Comments Add Comment

विदाको समयमा यसरी रमाउनुहोस् बच्चासँग


तपाईको बच्चाको दैनिक तालिका हेर्नुहोस् त ।

बिहान ६-७ बजे उठ्छन् । उठ्नसाथ विद्यालयको लागि तयार हुनुपर्छ । हतार-हतार खाजा खायो, दिसा-पिसाब गर्‍यो, युनिर्फम लगायो, कापी-किताब मिलायो । र, बिद्यालयतर्फ दौडियो । बिहान ८-९ बजे विद्यालय गएका बालबच्चा साँझ ४-५ बजे घर आइपुग्छन् ।

घर आउनसाथ युनिर्फम बदल्ने, हातखुट्टा धुने, नास्ता खाने । त्यसपछि होमवर्क । एक छिन टिभी हेर्दा-हेर्दै सुत्ने बेला हुन्छ ।

अर्थात अहिलेका शैक्षिक-तालिका अनुसार बच्चाहरुलाई खेल्ने समय अत्यान्तै कम छ । तपाईलाई लाग्न सक्छ, विद्यालयमा पुगेपछि त्यही खेलिहाल्छ नि । हो, विद्यालयले पढाइका अतिरित्त खेलकुदमा पनि विद्यार्थीलाई सहभागी गराउँछन् । निश्चित समय विद्यार्थीलाई खेल्न, कुद्न छाडिन्छ ।

तर, विद्यालयको सीमा र समयभित्र खेलिने खेलले बालबच्चाको सर्वाङ्गीण बिकासमा सघाउ पुर्‍याउँछ भन्ने छैन । किनभने बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । उनीहरुले स्वतन्त्र ढंगले खेल्नु, कुद्न पाउनुपर्छ । यस्तो वातावरण उनीहरुले विद्यालयमा भन्दा बढी घरमा पाउन सक्छन् ।

बच्चालाई बच्चाजस्तै हुन दिनुपर्छ

अधिकांश अभिभावकले बच्चाको पढ्ने, खाने, उठ्ने तालिका निर्धारण गरिदिन्छन् । तर, बच्चाको समुचित मानसिक तथा शारीरिक विकासका लागि यति मात्र पर्याप्त छैन । उनीहरुलाई बालशुलभ ढंगले खेल्न, रमाउन दिनुपर्छ । अर्थात बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । वा, त्यस किसिमको वातावरण मिलाइदिनुपर्छ ।

बच्चाका लागि पढ्ने, खाने, सुत्ने तालिकासँगै खेल्ने तालिका पनि निर्धारण गरिदिनुपर्छ । हरेक दिन उनीहरुले खेल्नका लागि समय पाउनुपर्छ । संभव भएसम्म बाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ । घरभित्रै भएपनि शारीरिक खेलकुदमा जोड दिनुपर्छ ।

हुन त हरेकजसो खेलले मानसिक वा शारीरिक विकासमा सघाउ पुर्‍याएकै हुन्छ । साथसाथै मनोरञ्जन पनि दिलाएको हुन्छ । खासमा बच्चाहरुलाई उन्मुक्त रमाउन दिनुपर्छ । भनौं, मनोरञ्जन गर्ने वातावरण मिलाइदिनुपर्छ ।

बच्चाको साथी बनौं

अहिले धेरैले घरमा एक्लो बच्चा हुर्कारहेका छन् । कुनैबेला एक सन्तानलाई बरदान ठानिन्थ्यो । यो अभिभावकको कोणबाट हेरिने कुरा हो । एउटा मात्र बच्चालाई लालनपालन र हेरचाह गर्न सजिलो हुन्छ भन्ने धारणले एकल सन्तानमा प्रेरित गरियो । तर, अहिले एकल सन्तान समस्या बनेको छ ।
किनभने एक्लो बच्चा हुँदा अभिभावकलाई सहज त हुन्छ तर बच्चा वास्तवमै एक्लिन्छन् । उनीहरुसँग खेल्ने साथी हुँदैनन् । यस्तो अवस्था धेरैजसो घरभित्र देख्न सकिन्छ ।

अब के गर्ने त ?

यसको समाधान हो, आमाबुबा स्वंयम् बच्चाका लागि साथी बन्नुपर्छ । जब बच्चा खेल्न थाल्छन्, आफुपनि उनीहरुसँगै खेल्नुपर्छ । यस्तै प्रसंगमा अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री संचिता लुइटेलले भनेकी थिइन्, ‘म आफ्ना छोराछोरीसँगै कार्टुन हेर्छु । चकलेट खान्छु । खेल्छु ।’

आफ्ना बच्चालाई बर्थ डे मनाउन वा बर्थ डे केक काट्न रमाइलो लाग्ने भएकाले उनी आफन्तका बालबच्चाको जन्मदिनमा समेत छोराछोरीलाई लिएर ‘सेलिब्रेट’ गर्न पुग्छिन् । ‘म आफै केक बोकेर अरु बच्चाको बर्थ डे मनाइदिन पुग्छु’ उनले भनेकी थिइन् ।

अभिनेत्री लुईटेलले भनेजस्तै हामीले बच्चाको खुसी एवं रमाइलोका लागि बच्चा जस्तै हुन सिक्नुपर्छ ।

शनिवार विशेष बच्चाका लागि

खासगरी कामकाजी दम्पतीले शनिवार रमाइलो गर्ने योजना तय गर्छन् । उनीहरु साथीभाई निम्त्याएर वा साथीभाइकहाँ गएर मिठो मसिनो खान्छन्, तास खेल्छन् । यस्तो प्रवृत्ति धेरैतिर देखिन्छ ।

उनीहरुले यो सोच्दैनन् कि, आजको दिन आफ्ना बच्चालाई पनि समय दिनुपर्छ ।

बच्चालाई नुहाइधुवाइ गरिदिनेबाहेक अधिकांश अभिभावक उनीहरुसँग खेल्ने, रमाउने गर्दैनन् । तर, हप्तामा एक पटक बच्चाका लागि समय दिन सकिन्छ । कम्तिमा शनिवारको दिन बच्चासँग खेल्ने, रमाउने गर्न सकिन्छ । यसदिन बच्चालाई किताव र पढाइको तनावबाट मुक्त गराएर उन्मुक्त रमाउन दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment