Comments Add Comment

काठमाडौंमा दैनिक सय मोबाइल हराउँछन्, १० वटा भेटिन्छन्

मोबाइल भेटिन्छन्, चोर भेटिँदैनन्

२ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको मोबाइल खोजतलास उपशाखामा ३० पुस दिउँसो एक वृद्धा हस्याङफस्याङ गर्दै आइन् ।

‘लौ न बाबु, मेरो मोबाइल भेटाइदिनुपर्‍यो,’ उनले त्यहाँ बसेका एक प्रहरी जवानलाई भावुक हुँदै भनिन्, ‘मोबाइल मात्र हराए त केही थिएन । तर, त्यो मेरो बूढोको चिनो हो । फोटाहरु सबै त्यहीँ थिए ।’

प्रहरी जवानले आईएमईआईसहितको ‘चिट’ ती वृद्धासँग मागे । र, हराएको मोबाइलको आईएमईआई नम्बर कम्प्युटरमा रजिस्टर गरे । मोवाइल धनीको नाम सोधे । उनले ‘नितेश श्रेष्ठ’को नाममा निवेदन दिइन् । प्रहरी जवानले भने, ‘बुधबार (३ माघ) आउनुहोला ।’

महिला त्यतिमै रोकिइनन् । ‘त्यत्रो समय लाग्छ र बाबु ? त्यहाँ त मेरो सबथोक छ,’ उनले भनिन् ।

प्रहरी जवानले बेलीविस्तार लगाए, ‘सोमबार सार्वजनिक विदा । मंगलबार अदालतमा जान्छ, बुधबार त बोलाएकै छु नि ।’

आफ्नो पुरानो याद त्यही मोबाइलसँग जोडिएको बताउँदै उनले ती प्रहरी जवानलाई जसरी पनि भेटाइदिन आग्रह गरिन् । जवाफमा प्रहरी जवानले मुस्कानसहित भने, ‘अहिले सीम हालेको हुँदैन आमा । केही दिनपछि चेक गर्नुपर्छ ।’

त्यसपछि ती वृद्धा मलस्न अनुहार बनाउँदै बाहिर निस्किन् । मोबाइल चोरी भएपछि आईएमईआई नम्बरसहितको ‘चिट’ लिएर आएका ५/६ जना लाइनमै थिए ।

ती प्रहरी अधिकारी आईएमईआई नम्बर कम्प्युटरमा रजिस्टर गर्नमा व्यस्त थिए । त्यतिकैमा एक प्रहरी सहायक निरीक्षक दौडिँदै आइपुगे । र, नेपाल प्रहरीकै एसपी पूर्णचन्द्र जोशीको आईएमईआई नम्बर खोजेर तुरुन्त ट्रेस गरिदिनुपर्ने बताए ।

एसपी जोशीको समेत मोबाइल चोरी भएको रहेछ । उनी रजिस्टरमा जोशीको आईएमईआई नम्बर खोजी गर्न थाले ।

पहिले चोरी भएका मोबाइल सेट भारतको विहार पुर्‍याइन्थे, अहिले नयाँदिल्लीसम्म पुर्‍याउने गरिएको प्रहरी अधिकारीहरु बताउँछन्

प्रहरी परिसरको प्रशासन शाखामा एक युवती ‘चिट’ लिएर पुगिन् । सिभिल हस्पिटलमा कार्यरत उनको अस्पतालभित्रै मोबाइल हरायो ।

‘ब्याग माथि राखेकी थिएँ । ए प्लस फोन थियो,’ उनले भनिन्, ‘भित्रबाट बोलाउनु भयो र गएँ । दुई मिनटमा फर्केर आउँदा मोबाइल थिएन ।’

अस्पतालभित्रैबाट मोबाइल चोरी भएपछि हल्लाखल्ला मच्चियो । उनले साथीको मोबाइलबाट आफ्नो नम्बरमा फोन गरिन् । तर, ‘स्विच अफ’ भइसकेको थियो ।

२८ पुस अपरान्ह ४ बजे मोबाइल हराएपछि अस्पतालभित्र व्यापक खोजी भयो । केही अत्तोपत्तो नलागेपछि उनी प्रहरीको सहायता लिन ३० पुसमा प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् ।

मोबाइल सेट हराएर प्रहरीलाई खोजी गरिदिन आउनेहरुको सूची लामै छ । जनकपुर घर भई काठमाडौं बस्दै आएकी सन्झना झा तिनैमध्येकी हुन् ।

सन्झनाकाे मोबाइल हराएको एक वर्ष भयो । प्रहरीको खोजतलास उपशाखाले आईएमईआई नम्बर ट्रेस गर्न पटक-पटक पठाइरहन्छ । तर, अहिलेसम्म सम्भव भएको छैन ।

‘कलेजबाट फर्किंदै थिएँ । बसबाटै मोबाइल गायब भयो,’ उनले सम्झिइन्, ‘केहीबेरमै थाहा पाएँ । लगत्तै फोन गर्दा स्विच अफ भइसकेको थियो ।’

उनले अझै मोबाइल भेटिने आश मारेकी छैनन् । प्रहरीले पनि निरन्तर नम्बर ट्रेस गरिरहेको छ ।

दैनिक सय उजुरी, फेला पर्ने संख्या १२

महानगरीय प्रहरी परिसरको प्रशासन शाखाका डीएसपी शेखर खनालका अनुसार खोजतलास उपशाखामा मोबाइल चोरीका सरदर ८० देखि सय वटा उजुरी दैनिक आउने गरेका छन् । तर, फेला पर्ने संख्या ज्यादै न्यून छ ।

उपशाखाले दैनिक १० देखि १२ वटा मोबाइल फेला पार्ने गरेको तथ्यांकबाट देखिन्छ । मोबाइल फेला परेपछि कतिपयले भरपाइ नगर्ने हुँदा पनि संख्या कम हुन गएको खोजतलास शाखाका एक अधिकृत बताउँछन् ।

हराएका मोबाइल ३० देखि ३५ प्रतिशत मात्रै भेटिने गरेको अनुसन्धानमा संलग्न ती अधिकृतको अनुभव छ । खोजतलास उपशाखाका अनुसार आर्थिक वर्ष ०७३/७४ मा मोबाइल चोरीका १२ हजार चार सय ३० वटा उजुरी परे । तीमध्ये १६ सय ८१ वटा मोबाइल मात्रै भेटिए ।

चालु आव ०७४/७५ को पुस मसान्तसम्ममा मोबाइल चोरीका सात हजार नौ सय ८४ वटा निवेदन परेका छन् । हालसम्म ६ सय चार वटा मोबाइल मात्र फेला परेका छन् ।

यो तथ्यांक लिखित उजुरीको मात्रै हो । इमेल र प्रहरीको ‘हाम्रो पुलिस’ एप्लिकेसनमा पनि मोबाइल चोरीका उत्तिकै उजुरी आउने गरेका छन् ।

पीडितमध्ये ७० प्रतिशत महिला

खोजतलास उपशाखाको तथ्यांकअनुसार मोबाइल चोरी भएको उजुरी गर्ने मध्ये ७० प्रतिशत महिला छन् ।

‘महिलाहरुले खल्तीभन्दा लामो मोबाइल बोक्ने गरेका छन्,’ उपशाखाका एक प्रहरीले भने, ‘सोही कारण पनि महिलाको मोबाइल धेरै हराउने गरेको छ ।’

उनका अनुसार सार्वजनिक सवारीसाधनमा चढ्दा, बैंक, पार्क, अस्पताललगायत स्थानमा बसेकै बेलासमेत मोबाइल चोरी हुने गरेका छन् ।

आखिर किन बढिरहेको छ, मोबाइल चोरी ? ती प्रहरी जवान भन्छन्, ‘पहिले-पहिले पकेट काटिन्थ्यो । पर्स चोरिन्थ्यो । तर, अहिले मान्छेले पर्समा पैसा बोक्न छाडिसके । अहिले एक व्यक्तिको पर्स चोर्दा पाँच सय रुपैयाँ भेटिएला । तर, फोन त सबैले महँगो बोक्छन् । त्यो बेच्दा कम्तिमा पनि पाँच हजार त आउँछ ।’

सोही कारण चोरी बढेको र सर्वसाधारणले पनि सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।

मोबाइल भेटिन्छन्, चोर भेटिँदैनन्

कतिपय मोबाइल आईएमईआई नम्बर ट्रेस गरेर भेटिने गरेका छन् । तर, मोबाइल चोरी गर्ने व्यक्ति भने कमै पक्राउ पर्छन् ।

आखिर चोरीमा संलग्न व्यक्ति किन पक्राउ पर्दैनन् ? यसको ‘ट्रेन्ड’ अझ रोचक रहेछ ।

मोबाइल चोरी हुनेबित्तिकै पहिले पीडित आफैंले खोजी गर्छन् । अर्को दिन प्रहरीमा पुग्छन् । त्यहाँ आईएमईआई नम्बर र अन्य विवरण टिपाएपछि ट्रेस गर्ने अनुमति लिन खोजतलास उपशाखामा आईएमईआई नम्बर रजिस्टर गरिन्छ । र, अदालतमा त्यो नम्बर पठाइन्छ ।

अदालतबाट अनुमति पाएपछि प्रहरीले मोबाइल सेवा प्रदायक संस्था नेपाल टेलिकम र एनसेललाई त्यो आईएमईआई नम्बर पठाउँछ ।

‘त्यो आईएमईआई नम्बर भएको मोबाइल टेलिकम वा एनसेलको नेटवर्कभित्र भए लोकेसन हामीलाई प्राप्त हुन्छ,’ डीएसपी खनाल भन्छन्, ‘मोबाइल चोरी गर्ने व्यक्तिले सिम कार्ड हालेको अवस्थामा मात्र पत्ता लाग्छ ।’

प्रहरीले पीडितको उजुरी आउनासाथ मोबाइल ट्रेस गर्दैन । डीएसपी खनाल भन्छन्, ‘त्यतिबेलै ट्रेस गर्दा त पीडितकै लोकेसन देखिन्छ । त्यसैले केही समयको ग्याप राखेर ट्रेस गर्ने गरिन्छ ।’

मोबाइल चोरी गर्नेले हत्तपत्त आफैं सिमकार्ड हाल्दैनन् । अधिकांश दोस्रो व्यक्तिलाई त्यो मोबाइल बिक्री गरेपछि मात्र सिमकार्ड प्रयोग हुने गरेको छ ।

सोही कारण सम्बन्धित चोरको साटो त्यो मोबाइल सस्तोमा खरिद गर्ने व्यक्ति पक्राउ पर्ने गरेका छन् ।

नेपालका मोबाइल दिल्लीमा !

खोतलास उपशाखामा कार्यरत प्रहरीहरुका अनुसार केही वर्ष अघिसम्म भारतको विहारमा लगेर चोरीका मोबाइल बिक्री हुने गरेका थिए ।

सस्तोमा पाउने लोभमा त्यस्ता मोबाइल खरिद गर्ने व्यक्तिको ओइरो लाग्छ । तीमध्ये ५० प्रतिशत नेपाली नै हुने गरेको प्रहरीको भनाइ छ ।

मोबाइल खरिद गरेपछि नेपाली सिमकार्ड प्रयोग हुनेबित्तिकै प्रहरीको फन्दामा मोबाइल खरिदकर्ता पर्छन् । र, पीडितले हराएको मोबाइल फोन प्राप्त गर्छन् ।

तर, अहिले मोबाइल चोरको प्रवृत्ति फेरिँदै गएको प्रहरीको भनाइ छ ।

एक प्रहरी अधिकृत भन्छ, ‘अहिले नेपालका मोबाइल फोनहरु सीधै दिल्ली पुग्ने गरेको देखिन्छ, जसले गर्दा भेटिने संख्या कम भएको हो ।’

अदालती प्रक्रियाले अनुसन्धान सुस्त

१८ जेठ ०६९ मा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको बंगलामुखी दर्शन गरी फर्कने क्रममा ललितपुरको यूएन पार्क नजिकै गोली हानी हत्या गरियो । बम हत्याकाण्डको अनुसन्धानको सिलसिलामा प्रहरीले पाँच लाख फोनको कल डिटेल र ३० हजारको एसएमएस विश्लेषण गर्‍यो ।

त्यसले व्यक्तिको गोपनीयताको हक हनन भएको बताउँदै सर्वोच्च अदालतमा उजुरी पर्‍यो । २१ माघ ०७३ मा अदालतले गोपनीयताको हक संरक्षणका लागि आफ्नो अनुमतिबिना कल डिटेल वा लोकेसन ट्रेस गर्न नमिल्ने फैसला दियो ।

त्यसअघि प्रहरीको इमेल वा पत्रकै आधारमा टेलिफोन सेवा प्रदायक कम्पनीहरुले कल डिटेल वा लोकेन ट्रेस गरेर रिपोर्ट दिने गरेका थिए ।

नेपालमा प्रहरी अधिकारीलार्इ लाेकेसन ट्रेस गर्ने वा कल डिटेल निकाल्ने अधिकार नहुँदा मोबाइल फोनको खोजी मात्रै होइन, अन्य आपराधिक क्रियाकलापको अनुसन्धानमा समेत समस्या हुने गरेको छ

अदालती प्रक्रियाका कारण पनि मोबाइलको खोजी प्रक्रिया सुस्त हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

‘अदालती प्रक्रियाका कारण समयमा काम हुँदैन । तर, प्रक्रिया नै अप्ठ्यारो भने होइन,’ डीएसपी खनाल भन्छन्, ‘सबै अधिकार हामीसँग भएको भए सेवाग्राहीको समस्या चाँडो समाधान हुने थियो ।’

अन्य मुलुकमा सीमित प्रहरी अधिकारीलाई लोकेसन ट्रेस गर्ने वा कल डिटेल निकाल्ने अधिकार हुन्छ । तर, नेपालमा त्यस्तो व्यवस्था नहुँदा मोबाइल फोनको खोजी मात्रै होइन, अन्य आपराधिक क्रियाकलापको अनुसन्धानमा समेत समस्या हुने गरेको छ ।

‘हाम्रो सीधा पहुँच हुँदा त धेरै सहज हुन्थ्यो नै,’ खोजतलास उपशाखाका एक अधिकृत भन्छन्, ‘विगतमा केही कमजोरी भए होलान् । तर, संगठनभित्रका केही निश्चित अधिकारीलाई यो सुविधा दिएर गल्ती गर्नेलाई कारवाही गर्ने व्यवस्था भए धेरै सहज हुन्थ्यो ।’

मोबाइल हरायो ? प्रहरी परिसर जानुस्

कतिपय पीडित मोबाइल हराउँदा के गर्ने भन्ने चिन्तामा हुन्छन् । यदि तपाईंको मोबाइल हराएको छ भने महानगरीय प्रहरी परिसर टेकुमा जानुस् ।

काठमाडाैं बाहिर भने सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गर्इ निवेदन दिन सक्नुहुन्छ ।

मोबाइल खरिद गर्दा तपाईंले पाउनु भएको बक्समा आईएमईआई नम्बर हुन्छ । त्यो नम्बर लिएर प्रहरीसमक्ष पुगेपछि लोकेसन ट्रेसिङकाे आधारमा तपाईंको मोबाइल भेटिन्छ ।

परिसरको खोजतलास उपशाखाले त्यहाँ जानेबित्तिकै एउटा चिट दिन्छ । त्यहाँ फोन नम्बर, आईएमईआई नम्बरलगायत विवरण लेखिन्छ ।

‘मोबाइल भेटिने चान्स के कति छ भनेर पनि हामी पीडितसँग बुझ्छौं,’ शाखाका एक प्रहरीले भने, ‘त्यसपछि अनुसन्धान शुरु गर्छाैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment