Comments Add Comment

४९ मतदाताका लागि १ करोड खर्च !

७ मंसिर, ताप्लेजुङ । भौगोलिक बिकटताका कारण हिमाली जिल्लाका उत्तरी क्षेत्रमा निर्वाचन सामाग्री लगायत कर्मचारीको व्यवस्था कठिन त छदैछ, त्यसमा यस्ता ठाउँहरु पनि छन् जहाँ थोरै मतदाताका लागि निर्वाचन आयोगले ठूलो खर्च गर्नुपर्ने बाध्यता छ ।

यस्तैमा ताप्लेजुङको अति दुर्गम क्षेत्र फक्ताङलुङ गाउँपालिका ६ स्थित ग्याब्ला आधारभूत बिद्यालयमा केन्द्रका ४९ जना मतदाताका लागि आयोगको खर्च करोडभन्दा माथि उठ्ने देखिएको छ ।

४९ मतदाता रहेको यस केन्द्रमा स्थानीय तह निर्वाचनमा मात्र २९ जनाले भोट हालेका थिए । चीसोका कारण धेरैजसो बेसी झरिसकेको अवस्थामा यस चुनावमा त्यति मत पनि नझर्ने सम्भावना छ ।

तर, यस मतदात केन्द्रका लागि ९ जना कर्मचारी खटाइसकिएको छ । साथै त्यहाँका लागि सबै मतदान सामाग्री हेलिकोप्टरबाट ढुवानी गरिएको छ ।

सो केन्द्रमा ९ जना कर्मचारीनै खटाउँदा करीव २ लाख ३७ हजार खर्च भइसकेको छ । अझैे मतपेटिका लगायत निर्वाचन सामाग्री लाने र ल्याउनका हेलिकोप्टरको प्रयोग गर्नुपर्ने भएकाले सबै खर्च जोड्दा झण्डै करोड पुग्न सक्ने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

स्थानिय तहको निर्वाचनलाई नै आधार मान्ने हो भने यस केन्द्रमा मतदाता भन्दा सुरक्षाकर्मी र कर्मचारीको संख्या धेरै हुन जाने उनले बताए ।

ग्याब्ला सहित ५७ मतदाता रहेको फक्ताङ्लुङ गाउँपालिका ७ को याङ्मा आधारभुत विद्यालय, १३१ मतदाता रहेको सोहि गाउँपालिका ६ को घुन्सा मावि र २२२ मतदाता रहेको ओलाङ्चुङगोलाको मतपेटिका यस पटक हेलिकोप्टरबाट सदरमुकाम ल्याउने तयारी भएको छ । ती सबै केन्द्रमा नौ जनाका दरले कर्मचारी निर्वाचनका लागि परिचालन गरिएको छ ।

यसै गरी १८४ मतदाता रहेको सिदिङ्वा गाउँपालिका १ को कालिखोला निमाविको केन्द्र, १९४ मतदाता रहेको मिक्वाखोला ४ को केन्द्र र २१८ मतदाता रहेको मेरिङ्देन गाउँपालिका ६ को केन्द्रमा पनि ९ जनाकै दरले कर्मचारी परीचालन गरीएको छ भने २६४ मतदाता रहेको सिलिङ्वा १ को केन्द्रमा १० जना कर्मचारी परीचालन गरीएको छ । यी सबै केन्द्र जिल्लाका कम मतदाता भएका केन्द्र हुन । यी केन्द्रमा अन्य केन्द्रको तुलनामा निर्वाचनका लागि अन्यको तुलनामा बढी खर्च देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment