Comments Add Comment

वैदेशिक रोजगारी सहायता कक्षः उजुरी आउँछन्, ठग भेटिँदैनन्

३५ लाखसम्म ठगिएका उजुरी दर्ता

६ पुस, काठमाडौं । केही साताअघि तनहुँका दिनेश थापा पारिवारिक जमघटका लागि काठमाडौं आए । बाटोमा हिँड्ने क्रममा एक युवकसँग उनको चिनजान भयो । सँगै बसेर उनीहरुले चिया पिए । गफैगफको सुरमा थापाले वैदेशिक रोजगारीमा जाने आफ्नो योजना सुनाए ।

जवाफमा ती व्यक्तिले आफूसमेत विदेश जाने तयारीमा रहेको सुनाए । ‘दिनेशले विदेश जाने इच्छा भएको सुनाएपछि ती व्यक्तिले आफू पनि विदेश जान लागेको र सँगै जान आग्रह गरे,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘त्यसपछि केहीबेरअघि मात्र चिनजान भएको व्यक्तिको विश्वासमा तेस्रो व्यक्तिलाई दिनेशले रकम बुझाए ।’

तर, रकम बुझाएपछि दुवै बेपत्ता भए । अनि, दिनेश पुगे महानगरीय प्रहरी अपराध महाशाखाको शरणमा ।

राजधानीको त्यस चिया पसलमा भेट भएको व्यक्तिको बारेमा दिनेशलाई खासै जानकारी छैन । प्रमाण पनि छैन । त्यसैले अनुसन्धानमा केही समस्या भएको छ ।

‘चिया पसलमा कति व्यक्तिले चिया पिउँछन् । उनीहरुले पनि चिन्ने कुरै भएन,’ ती प्रहरी अधिकारी भन्छन्, ‘अनुसन्धानको क्रममा अहिले ती ठगसँग सम्बन्धित अर्का एक व्यक्ति पत्ता लगाएका छौं । र, अनुसन्धान अगाडि बढेको छ ।’

ठगीमा विदेशी नागरिकको समेत संलग्नता

चाबहिलमा रहेको एपी एजुकेसन कन्सल्टेन्सीको सञ्चालकसँग सामाजिक सञ्जालबाट एक विदेशी नागरिक नजिक भए ।

ती विदेशी नागरिकले आईईएलटीएस उत्तीर्ण गर्न नपर्ने, उमेर हद पनि नहुने, पढाइको ग्यापले पनि केही नगर्ने, सातामा एक दिन कक्षा हुन्छ, अरु दिन काम गर्दा हुन्छ बताउँदै कन्सल्टेन्सी सञ्चालक चुन्टु लामालाई प्रलोभन देखाए । र, विद्यार्थी जम्मा गर्न लगाए ।

लामाले नेपालमा सोहीअनुरुपले प्रचार अगाडि बढाए । अस्ट्रेलियामा आफ्नै फ्युचर एकेडेमी कलेज भएको बताउँदै उनीहरुले विद्यार्थी माग गरेका थिए । र, नेपाली विद्यार्थीहरुबाट अस्ट्रेलियाली नागरिक रविन्द्रको खातामा रकम हाल्न लगाएका थिए । लगत्तै, उनीहरुले काठमाडौंको एक होटेलमा विद्यार्थीका लागि सेमिनारसमेत गराए ।

तर, पैसा लिएर स्वदेश फर्किएका अस्ट्रेलियाली नागरिक रविन्द्र, मलेसियाली नागरिक रमादास भाष्कर र धर्मालिंगम एकाएक सम्पर्कविहीन भए । त्यसपछि नेपालमा रहेका विद्यार्थी र कन्सल्टेन्सी सञ्चालकले बल्ल आफूहरु ठगिएको थाहा पाए ।

अन्ततः कन्सल्टेन्सी सञ्चालक आफैं महानगरीय प्रहरी अपराध महाशाखाको विभागको वैदेशिक रोजगार, मानव बेचविखन तथा ओसारपसार सहायता कक्षमा पुगे । र, अनुसन्धान अगाडि बढ्यो ।

सहायता कक्षमा ८६७ उजुरी

उक्त कक्ष २२ असोज ०७२ देखि शुरु भएको हो । हालसम्म आठ सय ६७ उजुरी परेका छन् ।

ती उजुरीहरु कतिपय लिखित रुपमा आएका छन् भने कतिपय मौखिक । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका व्यक्तिहरुको गुनासो सुन्नका लागि प्रहरीले विभिन्न मुलुकबाट सम्पर्क गर्न ००९७७-११७७ नम्बरको हटलाइन पनि राखेको छ ।

कक्षका डीएसपी मनोहर भट्टले अनलाइनखबरसँग भने, ‘चार सय ३८ वटा समस्या समाधान भइसकेका छन् । बाँकी चार सय २९ वटाको अनुसन्धान भइरहेको छ ।’

डीएसपी भट्टका अनुसार मानिसहरु थोरै पैसामा वैदेशिक राजेगारीका लागि आकर्षक गन्तव्य मानिएका ठाउँहरुमा जान पाउने प्रलोभनमा ठगिइरहेका छन् ।

‘समस्या परेपछि उजुरी गर्न आएका हुन्छन् । तर, उनीहरुसँग प्रमाण हुँदैन,’ भट्ट भन्छन्, ‘बजारमा भेटेकै भरमा पैसा दिएको हुन्छ । त्यसैले खोज्न एकदमै गाह्रो हुन्छ ।’

पैसा दिएको व्यक्तिको फोन नम्बर वा ठेगाना मात्रै थाहा भएको अवस्थामा पनि अनुसन्धान प्रक्रिया छिटो सकिने उनी बताउँछन् ।

हटलाइनमा ४२२ उजुरी

प्रहरीले वैदेशिक रोजगारीमा गएकाहरुको सहायताका लागि शुरु गरेको हटलाइनमा अहिलेसम्म ४२२ उजुरी आएका छन् । तीमध्ये अधिकांश विदेशबाट आएका हुन् । कक्षका अनुसार १८ वटा उजुरी नेपालबाट परेको छ भने चार सय तीन वटा विदेशबाट ।

उजुरीपछि विभिन्न देशबाट चार सय ११ जनालाई उद्धार गरिएको छ ।

विदेशबाट सहायताका लागि आउने फोनहरु प्रायः खाडी मुलुकका हुन्छन् । ‘विदेशबाट आउने कलहरुमा कुवेत, मलेसिया, साउदी अरब, कतारबाट आउने बढी हुन्छन्,’ डीएसपी भट्ट भन्छन् ।

उनका अनुसार हटलाइनमा फोन गर्ने अधिकांश पीडितको गुनासो नेपालमा म्यानपावर कम्पनीले भनेअनुसारको तलब नपाएको भन्ने हुन्छ ।

‘भनेजति तलब नपाउने, भनेको कम्पनीमा काम नपाउने, तोकिएभन्दा बढी समय काममा खटिनुपर्नेजस्ता समस्याहरु हटलाइनबाट आउने गरेका छन्,’ उनले भने, ‘कोहीचाहिँ स्वास्थ्यस्थिति खराब भएकाले वा पारिवारिक समस्याका कारण छिटो घर फर्किन इच्छुक हुन्छन् ।’

कतिपय अवस्थामा आफू काम गर्न गएको कम्पनी नै ‘कोल्याप्स’ भएर बिचल्ली परेरसमेत फोन आउने गरेको छ ।

कक्षले जनाएअनुसार त्यसरी उजुरी दर्ता भएको समयदेखि बढीमा एक महिनाभित्रमा नेपाली विदेशबाट नेपाल फर्किने गरेका छन् । त्यस्ता उजुरीमा उनीहरुलाई विदेश पठाउने म्यानपावरसँग समन्वय गरेर स्वदेश फर्काउने काम गरिन्छ । त्यसका अलावा परराष्ट्र मन्त्रालय, वैदेशिक राजगार विभागसमेतको सहयोगमा विदेशमा गएका कामदारलाई फिर्ता बोलाउने काम गरिन्छ ।

म्यानपावर कम्पनी सञ्चालकलाई महाशाखामा ल्याएर अलपत्र परेका व्यक्तिलाई कति दिनभित्रमा उद्धार गरिसकिन्छ भन्ने सीमा तोकेर हस्ताक्षरसमेत प्रहरीले गराएको हुन्छ । र, निश्चित समयावधिभित्र उद्धार नगरे म्यानपावर सञ्चालकलाई कारवाहीसमेत गर्ने प्रावधान छ ।

विदेश जाने लोभमा ठगिएको उजुरी बढी

कक्षमा विदेश लगिदिने बताउँदै विभिन्न प्रलोभन देखाएर ठगी गरेका उजुरीहरु प्रशस्त आउने गरेका छन् । अहिलेसम्म तीन सय ८३ वटा उजुरी वैदेशिक रोजगारीको ठगीसँग सम्बन्धित छन् । यसरी ठग्ने ३१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘जापान, युरोप, अमेरिकालगायत देशमा पठाइदिने बताउँदै ठगी गरिएका घटनाहरु सामान्यतया सातामा ३/४ वटा आइरहेकै हुन्छन्,’ डीएसपी भट्ट भन्छन्, ‘३५ लाख रुपैयाँसम्म ठगिएको उजुरी दर्ता भएको छ ।’

मानव बेचविखनसँग सम्बन्धित १९ वटा उजुरी सहायता कक्षमा दर्ता भएका छन् भने ५४ जना पीडित भएका छन् । बेचविखनमा संलग्न २४ जना पक्राउ परेका छन् भने ४७ जनाको उद्धार भएको छ ।

प्रहरीको सुझाव- एजेन्टको भर नपर्नुस्

वैदशिक रोजगारीमा जाँदा एजेन्टको माध्यमबाट नजान सर्वसाधारणलाई प्रहरीको सुझाव छ ।

‘एकछिन भेट भएकै भरमा प्रलोभनमा पर्नु हुँदैन,’ डीएसपी भट्ट भन्छन्, ‘दर्तावाला म्यानपावरसँग सम्पर्क गरेर भनेअनुसारको तलब, कम्पनी हुन्छ कि हुँदैन राम्रोसँग परामर्श लिएर मात्रै विदेश जानु पर्छ ।’ हचुवाका भरमा विदेश नजान उनको सुझाव छ ।

‘चिया पसलमा चिनजान भएकै भरमा विश्वासमा परेर सहज तरिकाले जानु हुन्न,’ उनी सुझाव दिन्छन् ।

सहायता कक्षमा उजुरी दिने पीडितले सकेसम्म कानूनी कारवाहीभन्दा पनि ठगीको पैसा फिर्ता होस् भन्ने चाहना व्यक्त गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment