नि ?

सुन्नुस, मसँग लागेका युवाहरुले धेरै जागिर पाएका छन् । व्यवसाय गरेका छन् । म राम्रो काममा लगाउँछु, उनीहरुलाई । सबै बलिया बाँगा छन् । अहिले पनि ८/९ वटा डोजाङ सञ्चालनमा छन् । मसँग भएका त्यस्तै बलिया बाँगा छन् त म के गरुँ ? अब तिनीहरुलाई तिघ्रा सुकाएर आइज भनेर, दुब्लो भएर आइज भनेर भन्न मिलेन ।

तपाईले चुनाव जित्ने आधार के हुन् ?

एमाले र माओवादीको गठबन्धन भए पनि एमालेका धेरैलाई उनीहरुले बरबादी बनाएका छन् । ती मान्छेहरुले मलाई भोट दिन्छन्, अग्नि सापकोटालाई दिँदैनन् ।

बतासेबाट एउटा भाइले फोन गरेको थियो, कोही पनि माओवादीलाई भोट हाल्न तयार नै छैनन् । दाइ म खुलेर तपाईको पक्षमा हिँड्न सक्दिनँ । तर, तपाईको खप्पर नै बलियो रहेछ, अब मैले पनि तपाईलाई नै भोट हाल्ने भएँ भनेर एमालेको भाइले फोन गरेको थियो ।

हिजो एमालेको गढ भनेको ठाउँमा पनि तपाईलाई नै बढी भोट आउने भयो भनेर भनेका छन् । हिजो पनि हत्या हिंसाका कारण यो क्षेत्र पछि पर्‍यो र अब यो क्षेत्रको विकास भनेको मोहन बस्नेतले मात्रै गर्छ भन्ने जनतालाई परिसकेको छ ।

अब म कार्यकर्ता भेटघाटमा हिँड्छु, आमसभा हुन्छ । तर बामपन्थीहरु आमसभा भनेर हिँड्छन् र कोही नआएपछि कार्यकर्ता भेला भनेर र्फकन्छन् । त्यसकारण पनि बामपन्थी र अग्निजीप्रति मैले कसैको आर्कषण देखेको छैन ।

तपाईले बल प्रयोग गरेर चुनाव जित्न खोजेको हो ? केही झडप त तपाईको तर्फबाट भइसकेको देखियो नि ?

मेरो भडप गर्ने कुनै भुमिका हुँदैन । म लोकतान्त्रवादी हुँ । मैले साथीभाइ सबैलाई भनेको छु, सबै ठाउँमा शिष्ट हुनुहोस् । शिष्ट हुँदाहुँदै पनि आइलागे भने त्यहाँ त सुरक्षा त गर्नु पर्‍यो नि । त्यतिबेला प्रतिकार गर्नुपर्छ ।

मैले हाम्रा भाइहरुलाई तिमीहरु माओवादीले जस्तैगरी भै झगडा गरेर नहिँड्नु भनेको छु । हामीले नगर्दा नगर्दै कसैले लखेटी लखेटी आयो भने बिरालो ले त ढोका थुनेर कुट्न थाल्यो भने टोक्छ । अब मान्छेलाई त त्यो गर्‍यो भने भिड्नुहोस म जिम्मा लिन्छु भनेको छु ।

तपाईको राजनीतिक एजेण्डा नै छैन, हान्ने ठोक्ने मात्रै कुरा गर्नुहुन्छ भन्ने आरोप पनि रहेछ नि ?

एजेण्डा हाम्रो लामो छैन । आज देशमा बामपन्थी र लोकतान्त्रवादीहरुबीच गठबन्धन भएको छ । यो देशमा बहुमतको सरकार नबन्दा के-के भयो, हामी सबैलाई थाहा छ । अहिले जनताले लोकतन्त्रबादीलाई भोट हाल्ने कि संसारभर लोप भएको साम्ययादीलाई भोट हाल्ने ? जनताले विकासका लागि हामीलाई भोट हाल्नुपर्छ ।

समग्रमा भन्नु पर्दा विकासको प्रमुख एजेण्डा हामीसँग छन् । मेरो क्षेत्रमा अहिले पनि १०/११ वटा स्काभेटर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ । कतिपय हामी आफैं किन्छौं । कतै भाडामा लिन्छौं । यो क्षेत्रमा १०/१० स्काभेटर अब साना सडकहरुमा सञ्चालन हुन्छन् । ठूला सडकहरुमा करोडौं बजेट हालिएको छ, यिनै हुन् मेरा एजेण्डा ।

तपाईले विकासको बजेट अपचलन गरेको आरोप विपक्षीले लगाएका छन्, अग्नि सापकोटाले तपाईको साबिक क्षेत्रमा विकास नभएको आरोप पनि लगाएका छन्, यसमा तपाईको जवाफ के छ ?

मेरो प्रतिस्प्र्धी मित्र दुइ अग्नि सापकोटा पटक मन्त्री हुनुभयो । के-के गर्नुभयो सबैलाई थाहा छ । सञ्चारमन्त्री हुनुभयो, उहाँकै गाउँमा फोन लाग्दैन । वनमन्त्री हुदाँ भूकम्प पीडितहरुलाई काठ दिने भनेको, खै कतिजनाले पाएका छन् ? सबैले देखेका छन् । एउटा टावर यो जिल्लामा ल्याएर राखेका छैनन् । अहिले मैले ५० वटा टावर यो जिल्लाका लागि पाइपलाइनमा राखेको छु ।

गुम्बामा फोन पुगिसकेको छ । अब गोल्चे, गुम्बा लगायतका स्थानमा सहजै फोन सञ्चालनमा आउनेछन् । मैले गरेको काम उहाँले गरेको भए हुन्थ्यो नि । न उहाँले आफ्नो क्षेत्रका लागि केही गर्नुभयो ,न जिल्लामा गर्नुभयो । न त देशकै लागि केही गर्नुभयो । मैले त थोरै समयमा नै धेरै गरेँ ।

स्वास्थ्य राज्यमन्त्री हुँदा मैले जिल्लामा के-के गरेको छु, सबैलाई थाहा छ । मन्त्री हुँदा केही गर्नुपर्‍यो नि होइन ? । मैले त अब हजारौं युवाहरुलाई रोजगारी दिने योजना अघि ल्याइरहेको छु ।

तपाईले जिल्लाका राजनीतिक कार्यकर्तालाई पाखा लगाएर व्यापारीलाई टिकट दिएको आरोप पनि रहेछ नि यतातिर ?

सुन्नुहोस, यी व्यवसायीहरुको ४ वटा हाइड्रोपावरमा लगानी छ । अब त्यो हाइड्रोमा यहाँका स्थानीयले रोजगारी पाउनेछन् । यो जलविरे खोलामा नौ वटा हाइड्रोपावर छन् । ती सबैमा कांग्रेसका साथीहरुको लगानी छ । मैले त शुरुदेखि नै कांग्रेसका साथीहरुलाई कमाउने धन्दामा लाग्न सहयोग गरेको छु । व्यापार व्यावसायमा लाग्न प्रेरित गरेको छु । अहिले कांग्रेसकाहरुले कमाएका छन्, यो कुरामा कम्युनिस्टहरुलाई डाहा भएको छ ।

अर्को कुरा, अब हामी यहाँ स्काभेटर सञ्चालन गरेर टोलमा मात्रै होइन कि घरघरमा सडक लैजाने अभियानमा लागेका छौं, उनीहरुसँग स्काभेटर छैन । आफ्नो घर जाने बाटो त उनीहरुले बनाएका छैनन्, अब गाउँमा त कसरी बनाउन सक्नु र ?

मेरो क्षेत्रको प्रदेशसभामा उम्मेदवार एउटा बैंकको अध्यक्ष छ, उद्योग बाणिज्य संघको सदस्यहरु छन् । तर उनीहरु कांग्रेसका पुराना कार्यकर्ता पनि हुन् । हाम्रा अरु उम्मेदवारहरु पनि त्यस्तै हिसाबले सबै रुपमा सक्षमा छन् ।

अर्काे कुरा, कम्युनिस्टहरु बाहै्र महिना राजनीतिका गफ गरेर बस्छन्, सिन्को भाँच्न सक्दैनन् । जनताले त हेर्छन् नि, कसले काम गरेको छ भनेर ? हामीले चाहाने हो भने अहिले नै सैयांै व्यक्तिलाई रोजगारी दिन सक्छौं । उनीहरुले रोजगारी दिन सक्छन् ? विकास, रोजगारी, त्यो सबै हामीले मात्रै दिन सक्ने भएकाले पनि बामपन्थीहरु हाम्रा उमेदवारसँग त्रसित भएका छन् ।

अरुले जे भने पनि हामीलाई जनताले साथ दिएका नै छन् । उनीहरुले पनि व्यावसायीलाई टिकट नै दिएका थिए नि । अब भोटेकोशीको के भयो सबैलाई थाहै छ नि (माओवादीबाट निर्वाचित भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल २२ किलो सुन काण्डमा मुछिएर फरार छन्) । म त्यता जान चाहान्न ।

बामपन्थीहरुलाई अहिले हाम्रो अवस्था देखेर डाहा र जलन भइरहेको छ । ल्हारक्याल लामालाई के भनेर माओवादीले सिफारिस गर्‍यो त ? कम्युनिष्टहरुले कस्ता-कस्तालाई टिकट दिएको छ, हामीलाई थाहा छैन र ? हामी यिनीहरुसँग जेमा पनि प्रतिस्पर्धा गर्न तयार छौं ।

तस्वीरः कमल प्रसार्इं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment