+
+

चिनियाँ रेल चढेर आउने समृद्धि र दलका घोषणापत्र

ध्रुवराज अधिकारी ध्रुवराज अधिकारी
२०७४ मंसिर १० गते १५:३८

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी घोषणापत्रमा सबै प्रमुख दलले आफ्नो वा आफू सम्मिलित गठबन्धनले चुनावमा बहुमत ल्याए नेपालको समृद्धिका लागि मरिमेट्ने बाचा गरेका छन् । यो आफैंमा सकारात्मक छ ।

यसले अब नेपाल राजनीतिक आन्दोलनको चरण मूलरुपमा पूरा गरेर आर्थिक समृद्धिकरणको चरणमा प्रवेश गरेको छनक दिन्छ ।

तर, दलका घोषणापत्रको मिहीन अध्ययन गर्दा के आभास हुन्छ भने नेपाललाई समृद्ध कसरी बनाउन सकिन्छ भन्नेमा उनीहरुसित प्रस्ट सोच छैन । के गर्नुपर्छ भन्नेमा दलहरुबीच एकप्रकारको अघोषित सम्मति बनेको छ, तर कसरी गर्ने भन्ने भन्नेमा उनीहरु कुहिराको कागजस्तै रुमल्लिएको प्रतीत हुन्छ ।

वामपन्थी लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले उपरोक्त समस्यालाई निकै सटिक ढंगले एक ट्विटमार्फत् औंल्याएका छन् ।

उनको भनाइ छ– ‘योजना र व्यवस्थापन प्रबन्ध, पूँजी र प्रविधि, दक्षता र निर्माण सामग्रीको लेसमात्र खाकाविनाका जसका जति ठूला विकासे वाचा छन्, त्यो त्यति नै ठूलो राजनीतिक ठग हो ।’

हाम्रोजस्तो पछौटेपनले ग्रसित मुलुकको समृद्धिका लागि मूलतः तीन आधारहरुका आवश्यकता पर्छ– पुँजी, प्रविधि र ज्ञान । तर, समृद्धिका लागि यी तीन चीज कसरी जुटाउने भन्नेमा दलहरुको दृष्टिकोण प्रस्ट छैन ।

देशभित्र र बाहिरबाट कसरी पुँजी जुटाउने भन्नेमा उनीहरुको खाका प्रस्ट छैन । अझ खासगरी वापन्थी दलहरुको हकमा उनीहरुमा रहेको उत्तरको छिमेकी बाहेकका ठूला शक्तिराष्ट्र विरोधी ‘स्कुल’ र चिन्तनको पृष्ठभूमिमा उनीहरुले कसरी विदेशी पुँजी भित्र्याउने हुन्, त्यो उनीहरुले खुलाउन बाँकी नै छ ।

रेलमार्ग र विद्युतलगायत सम्बन्धी ठूला बाचाबाहेक अन्य क्षेत्रमा पुँजी भित्र्याउनेबारे घोषणापत्रमा केही भेउ पाउन सकिन्न । नेपाललाई समृद्ध बनाउन विदेशी बजारसम्म नेपालमा उत्पादित सामान निर्यात गर्ने हैसियत हामीले विकास गर्नुपर्छ ।

भौतिक पूर्वाधार त अर्थतन्त्रका रक्तधमनी मात्रै हुन्, ती धमनीमा बग्ने रगत त हाम्रो देशमा उत्पादन हुने वस्तु र सेवा हुन् । देशको कुन क्षेत्रमा के कस्ता वस्तु र सेवाको उत्पादन गरेर निर्यात गर्ने ? ती वस्तु र सेवा उत्पादनमा कस्तो मोडेल अपनाउने ? यी विषयमा दलहरुका घोषणापत्रहरुले कुनै प्रस्ट चित्र प्रस्तुत गर्न सकेका छैनन् ।

उदाहरणका लागि बितेका साढे तीन दशकमा उत्तरको छिमेकी चीनले वस्तु निर्यातमा जुन सफलता हासिल गरेको थियो त्यो ‘गाउँ र सहरका उद्यम’ मा विदेशी कम्पनीसित सहकार्यबाट सुरुभएको थियो । चिनियाँहरुले युरोप र अमेरिकाका कम्पनीसित सहकार्यको माध्यमबाट प्रविधि सिकेका थिए ।

वरिपरिका ताइवान, दक्षिण कोरिया, जापानजस्ता मुलुकमा श्रमको मूल्य बढ्दै गएको मौका छोपेर चिनियाँहरुले श्रम सघन वस्तु उत्पादनका क्षेत्रमा विदेशी कम्पनीहरुलाई लोभ्याउने नीति लिएका थिए ।

हामीले आजको सन्दर्भमा विदेशी कम्पनीलाई लोभ्याएर देशमा रोजगारी सिर्जना गर्न र उनीहरुबाट प्रविधि सिक्न के कस्तो नीति अपनाउनुपर्ने हो, त्योबारे दलका चुनावी घोषणापत्रमा दिशनिर्देश भएको पाइएन ।

छिमकी भारतमा मोदी सरकारले कम्तिमा ‘मेक इन इण्डिया’ को नारा दिएको छ । तर, नेपालमा कुनै पनि दलले आफ्नो घोषणापत्रमा यस्तो कुनै कार्यक्रम दिन सकेका छैनन्, जसले गर्दा नेपालमा वस्तु तथा सेवाको उत्पादनमा गुणात्मक वृद्धि आउन सकोस् ।

नेताहरुका चुनावी भाषण सुन्दा यस्तो लाग्छ, अब केही वर्षमा चिनियाँ रेल नेपाल भित्रिँदै छ र चीनले गरेको उन्नति र प्रगति पनि त्यही रेल चढेर आउने छ ।

विदेशी रेल आउँदैमा देशको विकास हुन्थ्यो भने ब्रिटिशहरुले रेलको लिग बिछ्याएपछि भारत उतिबेलै समृद्ध हुन्थ्यो होला । ब्रिटिशहरुले छाडेर जानेबेलासम्म भारतका प्रमुख सहरहरुबीच रेलमार्ग बिछ्याइसकेका थिए ।

तर, किन भारत झन् गरिब भयो र भारत स्वतन्त्र हुँदा उसको अर्थिक वृद्धिदर किन ऋणात्मक थियो भन्ने हामीले बुझ्नुपर्छ ।

चिनियाँ वस्तुनिर्यातले अमेरिका र युरोपका जस्ता ठूला अर्थतन्त्रमा समेत तबाही मच्चाइरहेको समयमा नेपालजस्तो वस्तु र सेवाको उत्पादन नगन्य भएको मुलुकले चीनसित रेलमार्ग जोड्न प्रदर्शन गरेको हतारोबाट नेपाली नेताहरुमा अर्थशास्त्रको कखरा पनि ज्ञान नभएजस्तो प्रतीत हुन्छ ।

नेपालको अहिलेको प्रथामिकता देशभित्रको यातायात सञ्जालमा हुनुपर्छ । वस्तु निर्यातको क्षमता विकास नगरी चीनसित ह्वात्तै ढोका खोल्ने नीति आत्मघाती हुनसक्छ ।

त्यसैगरी, आन्तरिक रेलको कुरा गर्नुपर्दा, काठमाडौंमा रेलको लिग बिछ्याउनभन्दा पहिले गर्न सकिने थुप्रै साना काम छन् जसप्रति कसैको ध्यान गएको छैन ।

उदाहरणका लागि, राजधानी काठमाडौं लगायतका सहरमा यातायात यति अव्यवस्थित छ कि सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्नु यातना सहनु बराबर छ ।

यातायात क्षेत्रमा यो बेथिती भएको यो क्षेत्रमा निजीकरणलाई भित्र्याएकाले हो । भारत र चीनका प्रमुख सहरमा सरकारी बसहरु चल्छन् ।

हाम्रोमा सबै निजी क्षेत्रलाई सुम्पिएको छ । त्यसकारण, वाइक र निजी सार्वजनिक सवारी साधन हटाएर पूर्णतः ठूला सरकारी बसको व्यवस्था गर्न ढिला भइसकेको छ ।

सडकको नियामित मर्मत संभार, धुलो नियन्त्रण, पर्याप्त सार्वजनिक शौचालयको व्यवस्था, खेलकुद पार्क निर्माण, खानेपानीको व्यवस्थापन आदि मात्रै एक वर्षमा गर्न सक्ने हो भने काठमाडौं साँच्चिकै कान्तिपुरी नगरी बन्न सक्छ ।

त्यसपछि मात्रै चक्रपथमा रेलबारे सोच्दा हुन्छ । व्यवस्थापन क्षमताविकास नगरी रेलको लिग बिछ्याउँदा कि त विदेशीमात्रैको भर पर्नुपर्ने होइन भने झनै भद्रगोल सिर्जना हुने अवस्था आउन सक्छ ।

कुनै पनि देशको विकासका लागि बिजुली, रेलमार्ग जस्ता भौतिक पूर्वाधारको खाँचो हुन्छ । तर, त्यसको सँगसँगै अगाडि बढेको समाज वा विकसित देशहरुबाट सिक्न नसक्ने समाज वा देश कहिल्यै समृद्ध हुन सक्दैन ।

नेपालमा विद्यमान शीतयुद्धकालीन कम्युनिस्ट स्कुलका कारण अगाडि बढेका समाजबाट सिक्ने कुरामा हामी नेपाली निकै पछाडि परेका छौं । आजको दुनियाँमा सबैभन्दा अगाडि बढेको ज्ञान र प्रविधि अझै पनि पश्चिमी देशहरुमा छ । सँगसँगै उनीहरुको शिक्षा प्रणाली उदार पनि छ ।

उदार शिक्षा प्रणालीमा ज्ञान लुकाउने होइन, हस्तान्तरण गर्ने मान्यता कायम गरिएको हुन्छ । पछिल्लो समयमा नेपालबाट अमेरिका पढ्न जाने विद्यार्थीको संख्या बढेको खबर प्रकाशित भएका छन् । यो सकारात्मक संकेत हो ।

तर, नेपालमा शिक्षाका लागि विदेश जानेलाई ’विदेश पलायन भएको’ भनेर अपमानित गर्ने संस्कृति अझै पनि कायमै छ ।

खासगरी वामपन्थी दलका नेताहरुले अमेरिका र युरोपका उत्कृष्ट विद्यालयमा पढ्न जाने प्रतिभा र उमेर भएका युवाहरुलाई त्यहाँ जान प्रेरित गर्नुको साटो नानाथरी तथाकथित साम्राज्यवाद र विस्तारवादविरोधी नाराबाजीमै उनीहरुका जीवनका सुनौला वर्षहरु खर्च गराइदिन्छन् ।

त्यसैगरी अर्को विषय केमा सजग हुनुपर्छ भने अनुदारवादी मुलुकहरुमा विदेशी र स्वदेशी विद्यार्थीका लागि फरक प्रकारको शिक्षाप्रणाली खडा गरिएको हुन्छ । अनुदारवादी समाज ज्ञान हस्तान्तरणमा पनि अनुदार नै हुन्छन् । त्यसकारण, संसारको सबभन्दा अगाडि बढेको ज्ञानका लागि तिर्थस्थल अझै पनि उदारवादी पुँजीवादका केन्द्रहरु नै हुन् ।

अहिले अमेरिकामा पढ्ने विदेशी विद्यार्थीमा ३२ प्रतिशतभन्दा बढी चिनियाँ विद्यार्थी छन् । चीनको विकासबाट हाम्रा नेताहरु दङ्ग छन् ।

आफ्नो देशका जनता भोकानाङ्गा भएकोमा भन्दा पनि कुन चाहिँ महाशक्तिले कुन अर्को महाशक्तिलाई घेरा हाल्न खोज्यो भन्नेमा नेपालका बुज्रुकहरुलाई पीर छ ।

महाशक्तिको खेलमा हामी किन फस्ने ? तर, चीनले कसरी विकास गर्‍यो भनेर त्यसका ‘सेक्रेट’हरु जान्ने चासो कमैलाई छ । चीनको विकास धेरै हदसम्म अमेरिकी र युरोपेली ज्ञानमा उभिएको छ भन्दा अत्युक्ति हुँदैन ।

चीन सरकारले युरोप र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयबाट डिग्री आर्जन गरेका वा त्यहाँ काम गर्ने चिनियाँ प्राध्यापकहरुलाई आकर्षक आम्दानीको व्यवस्था गरेर ‘सय प्रतिभा’ र ‘हजार प्रतिभा’ जस्ता कार्यक्रम मार्फत देश फिर्ता बोलाउने गरेको छ ।

तर, नेपालमा आफ्ना प्रतिभाहरुलाई फिर्ता बोलाउन कुन चाहिँ दलको सरकारले आजसम्म के योजना ल्यायो ?

जबसम्म सार्वजनिक यातायात, स्वास्थ्य र शिक्षालाई सरकारीकरण गरिन्न वा विभिन्न तहका सरकारहरुले सञ्चालन गर्दैनन् तबसम्म नेपालको समृद्धिको कल्पनासम्म गर्न पनि निकै गाह्रो छ ।

दलहरुका घोषणापत्रमा ज्ञान र प्रविधि भित्र्याउनेबारे त चर्चासम्म पनि छैन । देशका विश्वविद्यालयहरुको नाजुक अवस्था छ । तीनको अवस्था सुधार्ने, बढीभन्दा बढी क्याम्पसहरुलाई आवासीय बनाउने, विश्वविद्यालयमा भर्ना पाउने विद्यार्थीलाई आवास र छात्रवृत्तिको व्यवस्था गर्ने आदि विषयबारे दलका घोषणापत्रमा कुनै नयाँ कार्यक्रम देखिएन ।

दलहरुबीच वृद्धभत्ता बढाउने विषयमा प्रतिस्पर्धा छ, तर तिनै बुढा आमाबाबुका जेहेन्दार छोराछोरीलाई छात्रवृत्ति बढाएर अर्थिक समृद्धिका लागि आवश्यक सक्षम जनशक्ति तयार गर्ने वा मानवीय पुँजीको निर्माण गर्नेमा कसैको चासो छैन ।

त्यसैगरी, विदेशी प्रतिष्ठित विश्वविद्यालयसित सकेसम्म धेरै संयुक्त कार्यक्रम सञ्चालन गरेर विकसित पश्चिमा मुलुकबाट नेपालमा ज्ञान भित्र्याउन सकिन्थ्यो । यसबारे पनि कुनै पनि दलका घोषणापत्र बोल्दैनन् ।

जबसम्म सार्वजनिक यातायात, स्वास्थ्य र शिक्षालाई सरकारीकरण गरिन्न वा विभिन्न तहका सरकारहरुले सञ्चालन गर्दैनन् तबसम्म नेपालको समृद्धिको कल्पनासम्म गर्न पनि निकै गाह्रो छ ।

तर, समाजवाद हुँकार गर्ने कम्युनिस्टहरुले समेत सार्वजनिक यातायत र स्कुल क्याम्पसहरुलाई सरकारीकरण गर्दै लैजाने प्रतिबद्धतासम्म पनि घोषणापत्रमा जनाएका छैनन् ।

समग्रमा भन्नु पर्दा दलहरुले आफ्ना घोषणापत्रमा समृद्धिको बाचा त गरेका छन् तर त्यसको लागि स्पष्ट मार्गचित्र कोर्न सकेका छैनन् ।

समृद्धिका लागि खासगरी अगाडि बढेका समाज र विकसित देशबाट ज्ञान र प्रविधि भित्र्याउने कुराको महत्वबारे त दलहरु मठ्ठै छन् ।

निश्कर्षमा भन्नुपर्दा समृद्धि सपनाको व्यापार होइन कि यसका लागि ठोस खाका र मार्गचित्र यतिबेलाको आवश्यकता हो ।

लेखकको बारेमा
ध्रुवराज अधिकारी

‘द्वन्द्व व्यवसायी’हरूले राजनीतिक हिंसामा कसरी भावनाको परिचालन गर्छन् भन्ने विषयमा सोधरत अधिकारी हाल नेपालको माओवादी आन्दोलनमा भावनाको परिचालनको विषयमा विद्यावारिधि गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?