Comments Add Comment

काठमाडौंमा गाडी दुर्घटनाबाट ६ महिनामा १०५ को मृत्यु

१५ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७४/०७५ को छ महिनामा गाडी दुर्घटनामा १०५ जनाको मृयु भएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन् ।

महाशाखाका डीआईजी सर्वेन्द्र खनाल साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताउँछन् । ‘दुर्घटनामा कमी ल्याउन चालक स्वयं नै चनाखो हुनुपर्छ’ उनले भने ।

महाशाखाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश पुरुष रहेका छन् । यो आर्थिक वर्षको छ महिनामा ८१ पुरुष र २४ महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश १७ देखि ३५ वर्षसम्मका छन् । जसमा १७ देखि ३५ वर्षसम्मका ५६, १७ वर्ष मुनिका सात र ३६ वर्षभन्दा माथिका ४२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०६९/७० मा १४८, २०७०/७१ मा १४३, २०७१/७२ मा १३३, २०७२/७३ मा १६६ र २०७३/७४ मा १८२ जनाले ज्यान गुमाएका थिए ।

ट्राफिक व्यवस्थापनमा सहकार्यको खाँचो

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यातायात क्षेत्रको व्यवस्थापनका लागि व्यवसायीको ट्राफिक प्रहरीसँग सहकार्य आवश्यक रहेको बताए ।

‘यातायात क्षेत्रको व्यवस्थापनका लागि हामी सबै एक ठाउँमा उभिनु जरुरी छ’, उनले भने । ट्राफिक र व्यवसायीको उद्देश्य राष्ट्र निर्माणका लागि भएकाले एकापसमा मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले नेपालको ट्राफिक क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीको साथ र सहयोग रहने बताए ।

महासंघका महासचिव सरोज सिटौलाले काठमाडौं उपत्यकामा सवारी साधनको अत्यधिक चाप रहेको भन्दै यसको व्यवस्थापनका लागि महासंघले ट्राफिक प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment