Comments Add Comment

प्रकाशमानले गरे कांग्रेस संसदीय दलको नेतामा दावी

'पार्टीलाई जोगाउन नेतृत्व परिवर्तन हुनुपर्छ'

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले औपचारिक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरेका छन् ।

यसअघि कांग्रेसका अन्य नेताहरुले सर्वसम्मत हुने भए महामन्त्री शशांक कोइरालालाई र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई संसदीय दलको उम्मेदवार बनाउने बताएका थिए ।

तर, सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले संसदीय दलको नेतामा आफ्नो दावी रहेको बताएका हुन् । प्राविधिक विद्यार्थी परिषद केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले देउवालाई सर्बसम्मत संसदीय दलको नेता बनाउन नसकिने बताए ।

कांग्रेस संसदीय दलको पूर्वउपनेता रहेका नेता सिंहले भने, ‘शेरबहादुर देउवाजीलाई सर्वसम्मत छाड्नु हुादैन भन्ने बिचार बोकेको व्यक्ति हुँ म । त्यसबारे पार्टीमा पनि छलफल चलिरहेको छ । त्यसक्रममा म अगाडि बढिरहेको छु ।’

उनले कांग्रेसलाई संस्थापक नेताहरुको बेलामा जस्तै लोकप्रिय बनाउनका लागि हालको नेतृत्व परिवर्तन हुनुपर्ने धारणा पनि राखे । ‘नेतृत्व परिवर्तनको आवश्यकता छ भनेर म अगाडि बढिरहेको छु,’ उनले भने, ‘पार्टीलाई अब जोगाउनुपर्यो ।’

हालको नेतृत्वले पार्टीलाई विधि, विधानअनुसार चलाउन नसक्दा कमजोर हुँदै गएको नेता सिंहको भनाइ छ ।

‘प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक छ,’ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको पार्टीको पराजय हुनु प्रजातान्त्रिक पद्दतीकै पराजय भएको बताए । पार्टीभित्र सिद्धान्त र आदर्शको राजनीतिक गर्नेभन्दा पनि अवसरवादी राजनीतिले प्रश्रय पाएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment