+
+

दयाहाङ राई नभइदिएको भए ?

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २० गते २०:०२

‘दयाहाङ राई जस्तो अभिनेता आधा सताब्दीमा एक पटक मात्र जन्मन्छ ।’

फिल्मकर्मी निर शाहले हचुवाका भरमा यसो भनेका होइनन् । दयाहाङमा यस्तो सामर्थ्य छ, जसको चुम्बकिय आकर्षणले दर्शकलाई हलसम्म तान्न सक्छ । रंगकर्मको आलोकमा उभिएका दयाहाङ आफैमा एक साधक हुन् ।

दयाहाङ राई नभइदिएका भए ?

नेपाली चलचित्रले काखी च्यापेको पात्र र प्रवृत्तिको धङधङ्ती अझै बाँकी रहन सक्थ्यो । सोभित बस्नेत मार्काको ‘चटके’ फिल्म र त्यसले खडा गर्ने सुकिला मुकिला ‘हिरो’हरु हिमपातमा टिसर्ट लगाएर नाचिरहेका हुन्थे वा नयाँ लुगालाई सिलाएर गरिब पात्रको भूमिका खेल्दै हुन्थे । त्यसो नहुन पनि सक्थ्यो । तर, दयाहाङ राईले पर्दापण गर्नुअघिसम्म यस्तो प्रवृत्ति जारी थियो ।

जब दयाहाङको इन्ट्री भयो

भोजपुरको खावा गाउँबाट लाहुर जान भनी हिँडेका, राजधानीमा कवि बन्ने धुनमा भुलिएका र अभिनयकर्ममा टेक्न पुगेका दयाहाङले नेपाली चलचित्रलाई हेर्ने र बुझ्ने कोण नै परिवर्तन गरिदिए ।  हिरो भनेकै खाइलाग्दो, अग्ला, ह्यान्डसम हुनुपर्छ भन्ने पुरातन मान्यतालाई ध्वस्त बनाउँदै उनी नेपाली चलचित्रमा यसरी स्थापित भए, अरु ‘हिरोहरु’ स्वतः लाखापाखा लागे ।

‘मेरो एउटा साथी छ’ फिल्ममा सानो भूमिकामा अभिनय गर्दासम्म चिल्लोचाप्लो हिरोहरुकै हालिमुहाली थियो । चिटिक्क अनुहार र सुकिला गेटअपकै भरमा ‘हिरो’को तक्मा भिरेका हिरोहरु नाचेर वा फाइट खेलेर अढाई÷तीन घण्टा पर्दामा विताउँथे । दर्शकसँग भौतिक दुरी राखेर रेडिमेड ‘स्टारडम’ बनाउने चेष्टा गर्दागर्दै उनीहरु पर्दाबाट अलाप भए । यसो हुनुमा दयाहाङ जस्ता अभिनयको ताकतमा उभिएका हिरोको उदय खास कारण हो ।

हिरोइज्म बिनाको हिरो

२००६ मा अनागरिक खेल्दै गर्दा अथवा त्यो भन्दा पनि अगाडि, कवि बन्ने मनोभाव बोकेर शहरका गल्ली चक्कर लगाइरहेका बेला दयाहाङ जस्तो थिए, आजको दयाहाङ संभवत उस्तै छन् ।

दयाहाङ गहकिलो गुण भनेको मिलनसार स्वभाव, शालीन व्यक्तित्व, हार्दिकतापूर्वक व्यवहार हुन् । उनी दर्शक÷शुभेच्छुकसँग हात मिलाउँछन् । मुसुक्क हाँस्छन् । कहिलेदेखि चिने जस्तै गरेर वात मार्छन् । खेतलापातमा भेटिने यार जस्तै आत्मियता दर्शाउँछन् । करियरको या उचाईमा समेत उनले दम्भलाई पैतलामुनी दबाएका छन् । उनी पटक्कै हिरोइज्म देखाउँदैनन् ।

फिल्मबाट उनी आकर्षक पारिश्रमिक बुझ्छन् । दर्शकमाझ लोभलाग्दो लोकप्रियता छ । मल्टिप्लेक्स र शहरका भित्ताहरु उनकै तस्विरले रंगिएको छ । तर, उनी सामान्य जीवनयापन गर्छन् । अनामनगरमा भाडाको फ्ल्याटमा बस्छन्, पत्नी, छोरा र भान्जीहरुको साथमा ।

अब आफ्नै घर कहिले ठड्याउने भन्ने हाम्रो प्रश्नमा उनले अनकनाउँदै जवाफ दिए, ‘भर्खरै घडेरी किनेको छु । बिस्तारै बनाउनुपर्ला ।’

उस्तै परे ट्याम्पु चढ्छन् वा बसमा कोचिन्छन् । उनी भन्छन्, ‘गोठाला–खेतला गरेर हुर्किएको मान्छे, साधारण जीवन नै मनपर्छ ।’

उनको खानपान, पहिरन शैली एकदम साधरण छ । साग हालेर पकाइएको सुँगुरको मासु र भात स्वाद मानीमानी खान्छन् । सामान्य पहिरन लगाउँछन् । ‘मन परेको लुगा फुटपाथबाट पनि उठाइन्छ’ दयाहाङ भन्छन्, ‘महंगो हुनुपर्छ भन्ने छैन ।’

एउटा फिल्म खेलेको भरमा हिरोइज्म देखाउने जमातमा दयाहाङ अपवाद हुन् । ब्लकबस्टर फिल्मको थुप्रो लगाएर पनि उनमा तडकभडक छैन । दयाहाङको यो गुण उनको करियरको प्लस प्वइन्ट हो ।

दर्शकको मनोविज्ञान के हुन्छ भने, उसले पर्दामा आफुजस्तै पात्र खोज्छ । सायद दयाहाङमा दर्शकले त्यो अनुभूत गर्न पाउँछन् ।

दयाहाङको दम

बर्तमान फिल्म–बजारमा सबैभन्दा विकाउ नाम हो, दयाहाङ राई । दयाहाङ राईको आगमनसँगै नेपाली चलचित्रका पात्र र प्रवृत्ति फेरिए ।

दयाहाङले गर्ने अभिनय, गेटअप, भूमिकाले पनि सिंगो फिल्मलाई बोक्न सक्छ भन्ने आत्माविश्वास नेपाली चलचित्रमा पलायो । त्यही कारण खस्रो छाला भएको, चिम्सा आँखा भएको, औसत उचाई भएका दयाहाङ ‘हिरो’ बनेर सिल्भर स्क्रिनमा उदाए । नेपाली फिल्म हाँक्ने उनी यस्तो सारथी बने, जसले फरक दिशा र गति समाते ।

दयाहाङको आगमनपछि नै हो, चलचित्रमा ‘हिरोइज्म’को ह्याङओभर सकिएको । एउटा सामान्य पात्रको कथाले पनि फिल्मलाई डोहो¥याउन सक्छ भन्ने कुरा स्थापित एवं प्रमाणित गर्न दयाहाङको उपस्थिती अहंम् थियो ।

उनको आगमनपछि नै हो, नेपाली फिल्म भन्नसाथ ‘नाक खुम्च्याउने’ पुस्ता हलतिर फर्किएका । ‘दयाहाङ राईको फिल्म लागेको छ’ भन्दै स्कुले विद्यार्थीदेखि तन्नेरीहरु टिकटको लाममा उभिए ।

त्यसअघिको अवस्था कस्तो थियो भने, नेपाली फिल्मको लाममा बस्दा दर्शक संकोचले खुम्चन्थे ।

झट्ट हेर्दा उनी हिरो जस्ता थिएनन्, जो हामीले सोच्ने र बुझ्ने गथ्र्यौं । तर फिल्ममा उनी यसरी उभिए, त्यसले हाम्रो दृष्टिदोष औंल्याइदियो । पर्दामा उनी हिरो भएनन्, बरु पर्दा बाहिर हिरो भए ।

दयाहाङको करियरको टर्निङ प्वइन्ट ‘लुट’ फिल्म हो । तर, लुटका उनी हिरो होइनन् । हिरोको भूमिकालाई जोडदार बनाउने उनी ‘गोफ्ले’को रुपमा इन्ट्रि हुन्छन् ।

तर, यहि साहयक भूमिकाबाट उनले आफुलाई स्थापित गरे । त्यसपछि बधशाला, साँघुरो, टलकजंग भर्सेस टुल्के जस्ता निख्खर स्वादको फिल्ममा उनले भिन्न भिन्नै भूमिकामा आफुलाई समेटे । ‘कवड्डी’, ‘कवड्डी कवड्डी’, ‘छड्के’, ‘कर्कश’ जस्ता फिल्मले उनको स्टारडम कायम गरिदियो ।

क्रेजको साइट इफेक्ट

अन्ततः दयाहाङ आफैमा एउटा ब्रान्ड बने । दयाहाङ भएपछि फिल्म हेर्छ भन्ने मनोविज्ञानले फिल्ममेकर्सलाई पच्छ्याउन थाल्यो । फलतः उनीहरु दयाहाङमाथि फिल्म बनाउन थाले ।

फिल्मको कथाले मागेर होइन, मगाइएर दयाहाङलाई हिरो बनाइयो । एकपछि अर्को फिल्ममा उनी छाउन थाले । फिल्म भनेकै दयाहाङको मात्र हो भन्ने आम बुझाई रह्यो । उनको डिमान्ड चर्को रुपमा बढ्यो । लोफर, जोले, सम्बोधन, फन्को, घामपानी, लप्पन छप्पन, त्यान्द्रो, लालटिन जस्ता फिल्ममा दयाहाङलाई घुसाइयो ।

तर, यसको साइट इफेक्ट उनको करियरमा प¥यो ।

किनभने, एकपछि अर्को फिल्ममा उस्तै भूमिकामा दोहोरिएका दयाहाङको रस निथ्रिदै गयो । किनभने, फिल्ममेकर्सले ‘दयाहाङ’ बिक्री गर्ने क्रममा उनलाई जस्ताको तस्तै पेश गर्ने प्रवृत्ति बढ्यो । त्यसपछि भने दर्शकले दयाहाङ भन्नसाथ आँखा चिम्लेर टिकट काट्नुअघि सर्तक भए, ‘यसमा पनि नयाँ के होला र ?’

यस्तो लाग्थ्यो, फिल्म दयाहाङकै लागि बनाइएको हो । यसरी दयाहाङलाई मूख्य मेनु बनाएर पस्किने उपक्रम दर्शकलाई बेस्वादको लाग्न थाल्यो । उनका पछिल्ला फिल्महरु एकपछि अर्को चिप्लिदै गए ।

हामीले सोधेका थियौं, ‘जस्तोपायो त्यस्तो फिल्म खेल्न थालेपछि दयाहाङले दर्शकको अपेक्षा पुरा गर्न सकेनन् नि ?’

जवाफमा उनी अलि गंभिर भए, ‘खै म हाम्रो फिल्मकर्मीहरुको केहि बुझ्दिन हौ । एउटा स्क्रिप्ट लिएर आउँछ र फिल्म खोल्नुप¥यो भन्छ । सबै स्क्रिप्ट पढ्ने फुर्सद पनि हुँदैन । मन नपरेको स्क्रिप्टमा पनि काम गर्नुपर्ने वाध्यता छ ।’

उनले स्पष्टसँग के पनि भने भने, ‘धेरै फिल्ममेकर कमजोर स्क्रिप्ट लिएर आउँछन् । त्यसलाई सोझौ पन्छाउन सकिदैन । खेल्दिन भन्न सकिदैन । अलि पछि विचार गरौंला भनेर टार्ने गर्छु । तर, उनीहरु मलाई नै पर्खेर बस्छन् । एक बर्ष, दुई बर्ष पनि मलाई पर्खन्छन् र स्क्रिप्ट सुधारेर आउँछु भन्छन् । तर जब म उनीहरुका लागि समय निकाल्छु, स्क्रिप्टमा खास सुधार भएको हुँदैन । यसरी फस्ने गरेको छु ।’

दयाहाङको स्वभाव के छ भने, कुनैपनि कुरालाई सोझौ नकार्न नसक्ने । कसैको मन दुखाउन नचाहने । सबैलाई समान व्यवहार गर्न खोज्ने, सबैप्रति मित्रवत् व्यवहार गर्न खोज्ने । उनको यहि गुण नै व्यवसाकिय जीवनका लागि बोझिलो बन्ने गरेको छ । अहिलेको अवस्था ठ्याक्कै त्यही हो ।

निर्देशक तथा फिल्म समिक्षक नविन सुब्बाले भन्ने गर्छन्, ‘दयाहाङ पनि राजेश हमालकै बाटोमा लागे ।’ अर्थात फिल्मको संख्या बढाउने चक्करमा आफ्नो स्तर गुमाए ।

फिल्मकर्मीहरु भन्छन्, ‘नेपाली चलचित्रलाई सहि ट्र्याकमा डोहो¥याउने शक्ति छ दयाहाङ राईसँग । तर, उनी फिल्मको ट्र्याक सोझ्याउने भन्दा आफ्नै दुनो सोझ्याउने ध्याउन्नमा छन् ।’

कुँद्न बाँकी हीरा

दयाहाङ राईको पछिल्ला फिल्महरु केलाउने हो भने, अधिकांशले उल्लेख गर्न योग्य छैनन् । ति फिल्महरु दर्शकले रुचाएनन् । हलमा चलेनन् ।

तर, त्यसमा दयाहाङको अभिनय भने जिम्मेवार छैन । हरेक फिल्ममा उनी अब्बल छन् । यद्यपी जबरजस्ती उनीमाथि कथा लाद्ने प्रवृत्तिले दयाहाङलाई डुबाएको हो । त्यसमाथि उनले सही स्क्रिप्ट छनौट गर्न सकेनन्÷जाँगर देखाएनन् । एकपछि अर्को चलचित्रमा व्यस्त हुँदा उनी यन्त्रिक बन्न पुगे ।

करिब १२ बर्षे फिल्मी करियरमा दयाहाङका विर्सनलायक फिल्म दर्जन हाराहारीमा छन् । तर, यहि अवधीमा उनले यस्ता फिल्म पनि दिएका छन्, जो संग्रहनिय छन् । यसको अर्थ उनी आफैमा कमजोर भने होइनन् । उनलाई निखार्न, माझ्न सकेको अवस्थामा एकदमै अब्बल अभिनय निकाल्न सकिन्छ ।

किनभने, कलाकारले आफ्नो पक्षबाट जतिसुकै मिहेनत गरेपनि निर्देशक लुलो भयो भने फिल्म झुर बन्छ । यद्यपी एउटा राम्रो निर्देशकले भने दयाहाङबाट स्तरिय काम लिन सक्छन् । ‘सेतो सूर्य’लाई उदाहरणको रुपमा मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?