Comments Add Comment

बागलुङका मेयर भन्छन् : कर्मचारीका कारण काम गर्न सकिएन

'जनप्रतिनिधिको स्पिरिट बुझ्ने कर्मचारी भएनन्'

१८ चैत, पोखरा । २६ वर्षपछि बलेवा विमानस्थलबाट व्यावसायिक उडान सुरु गराउन सफल भएपछि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेललाई स्थानीयले धन्यवाद दिए ।

वर्षौदेखि बसपार्कविहीन बागलुङमा व्यवस्थित बसपार्क निर्माणका लागि सम्झौता गरेपछि उनको अरु चर्चा थपिएको छ । एमालेबाट बागलुङ नगरपालिकको मेयरमा निर्वाचित भएपछि पौडेलले देखिने गरी २/३ वटा काम गरेका छन् ।

मेयर पौडेलले १ सय दिनको काम सार्वजनिक गर्दै पाँच वर्षमा बागलुङ नगरपालिकाले काँचुली फेर्ने दावी गरेका थिए । बागलुङमा सिटी हल निर्माणको तयारी, फोहोर व्यवस्थापनका लागि जग्गाको किटान गर्दै २ वटा गाडी थप, ढल निकास तथा खानेपानीको व्यवस्थापनलगायतका उपलब्धी उनले सार्वजनिक गरेका थिए ।

केही कानुन निर्माण गरेर त्यसलाई कार्यान्वयन र नयाँ योजना साथ अगाडि बढ्न चाहेको बताउँदै मेयर पौडेलले कर्मचारीले जनप्रतिनिधिको स्पिरिट बुझ्न नसकेको बताए ।

आफूले गरेका घोषणापत्र र नयाँ परिकल्पना गरेका विषयलाई व्यवहारमा लैजान कर्मचारीकै कारण समस्या भएको पौडेलको दाबी छ ।

‘जनप्रतिनिधिसँग इच्छाशक्ति छ । अहिले हामीले काम गर्न सकेनौं भने नगरपालिकामात्रै पछि पर्ने होइन, जनप्रतिनिधिको भविश्य पनि पछाडि पर्छ,’ मेयर पौडेलले अनलाइनखबरसँग भने, ‘कर्मचारीतन्त्रको काम गर्ने स्पिरिट नै हामीसँग मिलेन ।’

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि त्यही अनुरुपका कर्मचारी र विज्ञ समूह लिएर जाने र र्फकदा हामीले यति काम गर्‍यौं भनेर फर्किने सिस्टम नभएका कारण आफूले चाहेर पनि धेरै काम गर्न नसकेको पौडेल बताउँछन् ।

‘अहिलेको कर्मचारीतन्त्रको बनोट वा संरचना नै विकासको बाधक छ,’ पौडेल भन्छन्, ‘हामी सय माइलको यात्रा गर्न चाहन्छौं तर छिनमै बिग्रने, कामै नलाग्ने, थोत्रो कर्मचारीको गाडी हामीलाई दिइएको छ । कर्मचारीतन्त्रको पुरानो सोच, कानुन जटिलतासहितको जुन थोत्रो गाडी हामीले पाएका छौं, त्यो गाडीमा चढेर विकासको यात्रा गर्न गाह्रो भयो ।’

कर्मचारीतन्त्रले जनप्रतिनिधिलाई दोष देखाउने र जनप्रतिनिधिले कर्मचारीलाई खुइल्याउने काम बन्द गर्नुपर्छ भन्नेमा आफू सचेत रहे पनि आफूलाई काम गर्न असहज भएको मेयर पौडेल बताउँछन् ।

लामो समयसम्म स्थानीय निकाय सञ्चालन गर्दा लाभ लिएका कर्मचारीले जनप्रतिनिधिलाई काम गर्न अप्ठेरो पारेको पौडेलले गुनासो गरे ।

सरकारले स्थानीय तहलाई आवश्यक कानुन बनाउन अधिकार दिए पनि सरकारले कर्मचारीको व्यवस्थापन जटिल बनाएको मेयर पौडेलको आरोप छ ।

‘एउटा कुरा त तिनै तहको कर्मचारी समायोजन नहुँदासम्म कर्मचारी नियुक्ति नगर भनेको छ । अर्को, स्थानीय तहको कर्मचारी व्यवस्थापन प्रदेशको कानुनअनुसार हुनेछ भनिएको छ,’ पौडेलले भने, ‘म सरकारको यो पोलिसीसँग नै असहमत छु, जब कुनै पनि संस्थामा जननिर्वाचित टिम आउँछन् त्योसँगै एउटा कोर टिम पोलिसी मेकिङदेखि कार्यान्वयनसम्म आउने र सरकारी कानुनअनुसार नै जनप्रतिनिधि जाँदा सँगै जाने भयो भने त्यो नै स्थानीय सरकार हो ।’

कर्मचारीतन्त्रमा संघीयताप्रति नै निराशा भेटेको पौडेलले बताए । कर्मचारीले साथ दिए आफूसँगै बागलुङका सडक, खानेपानी, विजुली, फोहोरमैला, विकास निर्माण, खेलकुद, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा आफूसँग योजना भएको पौडेल बताउँछन् ।

‘हामीसँग अनुभव नहोला तर भिजन छ काम गर्ने तत्पराता छ,’ मेयर पौडेलले भने कर्मचारीसँग आहृवान गरे, ‘बागलुङको विकासका लागि साथ दिनुहोस्, तपाईहरुसँग हामी छौं र हामीले राम्रो गरेपछि नागरिकले धन्यवाद दिन्छन्, त्यो बाँडीचुडी लिउँला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment