Comments Add Comment

फास्ट ट्रयाकमा सेनाले के-के गर्‍यो ? हेर्नुहोस् १० काम

३३१ सैनिक फिल्डमा, जंगल फाँड्न २०६ जना खटिए

२ माघ, काठमाडाैं । नेपाली सेनाले काठमाडौंलाई तराईसँग जोड्ने दूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा गति दिएको छ । अहिलेसम्म फिल्टमा ३३१ सैनिक परिचालन गरिएको छ भने जंगल फाँड्नका २५ मंसिरदेखि २०६ जना सैनिक खटिरहेका छन् ।

सैन्य हेडक्वार्टरमा मंगलबार आयोजित पत्रकार सम्मलेनमा नेपाली सेनाले प्राजेक्टरमार्फत दिएको जानकारी अनुसार अहिलेसम्म फास्ट ट्रयाक निर्माणसम्बन्धी विभिन्न १० वटा कामहरु भएका छन् ।

सेनाले हालसम्म गरेका काम यस्ता छन्ः

१. फास्ट ट्रयाकमा पर्ने पाइलट ट्रयाकको पहिरो पन्छाउने काम सकिएको छ ।

२. पहिलो चरणमा गत साउनको दोस्रो हप्ता १९० जना सैनिक परिचालन गरिएको छ । दोस्रो चरणमा कात्तिक २८ गते १४१ जना सिपाही थपेर हालसम्म ३३१ जना सैनिकहरु फिल्डमा खटिएका छन् ।

३. बाटो निर्माणका लागि नेपाली सेनाद्वारा खरिद गरिएका हेभी इक्युप्मेन्ट, सवारी साधन र अन्य उपकरणहरु फिल्डमा पुर्‍याइएको छ ।

४. फास्ट ट्रयाक निर्माण कार्यका लागि टनेल बाहेकको डिटेल इञ्जिनियरिङ सर्बे नेपाली सेना आफैंले निर्माण गरेको छ ।

५. भारतीय कम्पनी आएएल एण्ड एफएस ले गरेको डीपीआरका सम्बन्धमा उपयुक्त निर्णय गर्न वार्ता टोली गठन गरेर नेपाली सेनाले आफ्नो रायसुझाव पेश गरिसकेको छ । सेनाले भारतीय डीपीआर नमान्ने र आफैं बनाउने निर्णय निकालेको छ ।

६. नेपाली सेना तथा राष्ट्रिय स्तरका निर्माण व्यवसायीहरुबाट गरिने निर्माण कार्यका लागि इक्युप्मेन्ट लीज का साथै २८ वटा ठेक्का प्रक्रियाहरु सेनाले अगाडि बढाएको छ ।

७. आयोजना स्थलमा पर्ने रुखहरु काट्नका लागि मंसिर २५ गतेबाट २०६ जना सैनिकहरु फिल्डमा खटाइएको छ ।

८. पहिलो चरणको रुख कटान, छपान र घाटगद्दी गर्ने काम गत पुस २९ गतेसम्म बारा जिल्लाको ७६.२ चेनेजबाट उत्तरतर्फ ६९.४ चेनेजसम्मको ७ किलोमिटर दूरीसम्म सम्पन्न भएको छ । र, बाँकी ८/९ किलोमिटरसम्मको रुख कटान हाल जारी छ ।

९. मकवानपुर जिल्लामा घर टहराहरुको क्षतिपूर्ति दिने काम ९० प्रतिशत सम्पन्न भएको छ । बारा जिल्लामा क्षतिपूर्ति दिनु नपर्ने सेनाले जनाएको छ ।

१०. जग्गाको मुआब्जातर्फ पनि कामहरु भएका छन् । जस्तै- बारामा सरकारी जग्गा भएकाले मुआब्जा दिनु नपर्ने भए पनि मकवानपुरमा मुआब्जा बुझाउनुपर्ने सबै जग्गाको पूर्जा प्राप्त भएको छ । काठमाडौंमा ७४ कित्ताको पूर्जा प्राप्त हुनुपर्नेमा हालसम्म ६९ कित्ताको पूर्जा प्राप्त भएको छ । ५ कित्ताको धुनीपूर्जा प्राप्त हुन बाँकी छ ।

ललितपुरमा भने मुआब्जा वितरण गर्न १२५३ कित्ता जग्गाको पूर्जा प्राप्त हुनुपर्नेमा ६६५ कित्ताको मात्रै पूर्जा प्राप्त भएको छ । मुआब्जाका लागि यस जिल्लाबाट ४९६ कित्ता जग्गाको पूर्जा प्राप्त हुन बाँकी छ ।

त्यसैगरी ललितपुरमा फास्ट्र ट्रयाकभित्र पर्ने ९२ कित्ता सरकारी जमीनसमेत हस्तान्तरण हुन बाँकी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

यस्ता छन् अागामी याेजना 

काठमाडौं-निजगढ द्रुतमार्ग अायाेजनाका उपप्रमुख सहायक रथी सूर्यप्रसाद खनालका अनुसार अहिले ५ थानमा रहेका सुरक्षा वेश क्याम्पहरूलार्इ वृद्धि गरी १० वटा स्थानमा क्याम्प निर्माण गर्ने याेजना रहेकाे छ ।

‘०७५  बैशाखसम्म ती क्याम्पहरू निर्माण सम्पन्न हुनेछन्’, खनालले भने । उनका अनुसार सेनाले मंगलबारदेेखि बाराकाे निजगढबाट सडक निर्माण थालेकाे छ । दाेस्राे चरणमा माघ तेस्राे साताबाट मकवानपुरकाे बुदुने र लेनडाँडा क्षाेत्रमा रूख कटान कार्य सुरू हुने उनकाे भनाइ छ ।

सेनाका अन्य याेजनाहरू यस प्रकार छन्ः-

– एसियाली विकास बैंक (एडीबी) ले गरेको सम्भाव्यता अध्ययनका आधारमा नेपाली सेनाबाटै अायाेजनाकाे डिपीअार तयार गरिनेछ । टनेल बनाउँदा प्राविधिक रिपाेर्ट अनुसार अावश्यक निर्णय लिइनेछ।

– द्रुतमार्गकाे मार्गाधिकारभित्र परेका निजी तथा एेलानी जग्गाहरूकाे मुअाब्जा र घरटहराहरूकाे क्षतिपूर्ति वितरण ६ महिनाभित्र सकिनेछ र ती स्थानहरुमा समेत निर्माण कार्यको थालनी गरिनेछ ।

– अन्तर्राष्ट्रिय निर्माण व्यवसायीबाट गराउनु पर्ने जटिल किसिमका निर्माण कार्यहरुको लागि आवश्यक प्रक्रियाहरु अघि बढाइनेछ । र, सामान्य प्रकृतिका निर्माण कार्यको लागि नेपाली सेनाको थप स्रोत साधन परिचालन गर्ने र नपुग स्रोत साधन आवश्यकता अनुसार बाह्य स्रोतबाट पनि परिचालन गरिनेछ ।

यो पनि पढ्नुस् 

काठमाडौं-निजगढ द्रुतमार्गको डीपीआर आफैं बनाउने सेनाको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment