+
+

मधुमेहका रोगीलार्इ विशेष टिप्सः १८ गाँस खाना, दुई वटा आलु ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ९ गते १०:१६

मधुमेह भन्नासाथ हाम्रो दिमागमा एउटै कुरा आउँछ चिनी रोग अर्थात् चिनी खान नहुने रोग । त्यसैले, हामी मधुमेहका बिरामीका लागि चिया होस् वा अन्य कुनै मिठाई चिनी हाल्नै दिदैनौँ । कतिसम्म भने फलफूल खाँदा पनि गुलियो नभएका फलफूल खाने सल्लाह दिन्छौँ ।

त्यतिमात्र कहाँ हो र, मधुमेहका बिरामीले त भातै नखाओस् भन्नेसम्मको चाहना राख्छौँ । हामी सोच्छौँ, भातमा कार्वोहाइड्रेट धेरै हुन्छ । भात खानेबित्तिकै रगतमा चिनीको मात्रा (सुगर) बढिहाल्छ । आलुमा पनि त्यही कुरा लागू हुन्छ । यस्ता कुरा गर्नु अघि हामी पोषणविद्सित सल्लाह लिन एक पटक पनि जरुरी ठान्दैनौं ।

यसको पनि आ-आफ्नै कारण हुनसक्छ ।

जब कि मधुमेहका बिरामीले मधुमेह रोग लागि सकेपछि हर्मोन वा इन्डोक्राइनोलोजिस्टलाई देखाउनु त पर्छ नै । साथै सन्तुलित भोजन तथा पोषणयुक्त भोजनका लागि एकपटक पोषणविद्सितको सल्लाह लिनु आवश्यक छ । यसले मधुमेहका विरामीलाई पोषणयुक्त तत्वको सेवन कसरी गर्ने मात्र नभई दिनमा कति पटक र के के खाने तथा कसरी खाने भन्नेबारे बुझ्न समेत मद्दत गर्छ ।

कसरी ?

चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत पोषणविद् डा. भूपाल बानियाँका अनुसार मधुमेहका विरामी अक्सर खाना कम खाने गर्छन् । त्यस्तै गुलियो मिसिएको खानेकुरा खानु हुँदैन भन्दै शरीरका लागि आवश्यक तत्व समेत ग्रहण गर्दैनन् । जसले गर्दा मधुमेहका विरामीको शरीरलाई आवश्यक पोषण त पुग्दैन नै । शरीरका लागि चाहिने इनर्जी समेत खानाबाट प्राप्त नहुँदा विरामी कमजोर हुने गर्दछ ।

त्यो कसरी भने हामीले खाएको खाना ग्लूकोजमा परिणत हुन्छ । यसले शरीरलाई इनर्जी प्रदान गर्छ । जब कि मधुमेह बिरामीले खाएको खाना ग्लूकोजमा परिणत त हुन्छ तर उक्त ग्लुकोज इनर्जीको रूपमा परिणत हुन सक्दैन । त्यसपछि मधुमेहका कारण विरामीको  आँखा, मुटु, मिर्गौला, नसा लगायत शरीरका विभिन्न अंगमा समेत असर पर्छ ।

त्यसो भए मधुमेहका कारण हुनसक्ने जटिलता रोक्न के गर्ने त ?

रगतमा चिनीको मात्रा कम गर्न मधुमेहका बिरामीले सबैभन्दा पहिले समय समयमा थोरै थोरै भए पनि केही न केही खानेकुरा खाइराख्नु पर्दछ । त्यस्तै, जे खाए पनि मात्रा मिलाएर खानुपर्दछ । चार घण्टाको अन्तरालमा खाना खानुपर्छ । आफ्नो तौल तथा उचाइका आधारमा खानुपर्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरी अनुसार खानुपर्छ । किनभने आवश्यकताभन्दा कम तथा बढी क्यालोरी शरीरका लागि घातक हुनसक्छ ।

कसरी थाहा पाउने शरीरका लागि कति क्यालोरी चाहिन्छ ?

चिकित्सकहरूका अनुसार एउटा व्यक्तिलाई कति क्यालोरी आवश्यक छ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ । उनीहरूको कामको प्रकृति अनुसार फरक पर्छ । कुनै व्यक्ति दिनभर भारी बोक्छ तथा धेरै पसिना बगाउँछ भने उसलाई धेरै क्यालोरी आवश्यक पर्छ । त्यस्तै कुनै व्यक्ति दिनभर अफिसमा बसेर काम गर्छ भने उसलाई क्यालोरी पनि कम चाहिन्छ । अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्ने हो भने  एउटा सामान्य व्यक्तिको शरीरलाई प्रति तौल ३० देखि ३५ किलो क्यालोरी आवश्यक पर्छ ।

खानामा क्यालोरीको तालमेल ?

प्रत्येक व्यक्तिको खाने तरिका फरक हुन्छ । खानाको आ-आफ्नै रोजाइ हुन्छ । त्यसैको आधारमा कोही व्यक्ति सागपातमा धेरै रमाउँछन् भने कोही दालभातमा । जो व्यक्ति तरकारी धेरै खान्छन्, उनीहरूलाई त खासै समस्या नहोला तर जो व्यक्ति दालभात धेरै रुचाउँछन्, उनीहरूमा क्यालोरी समस्या हुनसक्छ ।

त्यस्ता व्यक्तिले हरेक पटक खाना खाँदा आफ्नो खानालाई विभिन्न भागमा बाँड्नु पर्छ ।

एउटा व्यक्तिले दिनमा २१ सय क्यालोरीको सेवन गर्छ भने अब मधुमेह भइसकेपछि उसले उक्त २१ सय क्यालोरीलाई विभिन्न चरणमा बाँडेर खानुपर्छ । उसले बिहानको समयमा एक कप चियाको साथमा दुई पिस सुगर फ्रि बिस्कुट खान सक्छ । बिहान दश बजेको समयमा खाना खान सक्छ ।

खाना खाँदा थोरै भात, धेरै तरकारी राख्नसक्छ । तरकारीमा पनि एक भाग हरियो सागसब्जी तथा एक भाग अन्य तरकारी राख्नसक्छ । थोरै अचार पनि राख्न सक्छ । केही टुक्रा सलादका साथमा दही, पातलो दाल तथा अन्य खानेकुरा राखेर उक्त थाल मज्जाले भर्न सक्छ । त्यस्तै दिउँसो चिउरा, रोटी, ओट मिल लगायतका हल्का खाजा खानुका साथै पाँच बजेतिर करिब दुई सय ग्राम फलफूल खानसक्छ ।  रातको खानामा थोरै तरकारीका साथमा दुईवटा रोटी खाएर पनि आˆनो खानालाई सन्तुलित राख्न सकिन्छ ।

हामी भने एकै पटक धेरै खाना खानेमा विश्वास राख्दछौँ । तर जब मधुमेह रोग लाग्छ, त्यतिबेला भने अज्ञानता तथा आधा ज्ञानका कारण आˆनो खानालाई तुरुन्तै आधा घटाउन थाल्छौँ । कतिसम्म भने, हिजो सम्म १५ देखि १८ गास खाना खाइरहेको मान्छेलाई मधुमेह रोग लाग्यो भन्नासाथ खानामा तुरुन्तै कटौती गर्न सुरु गछौंर्ँ । हिजोसम्म १५ देखि १८ गाससम्म खाना खाइरहेको मानिसलाई आजबाट नौ गाँस खाना खान बाध्य पाछौं । यतिसम्म पनि सोच्दैनौं  कि त्यसरी एकाएक खानामा कटौती गर्दा बिरामीको शरीरमा कस्तो असर पर्छ ।

हुनुपर्ने के हो भने हिजोसम्म १८ गाँस खाना खाइरहेको व्यक्तिले आज पनि खानु पर्ने त १८ गाँस नै हो । यत्ति हो कि हिजो उसको खानामा भात र बाक्लो दालको परिणाम धेरै हुने गथ्र्यो भने आजदेखि भात र दालको ठाउँ पातलो दाल, सागसब्जी तथा सलाद आदि हुनु आवश्यक छ ।

अन्यथा हिजोसम्म खाना खाएको दुई घण्टापछि भोक लागेको महसुस गर्ने व्यक्तिलाई आजबाट एक घण्टामै भोक महसुस हुन थाल्छ । फलतः उसले हिजोको भन्दा धेरै परिणाममा झनै बढी खाना खान थाल्छ ।

परिणामस्वरूप मधुमेहको रोगीलाई त उसले कम खाना खाइरहेको भान हुन्छ ।  वास्तविकताचाहिँ उसले हिजो खानेभन्दा धेरै खानेकुरा खाइरहेको हुन्छ । यसकारण खानामा नियन्त्रणका बाबजुद पनि रगतमा चिनीको मात्रा कम हुँदैन, बरु झन् झन् बढ्छ ।

त्यसो भए मधुमेहका विरामीले के गर्ने त ?

पोषणविद् डा. भूपाल बानियाँका अनुसार मधुमेहका विरामीले आˆनो खानपानमा विशेष ध्यान दिएर पनि मधुमेहलाई नियन्त्रणमा राख्न सक्छन् । त्यसको लागि मधुमेहका विरामीले गुलियो, चिनी धेरै हालेको तथा ग्लूकोज युक्त खानेकुरा सिधै खानु हुँदैन । त्यस्तै, थोरै थारै खाने तर धेरै पटक खाने गर्नु पर्छ । मधुमेहका विरामीका लागि मेथी निकै लाभदायक हुने भएकोले उनीहरूले आˆनो आहारमा टुसा उमारेको मेथीलाई हल्का तारेर तथा उसिनेर पनि खान सक्छन् । तरकारीमा मेथी पड्काएर पनि त्यसको स्वाद लिनसक्छन् ।

त्यस्तै  खानामा फापरको रोटी, सिस्नु आदिलाई पनि समावेश गर्न सकिन्छ । फलफूलमा स्याउ उत्तम मानिन्छ । स्याउमा भरपूर मात्रामा फ्रुक्टोस हुन्छ । फ्रुक्टोसकै कारण स्याउ गुलियो हुने भएकोले यसलाई खाँदा मधुमहेका रोगीहरूलाई खासै फरक पर्दैन । यद्यपि अत्यधिक मात्रामा स्याउको सेवनले मधुमेहका बिरामीको आँखामा भने असर गर्न सक्छ । त्यसैले, यस कुरामा भने विशेष ध्यान दिनु आवश्यक छ ।

त्यसबाहेक, मधुमेह रोगीका लागि कालो चिया पनि सेवन गर्न सक्छन् ।  कालो चियामा फाइटोकेमिकल्स हुन्छ जसले मधुमेह कम गर्न सघाउ पुर्‍याउँछ ।

मधुमेहका विरामीले आलु खानु हुँदैन भन्ने पनि भ्रम रहेको छ । जब कि मधुमेहका बिरामीले आलु नै खान नहुने भन्ने हुँदैन । उचित मात्रामा तथा थोरै थोरै खाएमा आलुले पनि मधुमेहलाई खासै समस्या पार्दैन । हिजोसम्म एक पटकमा दुईटा आलु खाइन्थ्यो भने आज पनि आलु खान त सकिन्छ । यत्ति हो कि हिजोसम्म दुईवटा आलु एकै पटकमा खाइन्थ्यो भने आज पटकपटक गरी दुईवटा आलु सेवन गर्नु पर्छ ।

के नगर्ने ?

मधुमेहका रोगीले गुलियो खानेकुरा सकेसम्म खानुहुँदैन । गुलियोले रगतमा चिनीको मात्रा बढाउने हुँदा मधुमेहका विरामीले गुलियो पेय पदार्थ, सोडा, जुस आदि खानु हुँदैन । त्यस्तै भुटेको तारेको, चिल्लो आदि खानु हुँदैन । पिज्जा, वर्गर जस्ता फास्टफुड पनिसेवन गर्नु हुँदैन ।

च्याँख्ला पनि धेरै खानुहुँदैन । च्याँख्लामा पनि क्यालोरीको मात्रा धेरै हुने गर्छ । यही कुरा नबुझेर मधुमेहका विरामीले भात त कम खान्छन्, तर च्याँख्ला भने धेरै खान्छन् । जसका कारण मधुमेहमा कमी आउनुको सट्टा झन् बढ्ने गर्छ ।

च्याँख्लामात्र हैन, बाक्लो दाल पनि खानु हुँदैन । हामी सोच्छौँ, दाल भनेको प्रोटिन हो । त्यसैले जति धेरै दाल पिए पनि समस्या हुँदैन । जब कि बाक्लो दालमा पनि झण्डै ५० प्रतिशत कार्बोहाइड्रेट हुन्छ । यसको सेवनले पनि रगतमा चिनीको मात्रा बढ्ने गर्छ ।

शरीरलाई आवश्यक पर्ने क्यालोरीयुक्त खाना खाएर वा चिकित्सकको परामर्श अनुसार खाना खाएर मधुमेह रोगको रोकथाम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?