Comments Add Comment

म्यानपावरको ठगी धन्दाः पैसा असुल्दै, कार्यालय सार्दै

२४ पुस, काठमाडौं । काठमाडौंको एक म्यानपावर कम्पनीले डिमान्ड लेटरविनै विदेश लगिदिने बताउँदै लाखौं रुपैयाँ लिएर ठगी गर्ने गरेको भेटिएको छ ।

सिनामंगलमा रहेको ब्यू स्टार ओभरसिज नामक मेनपावरले वैदेशिक रोजगारीमा जान चाहने युवालाई विभिन्न प्रलोभन देखाएर १० लाख ६५ हजार रुपैयाँ ठगी गरेको खुलेको हो ।

आफू ठगिएको गुसोनो गर्दा म्यानपावरले आफ्नो कार्यालय स्थान समेत फेरेको छ ।

स्टार ओभरसिजबाट पीडित सिन्धुपाल्चोकको कदमबास नगरपालिकाका ओसन गिरी लगायत २६ जनाले ठगिएको गुनासो गरेपछि म्यानपावरले कानुन विपरित अन्यत्र कार्यालय सारेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दुई म्यानपावर सञ्चालक पक्राउ

पीडितहरुको उजुरीपछि प्रहरीले म्यानपावरका सञ्चालकद्वय राम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको छ ।

विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश नपठाइ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितहरुले दिएको उजुरी लगत्तै प्रहरीले म्यानपावर कम्पनीमा चेकजाँच गरेको छ । र, ३ सय ७१ वटा राहदानी, भिषा इन्ट्री रजिष्टर, स्वीकृत नलिएका डिमाण्ड लेटरहरु लगायतका फाइल लगायतका कागजात बरामद गरेको जनाइएको छ ।

उनीहरुले राहदानी सङ्कलन पूर्व आवश्यक पर्ने कानुनि प्रकृति समेत पूरा नगरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

डिमाण्ड लेटरविनै रकम लिइयाे 

महाशाखाका अनुसार उनीहरुले कुवेत, दुबई, कतार, साउदी अरब लगायतका देशमा रोजगारीका लागि पठाइदिने भन्दै डिमाण्ड लेटरविनै ३ सय ७१ जनाबाट राहदानी र रकम लिएको समेत पुष्टि भएको छ ।

म्यान पावर सञ्चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

कानुनतः वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्नलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कसुर अनुसार ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना, ३ वर्षदेखि ७ वर्षसम्म कैद सजाय र मेनपावर कम्पनीको इजाजतपत्र समेत रद्द हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment