Comments Add Comment

अनुगमन टोलीले भेट्टाएन २० वर्षे थोत्रा गाडी !

१ चैत, काठमाडौं । सरकारले बिहीबारबाट देशभर २० वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । उपत्यकाको हकमा यो दुई वर्ष पुरानो निर्णय हो तर, प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन ।

देशभर एकसाथ कार्यान्वयनमा ल्यएसँगै यातायात व्यवस्था विभागले अनुगमन टोली पनि खटाएको छ । राजधानी भित्रने मुख्य नाका थानकोटमा पनि विभागको टोली दिनभर थोत्रा गाडीको खोजीमा खटिएको थियो । तर, हात लाग्यो शून्य ।

दिनभर अनुगमन गर्दा पनि टोलीले एउटा पनि २० वर्षे थोत्रा सार्वजनिक सवारी भेट्टाएन । अनुगमन टोली धुँवाको मुस्लो फस्दै आएको एकपछि अर्को भाडाका गाडीहरु रोक्थे तर, कागजपत्रमा एउटाले पनि २० वर्ष पुरा भएको भेटिएन ।

अनुगमनका क्रममा विभागको टोलीले उल्टै सवारी चालकहरुको खप्की खाएएका छन् । चालकहरुको एउटै आक्रोस थियो, ‘बाटोको हालत हेर्नु भएको छ ? यस्तै हो भने सवारी साधानको आयु २० वर्ष होइन, ५ वर्ष तोक्नुस् ।’

थोत्रा गाडी नै छैनन् त ?

यातायात व्यवस्था विभागले २० वर्ष पुगेका सार्वजनिक सवारी नचलाउन पहिल्यै उर्दी जारी गरेको थियो । तर, त्यसबेला एकाध अनुगमन भए पनि कडाइ भएन ।

त्यही मौका छोपेर २० वर्ष पुरानो गाडीहरुलाई धमाधम निजी (रातो प्लेट) बनाउने काम भए । त्यसको प्रमाण हो थानकोटको अनुगमनका क्रममा पनि भेटियो ।

धुँवाको मुस्लो फस्दै बाबा ग्यास लेखिएको एउटा ट्रक आयो । प्रहरीसहित अनुगमनमा खटिएको टोलीले गाडी रोक्यो र कागजपत्र हेर्‍यो । २० वर्ष पुरानो भइसकेको थियो तर, गाडीको नम्बर प्लेट रातो भएका कारण कारबाही गर्न सकेन ।

यो त प्रतिनिधि घटना मात्र हो, स्कुल तथा कार्यालयका नाममा रातारात सयौं गाडी रातो नम्बर प्लेटको बनाइएको छ । अनुगमनका क्रममा त्यस्ता गाडीहरुले छड, ग्यास, पाइप लगायतका औद्योगिक समान बोक्न प्रयोग भइरहेको भेटिएको छ ।

यद्यपि अहिले २० वर्षे थोत्रा गाडीहरुलाई रातो नम्बर प्लेटको बनाउन रोकिएको विभागको दाबी छ ।

सवारी चालकको खप्की

अगुनमनका क्रममा धेरै सवारी चालकले सडकको दुरावस्थालाई लिएर आक्रोस पोखे । कष्टपूर्वक नागढुंगाको उकालोको कटाएको ट्रक २० वर्ष नपुगेको भेटिएपछि अनगुमन टोलीले चालकलाई सोध्यो, ‘गाडी

राम्रो बनाएर चलाउनु पर्दैन ?

तर, चालक उल्टै जंगिए, ‘मुग्लिनको बाटो देख्नुभएको छ ? थानकोटबाट कलंकी पुग्ने बाटोमा पनि हिँड्नु भएकै होला, यस्तो बाटोमा चलाएर कति वर्ष गाडी टिक्छ ?’

अघि भने, ‘यस्तो हरिबिजोग हालतमा सडक राखिरहने हो भने गाडी किनेको ५ वर्षमै काम लाग्दैनन् । तपाईंहरुको काम गाडीको आयु तोकिदिने मात्रै हो भने ५ वर्ष नै तोकिदिनुस्, यस्तो रोडमा १० पनि वर्ष गाडी चल्दैन ।’

चालकको आक्रोश नाजायज थिएन, त्यसले अनुगमन टोलीका सदस्यहरु केही बोलेनन्, फिस्स हाँसे मात्रै ।

अर्का ट्रक चालकले ५ वर्षको आयु लिएर आएको सरकारले २० वर्षे सवारी हटाएको भन्दै आक्रोश पोखे ।

आफैंले भोट हालेर चुनेको नेताले आफ्नेा रोजीरोटी खोसेको उनको आरोप छ । ‘यो निर्णय कि २० वर्ष पहिला गर्नुपर्थ्यो, कि अहिले गरेर २० वर्षपछि कार्यान्वयन गर्नुपर्थ्यो’ उनले भने, ‘मन लाग्यो त्यही गर्न पाइनेलाई लोकतन्त्र भन्दा रैछ’न ।’

गोरखाबाट आएको एक बस चालकले भने गाडी १० वर्षमै पुरानो भएको भन्दै २० वर्ष आयु तोकेर सरकारले आफूलाई ‘लोभी’ बनाएको सुनाए । ‘मान्छेको जात परियो, लोभ लाग्छ’ उनले भने, ‘गाडी थोत्रो भइसक्यो । अब ३ वर्ष चलायो भने त काट्न (कवाडी बनाउन) पनि मिल्दैन । तर, २० वर्ष आयुले लोभी बनायो ।’

आए जफत गर्छौं : भट्टराई

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई भने सार्वजनिक सवारीले यात्रु पनि बोक्ने भएकाले थोत्रा हुँदा पनि नहटाए जोखिम धेरै हुने बताउँछन् ।

उनका अनुसार अब करिब ५५ सय पुराना सार्वजनिक सवारी सडकमा आउँदैनन् । ‘आए भने जफत गर्छौं,’ भट्टराई भन्छन् ।

यातायात व्यवसायी भने यो निर्णय अवैज्ञानिक भएको भन्दै क्षतिपूर्ति दिएर मात्रै हटाउनुपर्ने बताइरहेका छन् ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment