Comments Add Comment

धरानका नयाँ सडक फूलबारीसहित अपाङ्गतामैत्री

२३ पुस,इटहरी । हृविल चियर प्रयोगकर्ताहरुले अब धरानका नयाँ सडकहरुमा समस्या भोग्नुपर्ने छैन ।

धरानका मेयर तारा सुब्बाको सक्रियतामा बन्ने हरेक धराने सडकहरु अपाङगतामैत्री हुने इन्जिनियर सुरज श्रेष्ठले बताए ।

‘सडक भनेको शारीरिक रुपमा सबल भएकाहरुले मात्रै प्रयोग गर्ने हैन यो शारीरिक रुपमा असहजता भएकाहरुले पनि प्रयोग गर्ने सार्वजनिक सडक हो’, धरान उपमहानगरपालिकाका इन्जिनियर श्रेष्ठले भने, ‘अब बन्ने सबै सडकहरु अपाङ्गता भएकाहरुलाई पनि सहज होस र हृविल चियर शान्तपूर्वक चलाउन सकियोस भनेर यस्ता सडक बनाउने कार्य सुरु भएको छ ।’

अपाङगतामैत्री सडकहरु बनाउने क्रममा १४ फिटदेखि २० फिटसम्मका दुवै प्रकारका सडकमा हृविल चियर गुडाउन लायक सडक बनाउने इन्जिनियर श्रेष्ठले बताए ।

अब धरानका हरेक १४ फिटका सडकमा एक तिर र २० फिटका सडकमा दुवैतिर हृविल चियर कुद्न मिल्ने सडक बनाइने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

सार्वजनिक निजी साझेदारीले गल्लिगल्लिमा कालोपत्रे बाटो पुर्‍याएर प्रशंसा कमाएको धरानले अब बन्ने सडकहरु अपाङगतामैत्री बनाएर अर्को राम्रो अभ्यास गरिने पनि श्रेष्ठले बताए ।

हाल धरानको १६ को बिजुली अफिस लाइनको १७६ मिटर लामो सडकबाट त्यस्तो सडक निर्माणको मूर्त कार्यान्वयन सुरु भएको श्रेष्ठले बताए ।

फुटपाथ र फूलबारीसहितका सडक निर्माण गरिने

धरानका नयाँ सडकहरु फुटपाथ र फूलबारी दुवै भएको बन्ने बताइएको छ ।

१४ फिटे बाटोमा एकातिर हृविल चियर र पैदलयात्री हिँड्ने फुटपाथ र एक फिट चौडाइमा फूलबारी बनाइने इन्जिनियर श्रेष्ठले बताए ।

२० फिटका सडकमा भने दुवै तिर फुटपाथ र फूलबारी बनाइने पनि श्रेष्ठले बनाए ।

हरित नगरी धरान र अपाङगतामैत्री आधुनिक सडक संरचना बनाउन फुटपाथ र फूलबारीसहितका नयाँ सडकहरु बनाइने पनि इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

धरानका हरेक नयाँ भौतिक संरचना अपाङगतामैत्री बनाइने

धरान उपमहानगरपालिका १५ र १६ नम्बर वडाका धेरै टुक्रे सडकहरु पनि अपाङगतामैत्री हुने धरानका मेयर तारा सुब्बाका प्रेस संयोजक योगेशबाबु काफ्लेले बताए ।

उनले भने, ‘हाल बन्दै गरेको बिजयपुर पुग्ने हात्तीसार मुनिको बाटो पनि अपाङगतामैत्री हुनेगरी बनाइदैछ ।’

सडकमात्रै नभएर अबका उपमहानगरका निर्माणाधीन संरचनाहरु पनि अपाङगतामैत्री बनाउन मेयर तारा सुब्बाले घोषित कार्यक्रम ल्याएको प्रेस संयोजक काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment