Comments Add Comment

दृष्टिविहीन सृष्टिको रंगीन जीवन

‘म कुन रफ्तारमा दौडन सक्छु भन्ने कुरा सामान्य अवस्थामा थाहा हुँदैन । जब मेरो पछाडि बाघ छाडिन्छ, म अरू बेलाभन्दा बेतोडले दौडन्छु । खासमा मेरो कुद्ने क्षमता त्यही हो ।’

सृष्टि केसीले दार्शनिक पारामा यसै भनिन् । प्रश्न थियो, ‘आँखा देख्नेलाई भ्याउन गाह्रो हुने काम कसरी सजिलैसँग गरिरहनुभएको छ ?’

सृष्टिको अनुभवमा हरेक मान्छेसँग क्षमता हुन्छ । तर, त्यो क्षमतालाई उसले त्यसबेलासम्म भरपुर प्रयोग गर्दैन, जबसम्म उसलाई संकट आउँदैन । संकट भनेको बाघ हो । जब संकटले लखेट्छ, मान्छेले आफ्नो क्षमताको प्रयोग गर्छ ।

‘आँखा नदेख्ने भएपछि मैले कति कठोर दिनहरू गुजारें । त्यही दिनले मलाई आजको जीवन बाँच्न सिकायो । हरेक संकटभित्र समाधान हुन्छ । समाधान भन्दा बढी अवसर हुन्छ । मैले अवसर रोजें’, सृष्टिले भनिन् ।

उनको यो भनाइमा कोरा आदर्श थिएन । आफ्नै जीवन-भोगाइ थियो । सुनिरहँदा लाग्थ्यो, उनको ढुकढुकीबाटै आवाज आइरहेको छ । सिलसिलाबद्ध । लयबद्ध ।

उनी जे बोलिरहेकी थिइन्, त्यसमा बेग्लै उर्जा, उमंग र उत्साह मिसिएको थियो । सम्भवतः उनको बोलीमा मिसिएर आउने यस्तै उत्साहको ध्वनिले हुनसक्छ, देश-विदेशमा ‘बोल्नकै लागि’ उनलाई निम्तो गरिएको ।

हामीसँग कुराकानी गरिरहँदा पनि सृष्टिलाई हतार थियो, ‘मोटिभेसनल क्लास’का लागि कतै जाने । भन्दै थिइन्, ‘आज अलि हतारमा छु है ।’

बिहान उठेदेखि राती सुत्ने बेलासम्म उनी घडीकै काँटाजस्तो निरन्तर दौडिरहन्छिन् । बिहान उठ्यो काममा दौडियो । साँझ घर फर्केर आयो । अनलाइनमार्फत विदेशका साथीहरूसँग छलफल । अनलाइन कक्षा संचालन । बस्ने फुर्सद खै ?

उच्च शिक्षाका लागि उनी जहाँ-जहाँ पुगिन्, सबैले ढोका बन्द गरिदिए । ‘दृष्टिविहिनको लागि पढ्ने ठाउँ छैन’ भन्दै फर्काइदिए ।

एउटी युवती, त्यसमाथि दृष्टिविहिन, कसरी यत्ति धेरै काम फत्ते गर्छिन् ?

‘आफूलाई परेपछि मान्छेले जे पनि गर्नसक्छ’, कुनै विचारकले झैं माझिएको भाषामा उनले भनिन्, ‘मेरो जीवनमा सबै कुरा ठिकठाक भइदिएको भए, सायद यति अगाडि बढ्ने थिइन ।’

जब बाघले लखेट्यो…

सबै कुरा ठिकठाक थियो । पढ्दै थिइन् । हुर्कदै थिइन् । तर, अचानक उनको गति रोकियो । सग्लो आँखाले वाहिरी वस्तुहरू ठम्याउन छाड्यो । आसपासका दृश्यहरू फिक्का र मधुरो हुँदै गए । चर्को घाममा केही हेर्नै नहुने । अलिकति धुलो पर्नसाथ आँखा बिझाउने ।

उनको दृष्टि हरायो ।

उनको दृष्टि त्यहीबेला हरायो, जतिबेला उनी रंगीन संसारलाई देख्ने र बुझ्ने हुँदै थिइन् । पढाइ गर्नुपर्ने, करियर बनाउनुपर्ने जीवनको संघारमा उनको संसार अँध्यारो भइदियो । उनी नदेख्ने भइन् । यो जन्मदोष थिएन । उपचारमा भएको लापर्बाही थियो ।

आँखाको समस्या भएपछि उपचारका लागि चिकित्सकहाँ पुगेकी थिइन् । चिकित्सकले एलर्जीको औषधि थमाइदिए । औषधिले बिसेक भएन । थप समस्या भयो । औषधि गलत परेछ । सृष्टिको दृष्टि फर्किएन ।

सामान्य हिँडडुल गर्न उनलाई गाह्रो भयो । लेखपढ गर्न र मनोरञ्जन लिन नसकिने भयो ।

सृष्टि आँखा देख्दिनन् । तर, इन्द्रधनुषी जीवन बाँच्छिन् । नृत्य, गायन, अभिनय, कथा, कविता, फेसन र प्रवचनजस्ता हरेक विधाको मजा लिन्छिन् ।

देख्नेहरूले भने, ‘बिचरा ।’

विद्यालयले भन्यो, ‘अशक्त विद्यार्थीलाई यहाँ पढाउन सकिदैन ।’

सृष्टिको जीवन कठिन बन्यो । उमेरले भर्खर १६ वर्ष टेक्दै थियो । न गरिखानु, न मरिजानु ।

ठीक यही मोडमा ठोक्किएपछि हो, उनले छलाङ मारेको । सृष्टिकै भाषामा उनलाई ‘बाघले लखेट्यो ।’ उनी भएभरको ताकत लगाएर दौडिइन् । उनलाई खेदिरह्यो, उनी दौडिरहिन् । तेज गतिमा । र, यहाँसम्म आइपुगिन् ।

यहाँसम्म, अर्थात आजको दिनसम्म । यतिबेला उनको जीवन-भोगाइ कुनै कविताको पंक्तिजस्तै हुन पुगेको छ । कुनै कथाजस्तो । फिल्मजस्तो ।

उनले जुन जीवन बाँचिन्, त्यो कुनै ‘एडभेन्चर’ कथा जस्तै लाग्छ । साहसको कथा, संघर्षको कथा, सफलताको कथा । लय र धुनको कथा ।

आँखा देख्दिनन् । तर, इन्द्रधनुषी जीवन बाँच्छिन् । उमंग, उत्साह र ऊर्जाले भरिपूर्ण दिनचर्यामा रमाउँछिन् । नाच्छिन्, गाउँछिन्, अभिनय गर्छिन्, कथा-कविता लेख्छिन् । फेसनमा रुचि राख्छिन् । त्यतिमा मात्र उनको संसार सीमित छैन ।

उनी देशको कुनाकाप्चा चहार्दै शारीरिक रूपले अशक्तहरूलाई प्रेरणादायी प्रवचन दिन्छिन् । केही गर्नका लागि उत्साहित बनाउँछिन् ।

आफ्नै संस्था छ- ब्लाइन्ड रक्स । यही संस्थामार्फत उनले देश-विदेशमा आफ्नो सञ्जाल विस्तार गरेकी छिन् ।  बेलायतमा यसको आफ्नै शाखा छ । अपाङ्गता भएका एवं दृष्टिविहिनहरूको क्षमता विकासका लागि जुटेको संस्था सान्सार इन्टरनेसनल केरलासँग पनि उनी जोडिएकी छिन् । त्यही संस्थाको आमन्त्रणमा उनी मोटिभेसनल स्पिकरको रूपमा केरला पुगिरहन्छिन् ।

सङ्घर्ष र सफलताको कथा 

सृष्टि दृष्टिविहिन भइन् । अब कसरी हिँड्ने ? कसरी पढ्ने ? कसरी खेल्ने ?

यी प्रश्नले उनलाई लड्न सिकायो, जुध्न सिकायो ।

आँखा नदेखेपछि पुस्तक ठम्याउन सक्दैनथिन् । लेख्न सक्दैनथिन् । ब्रेल लिपि पढ्ने अभ्यास थिएन । आइडिया फुराइन् । शिक्षकले बोलेको कुरा टेपमा रेकर्ड गर्ने । त्यही कुरा सुनेर पाठ याद गर्ने । यसैगरी उनले पाठ्यपुस्तक छिचोलिन् ।

पछि घरमै काठमा अक्षर खोपेर पढ्ने अभ्यास गरिन् । काठमा खोपिएको अक्षर स्पर्श गर्दै पढ्न थालिन् । परीक्षा दिइन् । एसएलसीमा ७० प्रतिशत अंकका साथ उत्तीर्ण भइन् । तर, त्यसपछि पनि उनको बाटो सहज भइदिएन ।

उच्च शिक्षाका लागि उनी जहाँ-जहाँ पुगिन्, निराशासिवाय हात लागेन । सबैले ढोका बन्द गरिदिए । ‘दृष्टिविहिनका लागि हामीकहाँ पढ्ने ठाउँ छैन’ भन्दै फर्काइदिए ।

यसरी चारतिर ठोक्किँदै उनी डिल्लिबजारको कन्या क्याम्पस पुगिन् । त्यहाँ भर्ना भइन् । तर, भक्तपुरको सिरुटारदेखि डिल्लीबजारसम्म आउजाउ गर्न सजिलो थिएन । असजिलो बाटो तय गरिन् ।

उपमा आचार्य नामकी शिक्षिकाले उनलाई ढाडस दिइन् । सृष्टिको लगाव र श्रमलाई उनले बुझेकी थिइन् । उनले सृष्टिको नाममा कोष खडा गरिदिइन् । छात्रवृत्तिको व्यवस्था मिलाइदिइन् । सृष्टिले त्यही क्याम्पसबाट प्रमाणपत्र तहमा साहित्यतर्फ त्रिभूवन विश्वविद्यालय टप गरिन् । उनलाई अर्जुन स्वर्ण पदक मिल्यो ।

यसरी सृष्टि एकपछि अर्को खुड्किलो टेक्दै गइन् । अहिले उनीसँग लन्डनस्थित विश्वविद्यालयबाट ‘आर्ट एन्ड कल्चर’मा स्नातकोत्तरको प्रमाणपत्र छ । नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको छात्रवृत्तिमा नर्वे पुगेकी सृष्टिले नर्वे, हंगेरी, फ्रान्स हुँदै बेलायतबाट चार सेमेस्टरको स्नातकोत्तर पूरा गरेकी छन् ।

पढाइसँगै सृष्टिले आफ्नो फराकिलो परिचय बनाएकी छिन् । हरेक कुरामा उत्तिकै जिज्ञासु, उत्तिकै मिहिनेती छिन् । गीत लेख्नदेखि नृत्य गर्नसम्म उनलाई जाँगर चल्छ । फेसनेवल हुनदेखि अभिनय गर्नसम्म उनलाई मुड चल्छ । कहिले जीवन-संघर्षबाट सिकेका गहन कुरा बाँडिरहेकी हुन्छिन्, कहिले विन्दास नाचिरहेकी हुन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment